देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिले नै महाधिवेशनको तयारी थाल्नु दुर्भाग्य : अर्जुनप्रसाद जोशी, केन्द्रीय सदस्य नेपाली कांग्रेस

देशान्तर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले अहिले नै १५औं महाधिवेशनको कुरा गर्नु हतार हुने टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको असोज ४–८ मा बसेको केन्द्रीय समितिको बैठ पछि देशान्तरस“ग कुरा गर्दै जोशीले नेपाली कांग्रेसका केही नेताहरूले महाधिवेशनको तयारी थालेको प्रति असन्तुष्टि जनाउ“दै जनता अहिले अप्ठेरोमा परेको बेला कसैलाई सभापति र पदाधिकारी बनाउनका लागि समय खर्चिनु मुलुक र जनताका लागि दुर्भाग्य हुने बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले उनै जोशीस“ग गरेको कुराकानीको सम्पादित अंश ।

तपाईं केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो र पछिल्लो केन्द्रीय समितिको बैठक कस्तो रह्यो ?
म केन्द्रीय समितिमा आएको चौथो पटक हो । यसभन्दा अगाडि तीन पटक म केन्द्रीय सदस्य भइसकेको थिएँ । यसपटक सभापति शेरबहादुर देउवाले मनोनीत गरेपछि म केन्द्रीय सदस्य बनेको छु । त्यसले गर्दा मेरो लागि केन्द्रीय सदस्य पद नौलो होइन । अब कुरा गर्छु केन्द्रीय समिति बैठकको । साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समितिको बैठकभन्दा असोज ४ गतेदेखि ८ गतेसम्म चलेको बैठक विशेष उपलव्धिमूलक देखियो । नेपाली कांग्रेसको इतिहासमा हामीले बैठक नै प्रत्यक्ष प्रसारण ग¥र्यौं । साउनको र यस पटक असोज दुवै बैठक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण भए । नेपाली कांग्रेस जनताप्रति जवाफदेही छ र कांग्रेसका हुने हरेक गतिविधि छलफल पारदर्शी र जनताले थाहा पाउने किसिमको हुनुपर्छ भन्ने हिसाबले नै बैठक प्रत्यक्ष प्रसारण गरेका थियौं र यस पटक पनि निरन्तरता दियौं । यसरी प्रत्यक्ष प्रसारण हुँदा देशभरबाट केन्द्रीय सदस्यहरूले के के बोले मात्रै होइन कि कसरी कुन कुरालाई अझ राम्रोसँग राख्नुपथ्र्यो भनेर सुझाव पनि आयो । जनताका राय सुझावहरूलाई नै समेटर अधिकांश केन्द्रीय सदस्यहरूले जनताका मुद्दाहरू, संविधान कार्यान्वयन, महँगी नियन्त्रणलगायतका कुराहरू राख्नुभयो । र सोहीअनुसार निर्णयहरू पनि आएका छन् ।

तपाईं चौथो पटक केन्द्रीय सदस्य बन्नुभयो, यस पटक मनोनीतमै पर्नुभयो, कांग्रेसले कहिले नयाँलाई स्थान दिन्छ ?
केन्द्रीय कार्यसमितिमा नयाँनयाँ साथीहरू पनि त आइरहनु भएको छ नि । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा ७० प्रतिशत त युवाहरू नै हुनुहुन्छ । पदाधिकारीमा सभापति र एक जना उपसभापतिबाहेक करिबकरिब आफूलाई युवा हुँ भन्नेहरू र हामीले युवा भनेकाहरू नै पदाधिकारीमा आउनु भएको छ । अब त पुराना नेताहरू २० प्रतिशत पनि छैनन् होला । मभन्दा सिनियर नेताहरू केन्द्रीय कार्यसमितिमा धेरै कम भइसक्नु भयो । म जत्तिको साथीहरू अब २० प्रतिशत पनि हुनुहुन्न । त्यसैले नयाँ आउने क्रम अधिवेशन र मनोनयन दुवैबाट आइरहनु भएको छ । अहिले हाम्रो केन्द्रीय समितिमा नयाँ अनुहार र युवाहरूकै बाहुल्य रहेको छ ।

यो मनोनयनलाई गुटगत भन्ने कि नभन्ने ?
यसलाई कसले कसरी बुझ्ने हो भन्ने अर्थ लाग्छ । कि त विधानमै अबदेखि सभापतिले यो यो मान्छेसँगमात्रै सहमति गरेर र आफूसँग असहमत रहेका यी यी मान्छेसँग सहमति गरेर मनोनीत गर्ने भन्ने राख्नुपर्छ । तर, हामीले विधानमा सभापतिले मनोनीत गर्ने भन्ने कुरा लेखेका छौं । २० प्रतिशत सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्थाअनुसार सभापतिले आफूलाई सजिलो हुने गरी मनोनीत गर्नु भएको हो । सभापतिसँग प्रतिस्पर्धा गरेका पनि आउनु भएको छ, सभापतिको भन्दा फरक गुटबाट १४औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका मान्छेहरू पनि आउनु भएको छ । सभापतिसँग नजिक भएकाले गुट भन्ने र सभापतिसँग फरक समूहबाट लडेकाहरू आउँदा गुट नमान्ने हो भने त अब व्याख्या पनि नयाँ ढंगले गर्नुपर्छ होला ।

कांग्रेसमा छलफल हुन्छ, निर्णय हुन्छ तर कार्यान्वयनको पाटो फितलो छ है ?
यो सबैको समस्या हो । यस पटक पनि हामीले बैठकमा यो विषयमा व्यापक छलफल गरेका छौं । हामी निर्णय गर्छौं बाहिर प्रस्तावहरू पनि आउँछ । तर ती निर्णयहरू कहाँ कति कार्यान्वयन भए भएनन् यस विषयमा पनि समीक्षा हुन जरुरी छ । निर्णय कति कार्यान्वयन भए, हामीले महामन्त्रीहरूलाई प्रश्न पनि ग¥र्यौं । निर्णय कार्यान्वयन भएका छन् । सबैभन्दा पहिला दुईदुई महिनामा बैठक राख्ने भनेका थियौं, यो अभ्यास सुरु भएको छ । विभागहरू गठन गर्ने भनिएको छ, त्यो पनि भएको छ ।

तर, विभागमा संख्या नै पुगेको छैन, कति त गठन पनि भएका छैनन् ?
केही बाँकी छ । तर, केही विभागहरू त यस बीचमा गठन भए नि । विशेष आर्थिक अभियान सञ्चालन गर्ने भनेको त्यो पनि गरियो, बीपीको साहित्य महोत्सव गरियो । एउटा नभएको जनतासँग कांग्रेस भन्ने अभियानमात्रै सुरु हुन नसकेको हो । अर्को पोलिसी ह्याकाथन भन्ने कार्यक्रम पनि भयो । कार्यक्रम धेरै भएका छन्, तर शतप्रतिशत भएका छैनन्, यसमा म सहमत छु । यस पटकको केन्द्रीय समितिमा हामीले विगतका निर्णयहरू कार्यान्वयन भए कि भएनन्, सरकारलाई दिएको निर्देशन कार्यान्वयन भयो कि भएन भन्ने कुरामा पनि व्यापक छलफल गरेका थियौं । अघिल्लो पटक भएका निर्णयहरू ८० प्रतिशतसम्म कार्यान्वयन भएका छन् । पार्टी अब विधि र पद्धतिमा चल्न सुरु गरेकाले केही समय पर्खिन प¥यो ।

अस्तिको निर्णयबाट सरकारको कार्यशैलीका विषयमा प्रश्न उठाएको छ, यसलाई के कांग्रेस गठबन्धनसँग असन्तुष्ट हो ?
नेपाली कांग्रेस गठबन्धनसँग असन्तुष्ट छैन । सरकार भनेको एउटा अंग हो । पार्टी भनेको नेपाली कांग्रेस हो । सरकारले गर्ने र पार्टीले गर्ने काम नै फरक छ । सरकारलाई खबरदारी गर्ने र सरकारसँग माग गर्ने हो । नेपाली कांग्रेसकै नेतृत्वमा बस्नेको सरकारसँग पनि नेपाली कांग्रेसले माग गर्छ । यो अभ्यास विगतमा पनि भएको छ । हाम्रै पार्टीका प्रधानमन्त्री हुँदाखेरि हाम्रै बैठकबाट महँगी नियन्त्रण र शान्तिसुरक्षा लगायतका विषयमा सरकारसँग माग गरेका थियौं । त्यसैले सरकार मुलुकका प्रति जवाफदेही हुनुप¥यो, बाढीपहिरो आएको छ, महँगी बढेको छ, भ्रष्टाचार व्याप्त छ, यी सबै कुरामा सरकार गम्भीर हुनुपर्छ भन्ने कुराको ध्यानाकर्षण गराउने विषयलाई नेपाली कांग्रेसको जनताप्रति, मुलुककाप्रति जवाफदेहिता हो । हाम्रो निर्णयले सरकारलाई असजिलो पार्ने कुनै पनि काम भएको छैन ।

सरकारको कामबाट तपाईंहरू सन्तुष्ट हुनुहुन्छ ?
जति काम सरकारले गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन । सरकारले जुन किसिमले शान्तिसुरक्षाको विषयमा जनतालाई राहत दिने कुरामा रोजगारी दिने विषयमा महँगी नियन्त्रणका कुराहरू, संविधान कार्यान्वयनका कुराहरूलगायतका कतिपय विषयमा सरकारको ध्यान पुगेको छैन । त्यसैले त हामीले सरकारको ध्यानाकर्षण गराएको हो । सबै कुरा राम्रो भएको र सरकारले पनि राम्रो गरिरहेको भए हामीले ध्यानाकर्षण गराउनै पर्ने थिएन । अहिलेको अवस्थामा वाह क्या राम्रो भन्ने अवस्था पनि छैन भने केही नभएको पनि होइन ।

अब कसरी अगाडि बढ्छ कांग्रेस ?
नेपाली कांग्रेसले जनताका भावनाअनुसार आफू परिमार्जित हुँदै जानुपर्छ । हिजोको दिनमा हामीले विगतदेखि गर्दै आएको कुरा ठीक छ भन्ने मनोभावबाट चल्यौं, त्यसबाट जनता त परै जाओस्, आफ्नै पार्टीका कार्यकर्ताले पनि चित्त बुझाएनन् । त्यसैले जनताले कांग्रेसका प्रति धेरै गुनासो र आक्रोश पोखे । त्यसैले भइराख्या छ, चलिराख्या छ भन्ने हिसाबले अब पार्टी चल्दैन । अब के गर्ने भन्ने कुरा बुझ्नका लागि जनताका बीचमा जानुपर्छ । मुलुकमा देखिएका यावत् विषयहरूमा हामी सजग र सतर्क रहनु पर्छ । अस्ति हामीले विशेष आन्तरिक अभियान सुरु गरेको पनि त्यी कुरा बुझ्नका लागि जनतासँग पुगेका हौं । जनताको बीचमा गएर कहाँनेर असन्तुष्टि छ, जनताले के खोजिरहेका छन् भन्ने कुरा बुझेर नै नेपाली कांग्रेस अब अघि बढन्ु पर्छ ।

चाडपर्व सुरु भइसके, महँगीले आकाश छोएको छ, सरकारमा कांग्रेस पनि छ, कसरी पार पाउने हो ?
महँगी नियन्त्रण गर्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउने भनेर केन्द्रीय कार्यसमितिको बैठकबाट प्रस्ताव नै पारित गरेका छौं । दसैं, तिहारजस्ता चाडहरू आइरहेका छन् । चाडपर्वमा महँगी बढ्ने भनेको पहिलादेखि नै हो । हामी खर्चालु पनि बढी हुँदै गएका छौं । यही मौकामा नाफाखोरीहरूले नाफा कमाउन खोज्छन् । सरकार यस्तै बेलामा हो चाहिने, सरकार यस्तैबेलामा हो चनाखो हुने । त्यसैले हामीले सरकारलाई विशेष रूपमा आग्रह गरेका छौं । कालाबजारी रोक्नेदेखि दैनिक उपभोग्य वस्तु सर्वसुलभ बनाउने भनेका छौं ।

प्रधानमन्त्रीको विदेश भ्रमणप्रति धारणा के हो ?
प्रधानमन्त्री प्रचण्डको चीन र अमेरिकाको भ्रमण सफल या असफल भनेर चर्चा होला नै । तर, यो बीचमा जति भ्रमणका लागि उहाँले समय खर्चिनु भएको छ, यति लामो समय उहाँ बाहिर बस्दा भ्रमण उपलब्धिमूलक भयो कि भएन भन्ने छुट्टै छलफल गरौंला ।

बीआरआईमा जोडियौ भन्या के हो नि ?
बीआरआईको विषयमा अघिल्लो सरकारले सहमति गरिसकेको विषय हो । कुनकुन कुराहरू बीआरआईमा जाने कुनकुन कुराहरू बीआरआईमा रहने वा नरहने भन्ने कुरो हो । विकासमा चीनले अनुदान वा ऋणमा दिएका कुराहरू सबैलाई जोड्न खोजेको हो कि बीआरआई भन्ने छुट्टै प्याकेज हो यो कुरा बाहिर स्पष्ट रूपमा आएको छैन । चीन सरकारले यसभन्दा अगाडि दिएका सहुलियतपूर्ण ऋण आदि जम्मै बीआरआईसँग जोड्ने कुरा हो भने त्यो स्वीकार्य हुने कुरा पनि भएन । होइन, चीन छुट्टै प्याकेज अनुदानको रूपमा आउँछ भने हामीले चीनसँग मात्रै होइन, भारत अमेरिका सबैसँग लिएका छौं नि ।

कोसी प्रदेशको राजनीतिक समीकरणले भविष्यको कस्तो संकेत गर्दैछ ?
कोसी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनाउन लागिपरेका छौं । यस विषयमा हामीले अन्य पार्टीहरूसँग पनि कुरा गरिरहेका छौं । खासगरी नेकपा एमाले र राप्रपासँग छलफल गरिरहेका छौं । संवैधानिक जटिलताका कारण कोसी प्रदेश अप्ठेरो अवस्थामा छ । अब सरकार नबन्दा त हामी मध्यावधिमा जानुपर्ने बाध्यता आउँछ । अहिले मध्यावधिको आवश्यकता होइन । अब हुँदै भएन भने मध्यावधिमा पनि जान सकिन्छ । तर अहिलेसम्म नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्छ भन्ने कुरामा हामी ढुक्क छौं ।

कोसीका समीकरणले केन्द्रमा पनि प्रभाव पार्छ भन्ने कुराहरू पनि गर्छन्, नेपाली कांग्रेस र नेकपा एमाले नजिक हुन लाग्या हुन् ?
यसलाई नजिक टाढाभन्दा पनि कोसी प्रदेशमा सरकार बनाउने विषयमा त हामीले सबैलाई आह्वान गरिरहेका छौं नि । कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि हामीले सबैलाई आह्वान गर्छौं नि । हाम्रो गठबन्धनले मात्रै पुगेन । हाम्रो गठबन्धनको बहुमत नपुगेपछि हामीभन्दा बाहिर रहेको राप्रपा र एमालेसँग पनि सहयोग माग्छौं । यसलाई नजिक र टाढाभन्दा पनि आवश्यकता हो । फेरि उनीहरूले सघाउँदैमा केन्द्रमा पनि नयाँ समीकरण बन्छ भन्ने होइन ।

नेपाली कांग्रेस संसदीय दलको नेताबाहेक अरु व्यक्तिलाई मुख्यमन्त्रीमा अघि सार्नुपर्छ भन्ने कुरा उठेको हो ?
कांग्रेस संसदीय दलको नेता को हुने, कसलाई नेता बनाउने मुख्यमन्त्री कसलाई प्रस्ताव गर्ने भन्ने विषय हामीले तय गर्ने हो । कोसी प्रदेशको मुख्यमन्त्री कसलाई बनाउने भन्ने कुरा कांग्रेसले तय गर्ने हो । हामीले प्रस्ताव गर्ने विषयमा अरूले फलानो भनेर तोक्न मिल्दैन । हामीले जसलाई अगाडि सार्छौं उहाँ नै मुख्यमन्त्री हुने हो ।

नेपाली कांग्रेसको महासमितिको मिति तोक्नु भयो, कसरी हुन्छ के के हुन्छ ?
महासमिति भनेको हाम्रो विशेष महाधिवेशन पनि हो । नीति महाधिवेशन पनि हो । अघिल्लो पटक १४औं महाधिवेशन गर्दा सबैको मुड निर्वाचनतिर गयो । त्यतिबेला हामीले विभिन्न नीति र प्रस्तावहरूका विषयमा कुनै पनि छलफल गरेनौं । त्यतिबेला नै हामीले नीति महाधिवेशन गर्ने भनेका थियौं । त्यो हुन सकेको थिएन । अब महासमितिको बैठक बोलाउनु नै पर्ने थियो, त्यसैअनुसार महासमितिलाई नीति अधिवेशनको रूपमा पनि हामीले प्रयोग गर्दैछौं ।

नेपाली कांग्रेस अहिले पूरै एकजुट हो त ?
नेपालका सबै पार्टीहरूमा सबै ठीकठाक हुन्छन् भन्ने कुरा त हुँदैन । म के भन्छु भने पुराना पार्टीहरूलाई असान्दर्भिक बनाउने, हिजो गरेका आन्दोलनहरू त्यागहरूलाई असान्दर्भिक ठह¥याउने केही प्रयत्न भइरहेको छ, हिजोको उपलब्धिहरूलाई उल्ट्याउने पनि प्रयत्नहरू भएको छ । सामाजिक धार्मिक जुन खालको द्वन्द्व निम्त्याउने कुराहरू पनि भएको छ । त्यसैले कांग्रेस जिम्मेवार पार्टी भएकाले बेला बेलामा हामीले दाबी गर्दै नेपालको एकमात्र लोकतान्त्रिक, जिम्मेवार र जनताले भरोसा गरेको पार्टी हो भन्छौं । त्यसैले अब हाम्रा व्यक्तिगत कुण्ठा र असहमति छन् भने पनि केही समयका लागि न्यूनीकरण गर्दै अघि बढ्नु पर्छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले एमाले वा माओवादीजस्तो एक जना बोलेपछि नियम र कानुन हुने पार्टी होइन । त्यसैले त पार्टीभित्र फरकफरक विचार र दृष्टिकोणहरू आउने गरका छन् । अहिलेको केन्द्रीय समितिको बैठकमा सबैले अब एकले अर्कालाई हिलो छ्यापाछ्याप गर्दा सबैलाई राम्रो हुँदैन भन्ने महसुस गर्नु भएको छ ।

कांग्रेसभित्र १५औं महाधिवेशनको तयारी सुरु भएको हो ?
१४औं महाधिवेशन भएको दुई वर्ष पनि भएको छैन । अहिले नै १५औं महाधिवेशनको तयारी थालेको जसरी आफ्ना गतिविधिहरू कुनै पनि नेताहरूले गर्नुहुन्छ भने त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ । नेपाली कांग्रेसको अधिवेशन भनेको कसलाई सभापति बनाउने कसलाई पदाधिकारी बनाउनेमात्रै त होइन होला । कांग्रेस देश र जनताप्रति जवाफदेही हुनुपर्छ । अहिलेको अवस्थमा सबै कुराले देश अप्ठेरो परिस्थितिमा रहेका बेला मुलुक र जनतालाई नसोचेर फेरि अधिवेशनको मात्रै तयारी गर्ने र को सभापति हुने को उपसभापति हुने भन्ने हिसाबकिताब गर्ने हो भने यो कुरामा नेपाली जनताले सरोकार राख्दैनन् । नेपाली जनता पहिला आफ्नो आर्थिक स्थिति सुधार गर्न चाहन्छ । दैनिक चुलो बलेको छ कि छैन जीवनयापन कसरी चलिरहेको छ त्यो सहज होस् भन्ने चाहन्छ । शान्ति सुरक्षा र महँगी नियन्त्रण चाहन्छ । १५औं महाधिवेशन विधानअनुसार हुन्छ । त्यो नगरेर सुखै छैन ।

विधानअनुसार भनेको चार वर्षमा हुन्छ कि साढे पाँच वर्षमा भन्न हो नि ?
यसभन्दा अगाडि भएका अधिवेशन पनि विधानअनुसार नै भएको छ नि, (हाँस्दै) । चार वर्ष पुग्नासाथ अधिवेशन गर्ने कि संविधान र कार्यसमितिले म्याद थप गर्ने भन्ने कुराभन्दा पनि जे हुन्छ विधानअनुसार नै हुन्छ भन्ने कुरामा अहिले ढुक्क होऔं । समय आउन धेरै बाँकी छ ।