देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू : सद्भाव कायम गर्न राप्रपाका सांसद राणाको अपिल

देशान्तर

काठमाडौँ । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेले आज  दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो ।

नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्‍याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरिएको कार्यालयले जानकारी दिएको छ ।

गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्‍याली आयोजना गरेको थियो । यता मंगलबारको दिन ओमकार परिवार हिन्दु समाजले निकालेको न्यालीको क्रममा विवाद उत्पन्न भई नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भएको थियो ।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् । साइबर क्राइमलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन उनको माग गरे ।