देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हराउँदै गयो परम्परा र संस्कृति, चाडबाडको नाममा फैलियो विकृति !



उज्यालोको पर्व तिहार दैलोमा छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो महान् चाड तिहारले सुःख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ । तिहार हर्षोल्लासका साथ मनाइन्छ । तर, पछिल्लो समय चाडबाडको नाममा विकृति फैलिएको छ । तिहार आउनेबित्तिकै अधिकांशको दिमागमा जुवातास खेल्ने सोच आइहाल्छ । तिहारमा सबैभन्दा बढी जुवातास खेलिन्छ । त्यस्तै, देउसीभैलोजस्तो परम्परामा समेत बेथिति छिरेको छ ।
पहिले जसरी देउसीभैलो खेल्ने चलन हराएको छ । रातभरि स्पिकर बजाएर डिस्टर्ब गरिन्छ । देउसीभैलो भन्दै छाडा गीतहरू गाउने प्रवृत्ति मौलाएको छ । विभिन्न संघसंस्था वा व्यक्तिले देउसीभैलो खेलेर ठग्ने कार्य गर्दछन् । देउसीभैलो खेलेको पैसा सार्वजनिक काममा लगाउने बहाना बनाएर ठगिन्छ । पछिल्लो समय रकम तोकेरै देउसीभैलो खेलिन्छ । संस्कृति जोगाउनका लागि होइन्, पैसा कमाउनका लागि देउसीभैलो खेल्ने गरिएको छ ।
देउसीभैलो खेल्ने क्रममा मादक पदार्थ सेवन गर्ने, हो–हल्ला गर्ने कार्यले प्राथमिकता पाएको छ । नामचाहिँ देउसीभैलो, गीतचाहिँ हिन्दी र उच्छृङ्खल खालका बजाइन्छ । जसले गर्दा समाजले एक किसिमको नकारात्मकता फैलिएको छ । परम्परालाई संरक्षण गर्ने खालका गीत निकाल्न छाडिएको छ । जथाभावी गीत निकाल्ने, त्यसमा नाचगान गर्ने, समाजमा बसेकालाई डिस्टर्ब गर्ने कार्य भइरहेको छ ।
गाडी रिजर्भ गरेर देउसीभैलो खेल्न जाने चलन मौलाएको छ । देउसीभैलो खेल्न आउनुअगावै पैसा तोकेर चिठी पठाइन्छ । देउसीभैलो खेल्न आउनेलाई आफ्नो खुसीले पैसा दिने हो । तर, पछिल्लो समय मुख फोरेरै पैसा माग्न थालिएको छ । पहिले–पहिले यसलाई कात्तिकको दान भनिन्थ्यो । जति सकिन्छ, त्यति दिने प्रचलन थियो । अहिले यसमा पनि विकृति मौलायो ।
गरिबको घरमा कोही देउसीभैलो खेल्न आउँदैनन्, धनी–धनी छानेर खेल्न गइन्छ । तिहार उज्यालोको पर्व हो । तर, लापरबाहीको कारणले गर्दा पर्वमै ठूलो जनधनको क्षति व्यहोर्नुपरेको घटना धेरै छन् । तिहारमा अधिकांशको घरमा झिलिमिली बत्ती बालिन्छ । बत्ती जडान गर्दा छतबाट खसेको घटना छन् । यता, लक्ष्मी पूजाको रातभर बत्ती बाल्नुपर्छ भन्ने मान्यता छ ।
त्यसले नै कतिपयको ज्यान लिएको छ । बालेको दियो सल्किएर जनधनको क्षति भएको घटना यसअघि पनि घटेको थियो । करेन्ट सर्ट भएर आगो बलेका घटना पनि छन् । चाडबाड मनाउने नाममा ठूलो क्षति व्यहोर्नु पर्ने हुनसक्छ । यता, तिहार मान्नका लागि काठमाडौं उपत्यकामा बसोबास गर्दै आएकाहरू आफ्नो गाउँघर फर्किन्छन् । घर जाने यात्रुको चाप बढी भएपछि यातायात व्यवसायीले पनि मौकाको फाइदा उठाउँछन् ।
तोकिएको भन्दा बढी–बढी भाडा यात्रुसँग असुलिन्छ । यता, तिहारकै बेलामा अत्यधिक चोरीका घटना घट्ने गरेका छन् । सार्वजनिक यातायातदेखि लिएर घरको ताला फुटाएरसमेत चोरी हुन्छ । उपत्यका खाली हुनेबित्तिकै चोरहरूको बिगबिगी हुने गरेको छ । त्यस्तै, चाडबाडको मौका छोपेर व्यापारीहरूले कालोबजारी गर्छन् । ‘स्टक’ मा भएका सामानहरू लुकाएर बजारमा अभाव सिर्जना गरिन्छ ।
तोकिएको मूल्यबाट दोब्बरमा सामान बेच्दा पनि सरकार टुलुटुलु रमिता हेरेर बस्छ । पहिलो कुरा त महँगीले नै सर्वसाधारणको ढाड सेकिएको छ । अर्कोतिर, सरकारको गैरजिम्मेवारीपन । बजार अनुगमनमा सरोकारवाला निकायले अलिकति पनि चासो देखाएको छैन् । जसले गर्दा सर्वसाधारण थप मर्कामा परेका छन् । व्यापारीहरूले आफ्नो मनोमानी चलाएका छन्, सरकार निरीह छ ।
मुलुकको सरकार नाम मात्रमा सीमित भएको छ । गृह मन्त्रालयले समाजमा हुन सक्ने घटनालाई रोक्न वा न्यूनीकरण गर्नका लागि अहिलेसम्म कुनै कदम चालेको छैन । मन्त्रालयले सुरक्षामा कडाइ गर्न र समाजमा शान्ति कायम राख्नका लागि आवश्यक तयारी गरिराख्न जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको छैन् । यता, उद्योग मन्त्रालयले बजार अनुगमनमा कडाइ गरेको छ ।
उपभोक्ता व्यापारीबाट ठगिएको ठगियै छन्, सरकार हात बाँधेर बसेको छ । तिहारमा सबैभन्दा बढी मिठाई, भाइमसला, माला, फलफूललगायतका सामान चाहिन्छ । तर, ती सामानको भाउले आकाश छोएको छ । सामानको भाउ सुनेर उपभोक्ताको सातो जान्छ । व्यापारीहरूले हरेक सामानको मूल्य ह्वात्तै बढाएका छन् । महँगीको कारणले गर्दा नेपाली चाडबाड मनाउनै नसक्ने अवस्थामा पुगेका छन् ।
चाडबाड नेपालीको शान हो । तर, अहिले अवस्था फेरिएको छ । चाडबाड महँगिँदै गएको छ । चाडबाड सबैको साझा हो । यद्यपि, पछिल्लो समय चाडबाड धनीका लागि मात्रै भएको छ । तिहारमा आवश्यक पर्ने भनेको दुईटा सामान मात्र हो । एउटा टीका अर्को माला । तर, केही समययता फजुल खर्च गर्ने क्रम बढेको छ । जसको मर्कामा आर्थिक अवस्था कमजोर भएकाहरू परेका छन् ।
नेपाली समाजमा देखासिकी गर्ने चलन छ । एउटाले जे ग¥यो, अर्कोलाई पनि त्यही गर्नुपर्छ । जसले गर्दा संस्कृति संकटमा परेको छ । पहिलेपहिले दक्षिणाको आश हुँदैनथ्यो । अहिले त दिदीबहिनीले दाजुभाइले पैसा दिन सक्छन् कि सक्दैनन् ? हेर्छन् । आफ्नो सामानको पैसा उठाएर नाफा हुने भए मात्र टीका लगाउन जान्छन् । नत्र बहाना बनाउँछन् । यो प्रवृत्तिले गर्दा कमाइ नहुने दाजुभाइको निधार खाली रहने भयो ।
अहिलेको हेरी पहिलेकै चलन ठीक थियो । दिदीबहिनीलाई पनि टीका मात्र किने पुग्थ्यो । सय थरीका सामान किनिरहनु त पर्दैनथ्यो । तिहारको नाममा दिदीबहिनी र दाजुभाइबीच व्यापार चलेको छ । दिदीबहिनी सामान दिने र दाजुभाइले पैसा दिने । एउटाले सामान बेचको र अर्कोले किनेकोझैं भएको छ । यसले गर्दा गरिबहरू मर्कामा परेका छन् । आर्थिक अवस्था कमजोर भएकाले त टीका लगाउनै नसक्ने अवस्था भएको छ ।
अरू दिदीबहिनीले सामान लैजाँदा आफू रित्तो हात जाने कुरा रहँदैन । त्यसैले उनीहरू बरु विभिन्न बहाना बनाउँछन्, टीका लगाउनै जाँदैनन् । कतिपयले त ऋणधन गरेर पनि सामानको जोहो गरिरहेका हुन्छन् । संस्कृतिलाई होइन्, देखासिकीलाई प्राथमिकता दिइएको छ । यता, चाडबाड संरक्षण गर्नुपर्छ भनेर सिकाउने कोही भएनन् । संस्कृति जगेर्ना गर्न कलाकारहरूको पनि कुनै भूमिका रहेन् ।
कलाकारलाई मुलुकको गहना भनिन्छ । तर, उनीहरूकै कारणले समाजमा विकृति फैलिएको छ । देखासिकी गर्न सिकाउने कलाकार नै हुन् । संस्कृति भाँड्ने गीत गाउने र नाच्ने पनि तिनै कलाकार हुन् । संस्कृति जोगाउन कलाकारहरूले केही पनि गरेनन् । चाडबाडमा कहिले पनि नाफा र घाटा हेर्नु हुँदैन । पैसा कमाउनका लागि चाडबाड मनाउने होइन भन्ने कुरा नेपालीले बुझ्नुपर्छ । आफ्नो आयस्रोतअनुसार चाडबाड मनाउने हो । अरूले घोडा चढ्यो भन्दैमा धुरी चढ्न खोज्नु राम्रो होइन् । वडा, गाउँपालिका, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन सरकार हो । हरेक जिल्लामा पालिका र प्रहरी छन् । तर, सरकार भएको अनुभूति किन सर्वसाधारणले गर्न सकिरहेका छैनन् ? सबै निकायले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुप¥यो ।
जहिले माथिल्लो तहको मुख ताकेर त भएनन् नि । नागरिकको ज्यान र धनको सुरक्षा गर्नु सरकारको दायित्व हो । तर, सरकारले त्यो गर्न सकिरहेको छैन । नागरिक पाइलैपिच्छे ठगिएका छन्, लुटिएका छन् । अनि कहाँ छ सरकार ? यसका लागि सर्वसाधारण र सरकारबीच हातेमालो हुन जरुरी छ । सर्वसाधारणले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । गाउँघर जानुअघि स्थानीय निकायलाई खबर गर्ने, कालोबजारी गरेमा वा तोकिएकोभन्दा बढी मूल्य लिएमा उजुरी गरेमा अप्रिय घटना हुनुबाट जोगिन सकिन्छ ।
तिहारभरि मदिरा बेच्न र राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाउनुपर्छ । देउसीभैलो खेल्ने नाममा कसैलाई पैसा दिन बाध्य बनाउन पाइँदैन । पैसा नदिएमा जथाभावी गालीगलौज गर्नेलाई कारबाही गर्नुपर्छ । गच्छअनुसार पैसा दिने हो, देउसीभैलो खेल्ने नाममा लुट्नेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्छ ।