देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हावाबाट विद्युत निकाल्न इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट’

देशान्तर

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्ने परियोजना अघि बढाइएको छ । जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) को सहयोगमा नेकले ‘हावा प्रोजेक्ट २.०’ सञ्चालन गरेको हो । सो प्रोजेक्टका लागि जेइएसएले आवश्यक उपकरणहरू समेत उपलब्ध गराएको छ ।

कलेजमा एक कार्यक्रम नै गरी जापान इनर्जी सेफ्टी एशोसिएसनका सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

‘हावा प्रोजेक्ट २.०’ अन्तर्गत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरु सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ ।

‘यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्क’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्न सकिन्छ, संभाब्यता अध्ययन र अनुसन्धान गर्नेछ,’ नरेश महर्जनले बताए ।

प्रोजेक्टमा नेकमा अध्ययनरत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका विद्यार्थीहरूलाई सहभागिता गराउँदै उनीहरूलाई नवीनतम सोच र अनुसन्धानमा लाग्न प्रेरित गरिने छ । कलेजले ‘हावा प्रोजेक्ट २.० कार्यान्वयनका लागि प्राध्यापक दिनेशप्रसाद गुरागाइँको अध्यक्षतामा सिभिल, कम्प्युटर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका एक एक जना प्राध्यापकहरू समेत रहने गरी हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरेको छ ।

सोमबार कलेजमा विद्यार्थीहरूसँगको प्रस्तुतीकरणमा बोल्दै जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे ।

२०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् । ‘अहिले विश्वभर आणविक उर्जाको विकल्पमा वैकल्पिक उर्जा खोज, उपयोगमा जोड दिइँदै आइएको छ । नेपालमा पनि जलश्रोत पछिको वैकल्पिक उर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ,’ उनले भने । उनका अनुसार, नेपालमा जनवरीदेखि मे सम्म हावाबाट विद्युत निकाल्न सकिन्छ । त्यससँगै सौर्य ऊर्जा समेत उत्पादन गर्न सकिने उनको दावी छ ।

नेकका भिजिटिङ प्रोफेसर समेत रहेका ७२ वर्षीय किरिहराले जापान लगायत विकसित देशहरूले न्यूक्लियर उर्जा विस्थापित गर्ने कार्य थालनी गरेकाले नेपालले पनि जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर हुँदा दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेकका सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका पाध्यापक डाक्टर गणेश साह, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ विभागका सहप्राध्यापक गणेश प्रसाद अधिकारीले ‘हावा प्रोजेक्ट २.०’ ले नेपालमा हावाबाट विद्युत उत्पादन गर्ने सवालमा सम्भाव्यता अध्ययनसँगै विद्यार्थीहरूलाई नवीनतम कार्य गर्न र ज्ञान हासिल गर्न प्रेरित गर्ने बताए ।

कलेजका अनुसार सोही प्रोजेक्टबाट अब चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न घरहरूमा हावाको गति मापन गरिने उपकरण जडान गरिनेछ । त्यसको डेटा संकलन भने नेकलाई हस्तान्तरण गरिएको डिभाइसमा संकलन गरी अध्ययन गरिनेछ । सो प्रोजेक्ट २०२४ देखि २०२६ सम्म सञ्चालन हुनेछ ।