देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलंकाबाट सिक्ने कुरा – जवाफदेही र पारदर्शिता


एक : ‘दक्षिण एसियामा हामी सबैले सिक्ने पाठ भनेको राजनीतिक नेतृत्व अपारदर्शी र अनुत्तरदायी हुनुहुँदैन भन्ने नै हो । अनुत्तरदायी र अपारदर्शी राजनीतिले विद्रोह जन्माउँछ भन्ने उदाहरण विगतमा अरब विद्रोहले पनि देखाइसकेका छन् । श्रीलंका पछिल्लो उदाहरण हो । वास्तवमा हाम्रो राजनीतिक नेतृत्व पनि अपारदर्शी छ । कहिलेकाहीँ त समकालीन राजनीतिको अपारदर्शिता श्रीलंकामा भन्दा हामीकहाँ बढी देखिन्छ । स्थानीय निर्वाचनमा राजनीतिक नेतृत्वप्रति असन्तोष प्रकट गर्ने कार्य जनताबाट प्रारम्भ भएको छ । ठूला राजनीतिक दल अपारदर्शी रूपमा कानुन निर्माण गर्ने, भ्रष्टाचार र अनियमिततामा संलग्न हुने परिस्थितिले भयावह परिणाम निम्त्याउँछ भन्ने बुझ्नु जरुरी छ । आम नागरिकले सचेतना जनाउनुपर्छ । (प्रा.डा. खड्ग केसी, त्रिभुवन विश्वविद्यालय)  ।’

दुई : ‘२००९ मा एलटीटीईलाई जितेपछि महिन्दा राजापाक्षेले कसैलाई नटेर्ने भए, हामीकहाँ राजा महेन्द्रजस्तै । परिवारतन्त्र हाबी भयो । उनको गुनगान गाउने परिस्थिति भयो । त्यसले संकटलाई थप निरन्तरता दिने काम ग¥यो । श्रीलंकाको संकट त्यहाँमात्र सीमित हुन्छ जस्तो लाग्दैन । यसको असर धेरैतिर हुनेवाला छ । श्रीलंकाले बढी ऋण लिएर पूर्वाधार बनाएको छ, पूर्वाधारको प्रयोग गर्ने सामथ्र्यवान् वातावरण बनाउन नसक्नुको समष्टिगत कारण हो यो परिस्थिति । राजनीतिक नेतृत्वले परिवारतन्त्र विकसित गर्दै लैजाँदाको परिणाम हो अहिलेको श्रीलंका । मुलुकलाई बलियो बनाउन छाडेर खोक्रो राष्ट्रवाद ल्याउँदा यो परिस्थिति आउँछ भन्ने सबैले बुझ्नुपर्छ  (डा. दिनेश भट्टराई, पूर्व राजदूत) ।’

मानवीय उपज
विषय–विज्ञका यी संंक्षिप्त दुई उद्धरणले नेपालको करिब–करिब छेउमै रहेको, दक्षिण एसियाली देश श्रीलंका यस्तो संकटमा पर्नुको प्रमुख कारण नेतृत्वको शासकीय शैली रहेको बुझाउँछन् । यो भनेको मानवीय कमजोरीको उपज हो । संसदीय पद्धतिमा नागरिकमा निहित सार्वभौमसत्ताको प्रयोग राजनीतिक दलमार्फत तिनका नेतृत्वबाट भइरहेको हुन्छ । त्यस्तो नेतृत्व कहिल्यै पनि र कुनै पनि विषयमा अपारदर्शी र अनुत्तरदायी हुनुहुँदैन । आम तहबाट सधैं नै गरिने अपेक्षा पनि यस्तै हुन्छ ।

यो देशमा पछिल्लो समय कस्तोसम्म देखियो भने सरकार चलाउने मानिसको खोजी भइरहेको छ तर मनैदेखि कोही तयार छैनन् । नयाँ सरकार बनिहाले पनि त्यसले संकटमोचन गर्छ भन्ने कसैलाई लागेको छैन । स्थिति कति बिग्रिसकेको रहेछ भन्ने यो पनि एउटा उदाहरण नै हो लामो समयसम्म देशमा रजगज गरेको एउटा पूरै परिवार देशबाट भागिसकेको अड्कल छ । नभए पनि भाग्ने तयारीमा रहेका समाचार आइरहेका छन् । बहालावाला राष्ट्रपति र प्रधानमन्त्रीका सरकारी कार्यालय तथा निवास आन्दोलनकारीको कब्जामा छ । यसअघि सत्तामा एउटै परिवारका पाँच दाजुभाइको शासन थियो– जसमाथि पाँच खर्ब ३१ अर्ब डलर देशबाहिर लगेको आरोप लागेको छ । यता देश संकटमा पर्नुको कारण भने राज्यकोषमा यस्तो मुद्रा घट्दै गएर शून्यतिर झर्नु हो । यही कारण अत्यावश्यक वस्तु खरिद गर्न राज्य असमर्थ हुदै गयो ।

यो देश एकताका यो क्षेत्र, सार्क राष्ट्रमध्येकै सम्पन्न थियो । यसको आर्थिक वृद्धिदर सबैका लागि अनुकरणीय थियो । आज त्यही देश नेतृत्वबाट गलत प्रकारले राज्यसञ्चालन गरेका कारण टाट पल्टिएको अवस्थामा पुग्यो र सबैका लागि यस्तो उदाहरणीय बन्न गएको छ । यस्तो स्थिति कसरी आयो र यसतर्फ त्यसको यात्रा कहिलेदेखि सुरु भयो भन्ने जुनसुकै देश र तिनका नेतृत्वले अध्ययन गर्नु जरुरी हुन्छ । आफ्नै क्षेत्रभित्रको त्यो देशको यस्तो दृश्यबाट आफ्नो देशलाई जोगाउने हो भने नेतृत्वले यही क्षणदेखि त्यसको अभ्यास गर्नुपर्छ । त्यो देश यो अवस्थामा आइपुग्नुको प्रमुख कारणमा मानवीय कमजोरी रहेको भन्ने माथि नै उल्लेख भएको छ । ती भ्रष्टाचारका हुन् कि अपारदर्शी वा अनुत्तरदायी वा बढी महत्वाकांक्षी शैली । यी सबै नेतृत्वको मानवीय कमजोरीमा पर्छन् । यसबाट कष्टचाहिँ नागरिकलाई भइरहेको छ । आम नागरिकले उपभोग्य वस्तुको अभावका कारण दुई छाक खान छाडेका छन् तर यता राष्ट्रपतिको निवासमा भने हजारौंलाई पुग्नेगरी भण्डारण भएको रहेछ । आन्दोलनकारीले त्यही खाएर लामो समय उक्त निवासलाई कब्जामा लिइरहे ।

कष्टको कुरा
देशको यस्तो अवस्थाबाट यहाँका नागरिकले पाएका कष्टबारे दिनहुँ समाचार आइरहेका छन्– जसले मन थाम्नै गाह्रो बनाउँछ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले धेरै दुखदमध्ये केहीलाई यसरी चित्रण गरेको छ– आर्थिक मन्दीले मुलुक टाट पल्टिएपछि श्रीलंकाली नागरिक गोजीमा पैसा हुँदा पनि पेटभर खान नपाउने अवस्थामा पुगेका छन् । श्रीलंकामा बिहान ब्युँझिनु भनेको पराजयको सामना गर्नु हो । राति अबेरसम्म बिजुली आपूर्ति नहुँदा हपहपी गर्मीलाई अलिकति भए पनि सान्त्वना दिने पंखा चल्न छाड्छन् । परिवारका सबै सदस्य आलसतालस हुँदै ब्युँझन्छन् । देशमा चुलिएको आर्थिक सङ्कटका कारण इन्धन अभावले जनजीवन कष्टपूर्ण भएको छ । त्यसमाथि अबेरसम्म लम्बिने लोडसेडिङले दैनिकी नै उलटपुलट भएको छ ।

कठिन यात्राका दिन अझै लम्बिने देखिन्छन् । युद्ध जितेझैं गरेर कार्यालय जानुपर्दा, कामका लागि दौडधुप गर्नुपर्दा र दैनिक उपभोग्य वस्तुको मूल्य एक महिनामै दोब्बर हुँदा मानिस प्रत्येक साता कमजोर बन्दै गएका छन् । कुनै वेला थियो, बिहानको चियानास्ता भरपेट खान्थे । अब त खटाई–खटाई खानुपरेको छ । कहिले त नास्ताका लागि केही हुँदैन । अनि काममा जाने गाडी भेट्टाउनु लडाइँ जितेसरह हुन्छ ।
शहरमा इन्धनका लागि लाइनमा बसेका गाडी फलामको अजिङ्गरजस्तै देखिन्छन् । घाम उकालोे चढेसँगै गाडीका लाइन पनि लामो र बाक्लो हुन्छ ।

लाइनमा बसेका गाडीले सडक अवरुद्ध बनाउँदै दैनिक जीविकालाई यातनामय बनाउँछन् । टुकटुक चालक आफ्नो आठ लिटरको ट्यांकीमा इन्धन भर्न कैयौं दिन लाइनमा बसेको दृश्य सामान्य भएको छ । उनीहरू तकिया, फेर्ने लुगा, पानीको बन्दोबस्त गरेर लाइनमा बसेका छन् । त्यति गरेर हात लाग्ने इन्धनले उनीहरूलाई ४८ घण्टाभन्दा बढी पुग्दैन । सङ्कटको सुरुआतका केही दिन त सक्षम छिमेकीले लाइनमा बसेकालाई खाना तथा पेय पदार्थ उपलब्ध गराए । तर, केही दिनयता खाना, ग्यास, लुगा र यातायात, सरकारले दिने बिजुलीको भाउ आकाशिएको छ । श्रीलंकन रुपैयाँको मूल्य स्वाट्टै घटेको छ भने मुद्राको चरम अभाव भएको छ । कामकाजी मानिसका बस्तीमा दाउरा बालेर संयुक्त चुलोमा खाना पकाउन थालिएको छ । खाना पनि साधारण हुँदै गएको छ । भात र नरिवलको तिहुनमात्र । दक्षिण एसियाभरका भान्छामा अनिवार्य मानिने दाल अब विलासी खान्कीमा दरिन थालेको छ । मासुको भाउ तीन गुणाले बढेपछि श्रीलंकाली यसलाई बिर्सनुमा नै कल्याण हुने देखिरहेका छन् ।

अभावै अभाव
श्रीलंकामा सबैभन्दा तीव्र गतिले बढिरहेको मुद्रास्फीति आम तहसम्म पुगेको संकटको सूत्र हो । अघिल्लो महिना ५४% रहेको मुद्रास्फीतिको दर पछिल्लो महिनामा ८०% नाघ्यो । खासगरी खाद्यवस्तुमा त स्फीतिको यो दर शत–प्रतिशतबाट बढेर १ सय ५० प्रतिशतसम्म पुगेका एजेन्सीहरूले समाचार सम्प्रेषण गरिरहेका छन् । यसले खाद्यवस्तु कति महँगो र सर्वसाधारणका लागि कति दुर्लभ बनायो भन्ने अनुमान गर्न ठाउँ दिन्छ । यसमा सुधार आउन अब अन्तर्राष्ट्रिय स्तरबाट ठूलो सहयोग चाहिन्छ । तर त्यस्तो सहयोग प्राप्त होला भन्ने संकेत देखिँदैन । विदेशी ऋणभार पहिले नै धेरै छ । त्यसको अंक ५१ अर्ब डलर हाराहारी छ । यसमध्ये २८ अर्ब डलर सन २०२७ सम्म तिर्नै पर्नेछ । तर यता डलरको सञ्चिति सकिएर अहिले इन्धन, खाद्यान्न र औषधिसमेत आयात गर्न सकिरहिएको छैन । इन्धन ल्याउन नसक्दा सडकमा सवारी साधन बिरलै गुडेको देख्न पाइन्छ– जसले जनजीवन चलायमान हुनबाट रोकिएको छ । इन्धन अभावकै कारण अधिकांश विद्यालय बन्द छन् । सवारी नपाएर बिरामी अस्पताल जानसमेत पाइरहेका छैनन् । स्वास्थ्य संस्थामा औषधि र अत्यावश्यक उपचार सामग्री पनि रित्तिएको छ । औषधि र उपकरण अभावका कारण शल्यक्रियासमेत रोकिएका छन्  । मानिसलाई दिनमा एक छाक जुटाउन पनि मुस्किल परिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार श्रीलंकाले ‘भयानक मानवीय संकट’ झेलिरहेको छ ।

यो स्थिति आउनुको कारण

यो देश यस्तो संकटमा पर्नुमा एउटा परिवारको करिब दुई दशकभन्दा लामो अनुत्तत्तरदायी शासन मानिन्छ । यो समय श्रीलंकामा राजापाक्षे परिवारको एकलौटी राज चल्यो । विभिन्न एजेन्सीले गरेका रिपोर्टको एउटै सार छ– मुलुक टाट नपल्टिउन्जेल उनीहरू कसैप्रति पनि उत्तरदायी भएनन् । अस्तव्यस्त हुन थालेपछि यो परिवारमा अन्तर्कलह सुरु भयो र मुलुक सबैभन्दा खराब हिंसाको शिकार बन्यो । नागरिकले सामान्य विरोध जनाउँदा पनि उनीहरूमाथि ठूला हिंसात्मक प्रहार भए । यता देश निर्माणको भार भने ऋणले मात्रै बोक्नुपर्ने अवस्था आयो । साना काममा उच्च ब्याजदरको ठूलो अंकको ऋणको प्रयोग, धेरै खर्चिलो कल्याणकारी योजना, लोकप्रियता हासिल गर्न र आफ्ना पक्षका उद्योग व्यवसायीलााई लाभ पु¥याउन करका दरमा व्यापक कटौती गरियोे– जसले बजेट घाटा झन बढाउँदै गए र वस्तुको पूर्ति गर्न पनि उच्च ब्याजमा ऋण लिन थालियो । यस्तो ऋणको रकममा पनि व्यापक भ्रष्टाचार भए । अर्थमन्त्री स्वयं ऋणको रकममा कमिसन लिने भनेर चर्चित भए । हुँदै जाँदा देश यस्तो ऋणको ब्याजसमेत तिर्न नसक्ने भयो । पछिल्लो समय त सावाँब्याज गरी वार्षिक ६ अर्ब डलर तिर्नुपर्ने थियो भने ढुकुटीमा एक अर्बमात्र सञ्चिति थियो– जसले वस्तु आयातदेखि सबै कुरा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

देशमा लामो समय शासन गरेको राजापाक्षे दक्षिण एसियाकै शक्तिशाली राजनीतिक वंश थियो । तर शासनका सामान्य मान्यताको सीमाको पालना नहँुदा यो परिवार आफैं पतनको यात्रामा गयो । आफ्नो शक्तिको उचाइमा परिवारका चार दाजुभाइ र तिनका छोरासमेत गरी एकै समयमा राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री र गृह तथा रक्षा र खेलकुदमन्त्री थिए । तर जुन समय यो वंश अजेय देखिएको थियो– त्यही बेला कुशासनका कारणले सिर्जित आर्थिक सङ्कट आयो र यसले उनकै पतन गरायोे । अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार यस परिवार आफ्नो शासनमा कहिल्यै पनि आफ्नो परिवारबाहेक देशप्रति उत्तरदायी भएन न त पारदर्शी बन्न नै आवश्यक ठान्यो । कतिसम्म भने संविधानको निरन्तर उल्लघन भइरह्यो । जस्तो यो देशको संंविधानमा राष्ट्राध्यक्षले कुनै मन्त्रालय राख्न पाइँदैन । तर धेरैपटक राखियो ।
परिणाममा यो परिवार त पतन भयो तर देश डुवेको अवस्थामा गयो । सुखी र सम्पन्न नागरिकहरू असह्य कस्टको सीमाहीन भुमरीमा परे । एकताका समृद्धिका लागि संसारकै उदाहरण रहेको देश यतिबेला टाट पल्टिएको अवस्थामा संसारभरिकै उदाहरण बनेको छ । देश चलाउने नेतृत्वले यसबाट पाठ सिक्नुपर्छ ।