देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र पत्रकारितामा छाएका गिरी

देशान्तर


काठमाडौं । चलचित्र पत्रकारितामा कुबेर गिरी चिनाउनुपर्ने नाम भने होइन । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील गिरी चलचित्र (रंग पत्रकारिता)मा सफल व्यक्तित्वको रूपमा चिनिन्छन् । गिरी व्यावसायिक रंग पत्रकारितामा अब्बल साबित हुँदै आएका छन् ।
रंग पत्रकारितामार्फत नाम, दाम र चर्चा सबै कमाउन सफल छन् उनी । उनको यो चर्चा र सफलता यो क्षेत्रप्रतिको उनको जोश र लगनशीलताको प्रमाण पनि हो । यो क्षेत्रप्रतिको गिरीको अथक समर्पणले उनलाई अहिले स्थापित अनलाइन रातोपाटी डटकमको सिनियर रिपोर्टर तथा मनोरञ्जन समाचार प्रमुखको रूपमा जिम्मेवारी दिएको छ ।
थुप्रै साप्ताहिक हुँदै नेपाल समाचारपत्र, हिमालय टाइम्स र सौर्यजस्ता स्थापित दैनिक पत्रिकाको अनुभवसहित गिरी रातोपाटीमा पुगेका हुन् । रातोपाटीमा गिरी चलचित्र मनोरञ्जन समाचारका अलवा सेलिब्रेटीका फिचर, अन्तर्वार्तालगायतका विषयमा लेख्छन् । उनी रातोपाटीकै युट्युव टीभी रातोपाटी टीभीमा सेलिब्रेटीसँग अन्तर्वार्ता लिने भिजेको रूपमा समेत सक्रिय छन् ।
जीवनका २०औं वसन्त मनोरञ्जन पत्रकारितामा बिताएका गिरीको यो क्षेत्रमा अझै केही गर्ने सोच छ । मनोरञ्जन क्षेत्रमा उनको जोश र गुणस्तीय सामग्री उत्पादनमा उनको समर्पण उनले लेख्ने समाचार, फिचर र अन्तर्वार्ताले समेत प्रस्ट झल्काउँछ ।
पछिल्लो समय धेरै रंग पत्रकारको प्रेरणाको स्रोतसमेत बन्न सफल गिरी पत्रकारिताका आफ्ना लागि सबैथोक भएको बताउँछन् । ‘रंग पत्रकारितामा मेरो जीवनको अभिन्न अंग भइसकेको छ । अब म योबाट टाढा रहन सक्दिनँ’ गिरीले भने ।
चलचित्रलगायत विभिन्न क्षेत्रको पुरस्कार र सम्मानको समेत हकदार बनेका गिरी पुरस्कार र सम्मानले अझ अगाडि बढ्न प्रेरणा मिल्ने बताउँछन् । मनोरञ्जन पत्रकारितामा थुप्रै पत्रकार छन् । गिरीको सोच र काम गर्ने शैली सबैभन्दा अलग छ । त्यसैले पनि उनी सबैको नजरमा पर्न सफल छन् । उनले लेख्ने समाचार सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय हुने गर्छ ।
काठमाडौंको रामकोट गाविस (हालको नागार्जुन नगरपालिका ७) मा जन्मिएका गिरीसँग रेडियो र टेलिभिजनमा रंगपत्रकारिता गरेको अनुभव पनि छ ।
जनसत्ता साप्तहिकबाट पत्रकारिता सुरु गरेका गिरी अहिले डिजिटल पत्रकारिता अर्थात् अनलाइन पत्रकारितामा सक्रिय छन् । माध्यम जुन भए पनि एउटा असल पत्रकारलाई केही फरक नपर्ने उनको बुझाइ छ ।
गिरीले पत्रकारिता सुरु गर्दा नेपालमा रंग पत्रकारिताको अवस्था राम्रो थिएन । यो पत्रकारिता गर्ने मानिस थोरै थिए । राम्रा मिडियाले यो पत्रकारितालाई कतै कतै स्थान दिए पनि अनिबार्य गरेका थिएनन् । रंग पत्रकारिता गर्नेलाई कतिपय पत्रकार मान्न तयार थिएनन् । नेपाली कलासंस्कृतिलाई उजागर गर्ने चलचित्रलाई पत्रकारितामा स्थापित गर्न र चलचित्र पत्रकारिता पनि अन्य पत्रकारिता जस्तै स्थापित गर्न सकिन्छ भनेर देखाउन उनले यो पत्रकारिता सुरु गरेका थिए । जसमा उनी सफल पनि भएका छन् । किनभने अहिले सबै मिडियामा रंग पत्रकार र यो विधाले स्थान पाएको छ ।
अहिले त चलचित्र पत्रकार पनि बढेका छन् । यो पत्रकारिताको क्षेत्र एकदमै राम्रो भएको छ । पत्रकारिता राम्रो भएसँगै चुनौती पनि बढेको उनले महसुस गरेका छन् । पछिल्लो समय मिडिया र पत्रकारले समाचार प्रस्तुत गर्न देखाउने हतारोले विश्वसनीयता गुमाउँदै गएको हो कि भन्ने भानसमेत उनलाई हुन थालेको छ ।
गिरी देशभरको रङ्ग पत्रकारहरूको साँझा संस्था चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय उपाध्यक्ष (कार्यक्रम) पनि हुन् । संघको कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारीमा पुगेका हुन् । रङ्ग पत्रकारिता व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन त्यसका क्रियाशील व्यक्तिलाई समयसमयमा तालिम, प्रशिक्षण गोष्ठी र मेरिटेसन दिन उनी संघमार्फत क्रियाशील छन् ।
‘मेरो कार्यकालमा सबै पत्रकार सक्षम र व्यवसायी हुनपर्छ । त्यसका लागि म लागिपरेको छु’ उनले थपे ।
गिरी पत्रकारिताको अलवा सामाजिक काममा पनि क्रियाशील रहँदै आएका छन् । पत्रकारिता पेसा, सामाजिक कार्य मनको शान्ति उनी बताउँछन् । सामाजिक कामले मनमा शान्ति, जीवनमा नयाँ ऊर्जा र सकारात्मक सोच पैदा हुने उनको विचार छ ।
पत्रकार भनेका समाजका सेलिब्रेटी पनि हुन् । त्यसैले आफूले राम्रो काम गरेर अरूलाई पनि ऊर्जा दिनुपर्ने उनी विचार राख्छन् ।
चर्चितदेखि पर्दापछाडि रहेका कलाकारसम्मको विषयमा आफ्नो समाचार बनाउँदै आएका गिरी सेलिब्रेटीका मनपर्ने पत्रकार पनि हुन् ।