देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्वतमा दुई जनामा डेङगुको संक्रमण पुष्टि

देशान्तर

काठमाडाैं – पर्वतमा दुई जनामा डेङ्गु रोगको संक्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको संक्रमण रहेको पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको संक्र्मण रहेको बुधबार पुष्टि भएको हो।

उनीहरु दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ । घरमा बसिरहेको अवस्थामा लगातार ५/७ दिनसम्म ज्वरो आएपछि उपचारका लागि आएका उनीहरुमा संक्रमणको शंकामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेङ्गु रहेको पुष्टि भएको हो । दुवै जनाको उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा संक्रमण पुष्टि भएको जनाउँदै गतवर्ष कसैमा पनि पुष्टि नभएको तर त्यसअघि भने संक्रमण देखिएको बताए ।

संक्रमण देखिनुको अर्थ सबै जना सचेत हुनुपर्ने सूचना मिलेको जनाउँदै उनले लामखुट्टेको टोकाइबाट बच्नका लागि सुझाव दिए ।

बागलुङको तुलनामा पर्वतमा डर मान्नुपर्ने अवस्था नरहेको र यो अवस्था सामान्य जोखिमको रहेको पौडेलको भनाइ छ । बागलुङको मौसमी अवस्था, सहरीकरण र जनसङ्ख्या पर्वतभन्दा जोखिमयुक्त रहेको छ ।