देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक वर्षको कारावासपछि अभिनेता पल शाह रिहा

देशान्तर

काठमाडौँ–  एक वर्षको कारावासपछि अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् ।

नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी सोमबार फागुन १५ मै रिहा भएका हुन् ।

आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो । शाहलाई थुनामुक्त गर्ने व्यहोराको पत्र उच्च अदालतले जिल्‍ला कारागार तनहुँलाई पठाएपछि उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया गरेर छुटेका हुन् ।

 

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।