देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पारस क्यानमा चुनाव लड्ने

देशान्तर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट संघ क्यानको आसन्न निर्वाचनमा पूर्वकप्तान पारस खड्का पनि चुनाव लड्ने तयारीमा रहेका छन् । त्यसका लागि अहिले उनले आफ्नो छलफललाई तीव्रता दिएको बताइएको छ । असोजको ५ र ६ गते हुन लागेको चुनावका लागि अहिलेदेखि नै क्यानमा गुटबन्दी भने सुरु भइसकेको छ ।

अघिल्लो निर्वाचनमा एक ढिक्का रहेको समूह आसन्न चुनावका कारण छिन्नभिन्न हुने अवस्था देखिएको छ । तर, नेपाली राजनीतिजस्तै क्यानमा पनि सत्तारूढ गठबन्धन र एमालेको भिडन्त हुने पक्का छ । यस्तो अवस्थामा अहिले सत्तारूढ गठबन्धन नै क्यानमा हावी हुने अवस्था देखिएको छ । वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै अध्यक्षमा दोहोर्‍याउन चाहन्छन् भने उनलाई अहिलेको कार्यसमितिमा कोषाध्यक्ष रहेका रोशन सिंहले टक्कर दिने बुझिएको छ ।

तर अन्तिमसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने गरी अहिलेदेखि नै तयारी भइरहेको क्यानका पदाधिकारीहरूले देशान्तरलाई बताएका छन् । आसन्न चुनावमा धेरैको चासो पारस खड्काको स्थानको विषयमा रहेको छ ।

नेपाली क्रिकेटमा लामो समय कप्तान रहेका र ठूलाठूला उपलव्धि दिलाउनका लागि महत्वपूर्ण भूमिका खेलेका पारसलाई कुनै न कुनै भूमिकामा क्यानमा ल्याउनुपर्ने आवाज उठेको छ ।

अहिले पारसले पनि आफू क्यानमा आउनका लागि तयारी गरिरहेको बताइसकेका छन् । पारस अहिलेको अवस्थामा बागमती प्रदेश अध्यक्षको तयारीमा रहेको बुझिएको छ । टिम मिलाउँदा पारसलाई पनि सँगै लिएर जाने गरी सत्तारूढ गठबन्धनले अध्यक्ष चन्दलाई निर्देशन दिएको बुझिएको छ । चन्द नेपाली कांग्रेस डोटीका सभापति नै हुन् । त्यसले गर्दा पनि उनलाई सत्तारूढ दलहरूले आउँदो कार्यकालका लागि पनि अध्यक्षमा विश्वास गर्ने बताइसकेका छन् भने समूह निर्माण गर्नका लागि आग्रह गरेको पनि बालुवाटार स्रोतले बताएको छ । तर, यस विषयमा स्वयं अध्यक्ष चन्दले भने कुनै मुख खोलेका छैनन् । चन्दलाई पारसलाई पनि सँगै लिएर कुनै न कुनै स्थानमा स्थापित गर्नुपर्ने सर्त भने राखिएको छ ।

क्यानको परिमार्जित विधानअनुसार अहिले बहालवाला खेलाडीहरूले पनि सदस्यता लिन पाउने भएकाले त्यसमा पारसको होल्ड छ भने बागमती प्रदेशमा पनि उनले राम्रो पकड राख्ने बुझाइ रहेको छ ।

सबै समीकरण मिलेमा पारस यस पटक नेपाल क्रिकेट संघ क्यानको कुनै न कुनै भूमिकामा आउने पक्का छ । प्रदेश अध्यक्ष भएर आएमा उनी केन्द्रमा पनि चुनाव लड्न बाटो भने खुल्छ । तर, अहिले नै पारस क्यानको अध्यक्ष लड्ने मनस्थितिमा भने नरहेको बुझिएको छ ।