देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्रका गीतमा जमेका दयाराम




काठमाडौं । स्याङ्जाको बिर्घामा जन्मेर कर्मथलो काठमाडौं बनाई दुई दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार दयाराम पाण्डेय चलचित्रका गीतमा जमेका गीतकार हुन् ।
२०५७ सालमा चलचित्र ‘मुस्कान’को ‘मीठा मीठा सपना’ बोलको गीतबाट चलचित्रको गीति लेखनमा प्रवेश गरेका पाण्डेयले त्यसयता लगातार हिट नम्बर दिइरहे ।


सुरुमै वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटासँग सांगीतिक सहकार्य गरेका पाण्डेयका ‘हमसे पुछोना बाबा’ ‘ओए ओए ओए ओए करेन्ट लाग्छ मलाई छोए,’ ‘कुन लोककी परी हौ तिमी,’ ‘एउटा फूल के मागुँ यो धर्तीसँग तिम्रा लागि,’ ‘हजुरबाले भनथे औँला भाची गने थे’ ‘ढल्क्यो ढल्क्यो,’ ‘काली तिम्रो नजरले गोली मा¥यो’, ‘झर्यो कृष्णभिर’, ‘सिन्का सिन्का जोडेर’ ‘मागेर पाउने भए म’ ‘यो जिउ दाउमा’ ‘सरर बेगमारी बेनीको बस’लगायत दर्जनौ गीत दर्शक श्रोताले अत्यधिक रुचाएका गीतमा पर्छन् ।


पाण्डेयले चलचित्र गीतिलेखनको यात्रामा ख्यातिप्राप्त संगीतकारहरू सुरेश अधिकारी, महेश खडका, चेतन सापकोटा, लक्ष्मण शेष, बसन्त सापकोटा, अर्जुन पोख्रेल ताराप्रकाश लिम्बू, आलोकश्री, टंक बुढाथाकी, सौर्यजित बाँस्कोटासहित पहिलो र दोस्रो पुस्ताका संगीतकारसँग सहकार्य गरेका छन । त्यस्तै उनका शब्दमा स्वर दिने पनि पहिलो र दोस्रो पुस्ताका ख्यातिप्राप्त नेपाली र भारतीय गायकगायिका रहेका छन् । पाण्डेको शब्दलाई उदितनारायण झा, दीपा झा, साधना सरगम, पूर्णिमा, सञ्जीवनी, सपनाश्री, देविका बन्दना, अञ्जु पन्त, कोमल वली, माण्डवी त्रिपाठी, प्रविशा अधिकारी, इन्डियन आइडल प्रशान्त तामाङ, आनन्द कार्की, यम बराल, रामकृष्ण ढकाल, राजेशपायल राई, प्रमोद खरेल , शिव परियार ,दीपक लिम्बू, थुप्देन भुटिया, सत्यस्वरूप आचार्यदेखि निशान भट्टराई आदित्यनारायण झालगायतका थुप्रै नयाँ पुराना गायकगायिकाले गाएका छन् ।


गीतकार पाण्डेयका गीतमा महानायक राजेश हमालदेखि पछिल्लो पुस्ताका नेपालका ख्यातिप्राप्त नायक प्रदीप खड्कासम्मका कलाकारहरू नाचेका छन् अभिनय गरेका छन् । उनका गीतमा नायकहरू सुपरस्टार भुवन केसी, एक्सन किङ्ग शिव श्रेष्ठ श्रीकृष्ण श्रेष्ठ, रमेश उप्रेती, सुशील क्षेत्री, दिलीप रायमाझी, निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल, जीवन लुईटेल, दयाहाङ राई तथा करिश्मा मानन्धर, मौसमी मल्ल, जल शाह, विपना थापा, निरुता सिंह, रेखा थापा, श्वेता खड्का, निशा अधिकारी, अरुणिमा लम्साल, सञ्चिता लुइँटेल प्रियंका कार्कीलगायतका थुप्रै प्रसिद्ध नायिकाहरूले अभिनय गरेका छन् ।


चलचित्रमा छाएका गीतकार पाण्डेयले गीतिलेखनको यात्रामा नेपाली चलचित्र क्षेत्रमा लगातार सुपरहिट चलचित्र दिने निर्देशकहरूसँग सहकार्यको मौका पाएको देशान्तरलाई बताएका छन् । उनले सहकार्य गरेका सबै निर्देशकलाई उत्तिकै सम्मान गर्ने बताएका पाण्डेयले निर्देशक शिव रेग्मीलाई धेरै मिस गर्ने बताए । रेग्मीसहित उनले नेपाली सिने उद्योगका सफल निर्देशकहरू किशोर राना, दयाराम दाहाल, दीपक श्रेष्ठ, मदन घिमिरे, नरेश पौड्याल, दीपक रायमाझीदेखि पछिल्लो पुस्ताका दिनेश राउत, सुदर्शन थापा, निरक पौडेलसँग सहकार्य गरेका छन् ।


गीतकार पाण्डेयको गीति यात्रामा बाबु पुस्ता र छोरो पुस्ता जोडिएको गज्जवको संयोग सँगालेका छन् । संगीतमा शम्भुजित बाँस्कोटा र सौर्यजित बाँस्कोटासँग जोडिएका पाण्डेय, निर्मातामा उद्धव पौडेलसँग पनि सहकार्य गर्ने अवसर पाए भने उनका छोरा निरक पौडेलसँग पनि काम गरे । स्वरमा उदित दीपासँग काम गरेका पाण्डेयले छोरा आदित्यसँग पनि जोडिए । भुवन केसीसँग काम गरेका पाण्डेय अहिले अनमोल केसीसँग जोडिँदै छन् । शोभित बस्नेतसँग काम गरेका उनले सलोन बस्नेतसँग पनि सहकार्य गरेका छन् । काम गर्दै जाँदा यस प्रकारको संयोग जुरेको बताउने गीतकार दयाराम पाण्डेयसँग पहिला चलचित्रका लागि गीत लेखनमा आत्मीयता बढी हुने गरेको र एउटै परिवार जस्तो भएर काम गरेको अनुभव छ । अचेल अलि व्यावसायिकता धेरै भएका कारण कताकता त्यो पारिवारिकपन आत्मीयतामा कमी आएको ठान्छन् उनी ।

अग्रज र समकालीनहरूका गीत सुन्ने गरेको बताउने पाण्डेयले समकालीन र नयाँ पुस्ताका राम्रा गीत आउँदा खुसी लाग्ने बताउँछन् । संगीत रोयल्टी संकलन समाजका उपाध्यक्षसमेत भइसकेका पाण्डेयले स्रष्टा अधिकार र रोयल्टीका लागि तत्कालीन कार्यसमितिमा रहेका पदाधिकारीले गरेको सहकार्य स्मरणीय रहेको बताउँछन् । तत्कालीन अध्यक्ष संगीतकार सुरेश अधिकारी, महासचिव संगीतकार महेश खड्का, कोषाध्यक्ष गीतकार लोकराज अधिकारीलगायत कार्यसमितिमा रहेका सबैले प्रतिलिपि अधिकार र रोयल्टी व्यवस्थापनमा गरेका कार्य र योजनाहरूले साकार रूप लिन थालेको महसुस आफूले गरेको बताएका छन् । यद्यपि स्रष्टाको सिर्जनाको सार्वजनिक प्रयोगबापत स्रष्टाले पाउने रोयल्टीको पूर्ण व्यवस्थापनमा राज्य अझै उदासीन रहेको उनको भनाइ छ । हाल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास नेपालका अध्यक्ष रहेका पाण्डेयले रोयल्टीमा राज्यको प्रत्यक्ष हस्तक्षेपकारी भूमिका भएमा राज्यको जीडीपीमा बौद्धिक सम्पत्तिको योगदान उल्लेख्य हुने र स्रष्टा पलायन पनि रोकिने जिकिर गरे ।
टेलि सिरियल तितो सत्य, दृष्टि , कुलखानदानलगायतको शिर्ष गीत लेखेका र नेपाली चलचित्रमा धेरै गीतलेख्ने गीतकारको रुपमा परिचित दयारामले सर्वोत्कृष्ट चलचित्र गीतकारका रूपमा नेप्टा अवार्डमा लगातार तीन वर्ष अवार्ड चुमेका छन् । त्यस्तै इनास अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, राप्ती म्युजिक अवार्ड, जिनियस म्युजिक अवार्ड, कालिका एफएम म्युजिक अवार्ड, बक्स अफिस फिल्म अवार्डलगायतका अवार्डबाट अवार्डेड भइसकेका छन् । उनले राष्ट्रपतिको हातबाट नातिकाजी संगीत पुरस्कारसमेत थापिसकेका छन् ।