देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पारदर्शिता र सुशासन एक अर्काका पूरक : राष्ट्रपति पौडेल

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लेखा व्यवसायीहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरुमा पारदर्शिता कायम गर्न योगदान पुगेको बताए । उनले कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाव प्रणालीको पारदर्शीता नै रहेको बताए ।

उनले भने,‘आफ्नो अर्थनीतिमा आफ्नो लक्ष्यअनुरुप अघि बढ्न सम्मेलनले नेपालको अर्थनीतिमा लेखा व्यवसायीहरुको बेग्लै स्थान कायम गर्ने विश्वास मैले लिएको छु । तपाईंहरुकै सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरुमा पारदर्शिता कायम गर्न योगदान पुगेको हो । सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टड एकाउण्टेनको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भुमिका महत्वपूर्ण हुन्छ । वास्तवमा पारदर्शिता र सुशासन एक अर्काका पूरक पनि हुन् । कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाव प्रणालीको पारदर्शीता हो । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ । विकास निर्माणको ठूला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुन्छ । कुनैपनि क्षेत्रमा हुनसक्ने सानादेखि ठूला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत गर्छ । यदी सहीलाई सही र गलतलाई गलत भनि स्पष्ट हिसाव हुन नसक्ने हो भने सानादेखि ठूला आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्ने विषय सहज हुने थिएन । मुलुकभर सक्रिय लेखा परीक्षणकै कारण भएका स्पष्ट हिसावलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा पनि लिन सकेका छाँै । हरबखत चनाखो रहेर हिसाव मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म हो । आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय हो । तसर्थ न्यायोचित ढंगबाट कर्म सम्पादन गरिरहनुभएका लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’

उनले हरबखत चनाखो रहेर हिसाव मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढंगबाट कर्म सम्पादन गरिरहनुभएका लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको बताए ।