देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनाव पछि कांग्रेस पहिलो पार्टी : सभापति देउवा

देशान्तर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको आवश्यकता भनेको गठबन्धनको राजनीति रहेको बताएका छन् । गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री गठबन्धन गरेर चुनावमा उत्रिएका छन् । १६५ मध्य ९१ सिट नेपाली कांग्रेसले लिएको छ । अबको चुनावपछि नेपाली कांग्रेस शीर्ष पार्टी बन्ने पनि देउवाको भनाई छ । सभापति समेत रहेका प्रधानमन्त्री देउवा डडेल्धुराबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् । चुनावी कार्यक्रमलाई सम्बोधन गर्नका लागि डडेल्धुरा पुगेका देउवाले त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै नेपाललाई आर्थिक समृद्धिको वाटोमा अघि बढाउनका लागि सबै मिल्नुको विकल्प नभएको बताए । डडेल्धुरामा सञ्चारकर्मीहरुसँग गरेको कुरकानीको सम्पादित अंश :

गठबन्धन गरेर चुनावमा उत्रिनु भएको छ, कस्तो छ माहोल ?

चुनावी माहोल अत्यन्तै राम्रो छ । गठबन्धनको उत्साह पनि एकदमै बढेको पाएको छु । जनताले गठबन्धनलाई रुचाइरहनु भएको छ । गठबन्धनबाट उम्मेदवारहरु बनेकालाई जनताहरुले जितउने पक्षमा रहेको पाएको छु । गठबन्धनको सरकार हामीले चलाइरहेका छौं । हामी गठबन्धनमा आवद्ध दलका नेताहरुकाबीचमा कुनै पनि किसिमको समस्या छैन । हामीबीचमा कुनै समस्या नभए पनि केही ठाउँबाहेक धेरै ठाउँमा उम्मेदवारहरु मिलेर चुनावी प्रचार प्रसारमा हुनुहुन्छ । हाम्रो पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाबीच एकदमै राम्रो सम्बन्ध भएकाले गठबन्धनले जित्ने विश्वास लिएको छु ।

विगतमा तपाईंले नेपाली कांग्रेस पहिलो पार्टी बनाउँछु भन्नु भएको थियो, अहिलेको अवस्था त्यस्तातर्फ उन्मुख हो ?
हो, हो, मैले नेपाली कांग्रेसलाई संसदीय राजनीतिमा पहिलो पार्टीको रुपमा स्थापित गर्छु भनेको हुँ । मंसिर ४ गतेको निर्वाचन पछि नेपाली कांग्रेस देशको पहिलो पार्टी बन्छ, त्यसमा दुई मत नै छैन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै तिर नेपाली कांग्रेृसको माहोल राम्रो छ । अझ अहिले गठबन्धनमा भएकाले जित निकाल्न पनि सहज हुन्छ ।

तपाईले किन गठबन्धनको आवश्यकता अझैं १०–१५ वर्ष देख्नुभयो किन ?
हामी सबै मिलेर नेपालको संविधान बनायौं । संविधान बनाउने नेतृत्व नेपाली कांग्रेसले गरेको हो । हामीले बनाएको संविधान अनुसार अहिले कोही पनि एउटा पार्टीले बहुमत ल्याउने अवस्था छैन । कारण हो मिश्रित निर्वाचन प्रणाली । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली भएकाले एउटामात्रै दलको बहुमत नआउने भएकाले सरकार बनाउन पनि एक दलले अर्को दलसँग सहकार्य गर्नैपर्ने अवस्था छ । संविधानको मर्म र भावना अनुसार हामीले एकले अर्कासँग मेलमिलाप र सहमति कायम गर्दै अघि बढ्नु पर्छ । हाम्रो संविधान समावेशी संविधान पनि हो । यहाँ आदिवासी, जनजाती, महिला सबैको सहभागिता सुनिश्चित गरेको छ ।

अझ भन्ने हो भने अहिले हामी समावेशी लोकतन्त्रको अभ्यासमा पनि छौं । त्यसैले अहिलेको अवस्थामा सवै पार्टी एक हुन आवश्यक पनि छ । अहिलेको अवस्थामा ‘मिराकल’ नै भयो भने मात्रै एक पार्टीको बहुमत आउँछ होइन भने अहिलेको अवस्थामा त्यो मैले सम्भावना नै दैख्दैन । त्यसैले मैले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन उद्देश्य लिएको छु । गठबन्धन गरेर चुनावमा जाँदा नेपाली कांग्रेस ठूलो पार्टी बन्छ भन्नेमा म विश्वस्त छु । यसैगरी सबै मिल्नुको विकल्प पनि नभएकाले हामी मिलेर नेपालमा गठबन्धनको राजनीतिक संस्कार सुरु गर्नका लागि पनि अझैं केही समय लाग्ने भएकाले मैले कम्तिमा १०–१५ वर्षसम्म यो अवस्था कायम रह्यो भने आम नेपालीको राजनीति प्रतिको धारणा परिवर्तन हुने र राजनीतिक संस्कार पनि राम्रो बस्ने हुनसक्छ ।

तपाईंलाई विपक्षीले कामै गर्न नसकेको आरोप पनि लगाउँछन्, अझ सिमको विषयमा त बढी आरोप लाग्ने गरेको छ ?
म त सुदूरपश्चिमकै मान्छे हुँ । लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा जो विवाद छ । यो भूमी नेपालको हो, यसमा दुई मत छैन । यो भूमी फिर्ता गर्ने कुरामा भारतसँग लडाईं लड्ने होइन, वार्ताद्वारा हामीले हाम्रो हक कायम गराउने कुरा हो ।

वार्तामार्फत समाधान खोज्नु पर्छ भन्ने अडानमा नेपाली कांग्रेस हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ । यो विषयमा विपक्षी केपी ओलीले आफूले जस लिन खोजेको मात्रै हो । संविधान संशोधन गर्दा हामी पनि त सदनमा सरकारसँगै थियौं । त्यसैले कसैले मैले मात्रै गरेको नभने हुन्छ, हामी पनि यो प्रक्रियामा सहभागि भएको छर्लंग छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ताको विवाद हामी कुटनीतिक पहल गरेर समाधान गर्छौं । हामी हाम्रो हक कायम गरेर छाड्छौं ।

सिमा समस्या त, भारतसँग मात्रै होइन, चीनसँग पनि त छ नी ?
हो । चीनसँग पनि हाम्रो सिमा समस्या छ । हुम्ला जिल्लाको केही ठाउँमा हाम्रो भुभाग मिचिएको कुरा आएको छ । हामी त्यो भुभाग पनि फिर्ता ल्याउनका लागि चीनसँग कुटनीतिक पहल गर्छौं । त्यो पहल गरि पनि रहेका छौं ।

तपाईं पाँच पटक प्रधानमन्त्री भइसक्नु भयो, अहिले पनि चुनावी दौडमा हुनहुन्छ, तपाईंलाई किन मत दिने ?

नेपाल अत्यन्तै सुन्दर देश छ । हिमाल र पहाड पनि भएकाले यहाँ विकटता पनि छ । जलवायुपरिवर्तनका कारण हिमग्लेसिरहरु पग्लिरहेका छन् ।
ग्लोवलवार्मिङका कारण नेपाललगायतका देशहरुमा भोलिका दिनमा ठूलो समस्या आउन सक्छ । त्यसैले हाम्रो देशमा अत्याधिक विजुली छ, यही विजुली सदुपयोग गरेर गाडी, मोटर चलाउन सक्यौं भने पेट्रोलियम पदार्थ खरिद गर्दा भोगेको घाट पुर्ति गर्न पनि सक्छौं । यसले नेपाली अर्थतन्त्रलाई माथि पु¥याउन सक्छौं । मैले विश्वस्तरमा पनि नेपालको अपार सम्भावनालाई उजागर गर्न सक्छु । यसैगरी नेपालको अर्थतन्त्र सुधारका लागि हामीले काम गर्न पनि सक्ने र देशको गरिबी अन्त्यका लागि पनि विभिन्न योजनाहरु अघि सारेका छौं । म डडेल्धुराबाट उम्मेदवार भए पनि पार्टीका सभापति पनि भएकाले मलाई ठूलो जिम्मेवारी पनि छ ।

म मेरो जिम्मेवारी पूरा गर्नका लागि र नेपाली कांग्रसलाई ठूलो पार्टी बनाउनका लागि पनि मत दिन आवश्यक छ । अहिलेको अवस्थामा गठबन्धनले जितेमा हामीले ५ वर्ष स्थिर सरकार दिन्छौं र जनताका समस्या समाधानका लागि दत्तचित्त भएर लाग्छौं ।

गठबन्धन छ, इमान्दार भएर एकले अर्कालाई मत दिन्छन् त ?
कुरा के छ भने, अहिले केही साथीहरुले कांग्रेसले किन माओवादीलाई माओवादी किन कांग्रेसलाई, एकीकृत समाजवादीले किन फलानो पार्टीलाई भन्ने अवस्था छ । तर, त्यस्तो होइन । हामीले देशको आवश्यकता रहेकाले गठबन्धन गरेका हौं । २०७४ को चुनावमा हामीलाई त जनताले प्रतिपक्षमा बस्नका लागि म्यान्डेट दिएकाले सोही अनुसार संसदमा जिम्मेवार प्रतिपक्ष भएर बसेका थियौं नी । तर, केपी ओलीले नै संविधान मास्नका लागि दुई दुई पटक संसद विघटन गरेपछि हामी बाध्य भएर गठबन्धन बनायौं र मेरो नेतृत्वमा सरकार बन्यो । मेरो नेतृत्वको गठबन्धन सरकारले संविधानलाई सही बाटोमा ल्याएको छ । हामीले गठबन्धन गरेर वैशाख ३० को स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्मन्न पनि गरिसकेका छौं ।

अहिले हामी मंसिर ४ गतेको आम निर्वाचनमा केन्द्रीत हुँदै गर्दा कहि कतै नेपाली कांग्रेस वा अन्य गठबन्धनका साथीहरुमा अलमल छ भने त्यो आजैबाट त्याग्नुस । अहिलेको चुनाव भनेको संविधान मास्ने र जोगाउनेबीचको लडाईं हो । हामी संविधान जोगाएर देशलाई समृद्धितर्फ लैजाने दिशामा केन्द्रीत छौं । त्यसैले अहिले कुनै अलमल गर्नुपर्ने जरुरी पनि छैन । नेपाली कांग्रेसले ९१ सिट लिएको छ, गठबन्धनमा आवद्ध दलहरुलाई जिताउने जिम्मेवारी नेपाली कांग्रेसको पनि हो । हामीले सहयोग गर्दा अरुले पनि त हामीलाई सहयोग गर्छन् ।

हो, माओवादी विगतको विद्रोही शक्ति हो, तर शन्तिपूर्ण राजनीतिमा आइसकेको यतिका समय भयो, अहिले गबठन्धन सरकारमा पनि छ । सबै मिलेर देश बनाउने हो भने नेपाली कांग्रेसका कार्यकर्ताहरु माओवादीविरुद्ध लाग्न कुनै जरुरी छैन । म पार्टी सभापतिको हैसियतले नेपाली कांग्रेसका कार्यकर्ताहरु गठबन्धन गर्ने निर्णय प्रति कतै असन्तुष्ट भएको पाएको छैन । सुरुमा केही ठाउँमा देखिएको असन्तुष्टि पनि हामीले गठबन्धन गर्नुको कारण र औचित्य बुझाएपछि अहिले सबै साथीहरु चुनावमा पनि लाग्नु भएको छ । त्यसैले विगतका कुराहरु कोट्यार बहान बनाउन जरुरी छैन ।
२०७४ मा माओवादी र एमाले मिलेका थिए ।

उनीहरु मिल्दा नेपाली कांग्रेस कमजोर बनेको थियो । तर अहिले माओवादी कांग्रेससँग मिलेर राजनीति अगाडि बढाएको छ । यसमा अप्ठेरो मान्नुपर्ने कुरा पनि म देख्दैन । प्रचण्डलाई त नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवाले शान्तिपुर्ण राजनीतिमा ल्याउनु भएको हो । नेपाली कांग्रेसले २००७ सालमा बन्दुक बोकेजस्तै माओवादीले पनि २०५२ सालमा बन्दुक बोकेको हो । बन्दु छाडेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आइसकेको पार्टीविरुद्ध बोल्न जरुरी छैन । नेपाली कांग्रेस त देशको अभिभावक पार्टी हो । यसले सवैलाई समान व्यवहार गर्छ र समन्नुत समाज निर्माणका लागि अग्रसरता लिने हेतुले नै गठबन्धन गरेर अघि बढीरहेको छ । अब हामीले हिजो के भयो भनेर हिसाव किताव गरेर बस्ने होइन, अब के गर्ने भन्ने अभियानमा केन्द्रीत हुने हो । अब भनेको समावेशी राजनीतिको आधारमा अघि बढ्नु पर्छ । देशका लागि सबै पार्टी एक हुनुपर्छ ।

पार्टी सभापति र देशको प्रधानमन्त्रीको हिसावले आममतदातालाई के सन्देश दिनुहुन्छ ?

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु । नेपाली कांग्रेसले २००७ सालमा देशलाई राणाबाट मुक्त गराएको थियो । फेरि तत्कालिन राजा महेन्द्रले हाम्रा नेताहरु (बीपी कोइराला)लाई जेल हालेर पञ्चायति व्यवस्था लागू गरे । त्यसविरुद्ध पनि नेपाली कांग्रेसको अगुवाईमा पञ्चायत ढलायौं । बहुदल त आयो, तत्कालिन राजा ज्ञानेन्द्रले दलीय व्यवस्था खत्तम पार्न खोजेका थिए, त्यतिबेला मलाई पनि जेल हालेका थिए । राजाले निरन्तर दुःख दिएपछि गिरिजाप्रसाद कोइरालको नेतृत्वमा देशमा गणतन्त्र आएको हो । गणतन्त्र ल्याउनमा गिरिजाप्रसादको ठूलो भूमिका रहेको छ । गणतन्त्रमात्रै ल्याउनु भएन, त्यसपछि गिरिजाप्रसादले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा पनि ल्याउनुभयो र देशमा शान्तिस्थापना गर्नका लागि पनि ठूलो भूमिका खेल्नुभयो । अहिलेको व्यवस्था अनुसार जनताका छोराछोरी राष्ट्रपति बन्ने अवस्था भएको छ । देशमा अहिले संघीयता कायम छ ।

संघीयता देश विकासका लागि एकदमै आवश्यक छ । सदुरपश्चिम विगतमा धेरै पछि थियो अहिले क्रमश विकासको लहर आएको छ । त्यसैगरी मधेशमा पनि विकास भइरहेको छ । अहिले जनताले अधिकार पनि पाएका छन् । यो सबैको देश हो । नेपालमा समावेशी लोकतन्त्र रहेको छ । अब यहाँ लडाईं झगडाको युग सकिएको छ । अब भनेको आर्थिक विकास र समन्नुत नेपाल बनाउने अभियानमा लागेका छौं । यो अभियानलाई सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्छ र लोकतान्त्रिक वाम गठबन्धलाई मत दिएर जिताउनुपर्छ । अहिलेको निर्वाचन अत्यन्त महत्पूर्ण रहेकाले गठबन्धनलाई अत्याधिक बहुमतले जिताएर नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन सहयोग गर्नुभयो भने अवश्य नै, ५ वर्षमा हामीले धेरै ठूलो प्रगति गर्छौं । विकासमा पनि हामीले फड्को मार्छौं । हामीले सच्चामानेमा समावेशी लोकतन्त्र कायम राख्छौं ।