देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ सम्पन्न

देशान्तर

काठमाडौँ । प्रसिद्ध लोकगायिका तीर्थकुमारी थापाको एकल साँझ सम्पन्न भएको छ । एक हजारभन्दा बढी गीतमा स्वर दिएकी थापा शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एकल साँझमा प्रस्तुत भएकी हुन् । उनले कार्यक्रम अबधिभर आफ्ना लोकप्रिय १९ गीत प्रस्तुत गरेकी थिइन् ।

एकल र युगल गायनमा प्रस्तुत भएकी गायिका थापाले ‘डाँडामा माथि बिहानै…’ गीतबाट सुरुवात गरेर ‘म त खाँदिन कुवाको पानी ’, ‘ढुङ्गे बगर माया…’,‘झम्के फूली नाकैमा बुलाकी…’,‘उकालीमा पनि हजुर…’,‘बारीको डिलमा ओखरबोट…’,‘माछी मार न हे दाइ हो…’ लगायत गीत नेपाली र नेपाल भाषामा गाएकी थिइन् । विसं २०२८ मा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गरेकी ७३ वर्षीया गायिका थापालाई युगल र समूह गायनमा छोरा सुरज थापा सहित विपिन घिमिरे , निशा देशार , शिला बिष्ट अलि , राधिका भण्डारी देबेन्द्र मान सिंह, लगायतले साथ दिएका थिए । संगीत कन्डक्टरका रुपमा राजकुमार श्रेष्ठ रहेका थिए ।

गायिका थापाका छोरा गायक तथा सङ्गीतकार सुरजले आमाको इच्छालाई पूरा गर्न पाउँदा आफ्नो जीवन सफल भएको आभास गरेको प्रतिकृया दिएका छन् । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा सम्पन्न कार्यक्रममा गायिका थापाले ‘माछी मार न हे दाइ हो…’ बोलको गीतमा वान्स मोर पाएकी थिइन् ।