देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसलाई कमजोर बनाउने खेल भयो

देशान्तर

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनले सिट बाँडफाँट गरेर वैशाख ११ र १२ गते स्थानीय तहमा उम्मेदवारी दर्ता गर्दै छ। केन्द्रीयस्तरमा भएको गठबन्धनबाट ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँट भइसकेको छ। यसरी सिट बाँडफँँट हुँदा नेपाली कांग्रेसले ५० प्रतिशत सिट प्राप्त गर्दा गठबन्धनमा रहेका अरू तीन कम्युनिस्ट पार्टीले समग्रमा ५० प्रतिशत सिट पाएका छन्। यो गठबन्धनप्रति नेपाली कांग्रेसकै नेता कार्यकर्ताहरू सन्तुष्ट भने हुन सकेका छैनन्। नेपाली कांग्रेसले आफूलाई कमजोर ठानेर ५० प्रतिशतमा खुम्च्याउनु भनेको भविष्यमा कांग्रेसलाई झन् कमजोर बनाउनु रहेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको तर्क छ। आसन्न स्थानीय तहको निर्वाचन र गठबन्धनको विषयमा रहेर देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश।

 वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन हुने त पक्का भयो है ?
वैशाख ३० गतेका लागि तय भएको निर्वाचन नहुनेमा अब शंका र संशय बाँकी नै छैन्। यो मितिमा अब पक्का स्थानीय निर्वाचन हुन्छ। सारा देश निर्वाचनको मुडमा हिँडिसकेको छ। वैशाख ३० गते एकै पटक निर्वाचन हुँदै छ। पार्टीहरू आआफ्ना उम्मेदवारहरू छनोट गर्नमा व्यस्त बनेका छन्। तर उम्मेदवार छनोटमा द्वन्द्वहरू छन्। यो द्वन्द्व डेमोक्रेसीको सुन्दर पक्ष पनि हो। चुनावलाई लिएर त्यस्तो संशय केही छैन।

सत्तारूढ गठबन्धनले सिट बाँडफाँट गरे पनि अझै पनि असन्तुष्टिहरू सुनिन्छन्, यसबाट के देख्नुहुन्छ राजनीतिक भविष्य ?
अहिलेको यो गठबन्धन केन्द्रीय कार्यसमितिको निर्णय विपरीत छ। केन्द्रीय कार्यसमितिको निर्णयमा के थियो भने आवश्यकता र औचित्यका आधारमा स्थानीयस्तरमा तालमेल गर्ने उल्लेख थियो। कांग्रेसका केही भारदार तथा मठाधीशहरूले बालुवाटारको बन्द कोठामा पाँच जना बसेर यो गठबन्धन गरे। नेपाली कांग्रेस क्षेत्रीय वा खुम्चिएको पार्टीको रूपमा थिएन। कांग्रेसले कति पायो कहाँ पायोभन्दा पनि कांग्रेसले आधी ठाउँ पाएन। कांग्रेस जम्मा ५० प्रतिशत ठाउँमा चुनाव लड्दै छ। अर्थात् ७५३ स्थानीय तहको संख्याको आधीमा चुनावी प्रतिस्पर्धा गर्दैछ। केही उपमेयर वा उपप्रमुख तथा कही वडाध्यक्षमा मात्रै कांग्रेसको उम्मेदवारी हुने भयो। यो ढंगको कांग्रेसको चिरहरण अहिलेसम्मको नेपालको राजनीतिमा भएको थिएन। कांग्रेसले सिट तालमेलको नाममा ३ वटा कम्युनिस्ट पार्टी, एउटा पूर्वकम्युनिस्टहरूको पार्टी। यसमा ३ वटा त खाँटी कम्युनिस्ट पार्टीहरू हुन्। उनीहरूले आफूलाई अल्ट्रा लेफ्टिस भन्छन् आफूलाई। अर्को भनेको बाबुराम र उपेन्द्र दुवै पूर्व कम्युनिस्ट नै हुन्। एमाले त यहाँ कुरा गर्ने हो भने मोडरेट कम्युनिस्ट हो। यो निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसमा सैद्धान्तिक रूपमा धेरै विचलन आएको छ।  सांगठनिक रूपमा पनि नेपाली कांग्रेसमा निराशा छाएको छ। त्यसैले गर्दा अहिले कांग्रेसले कति पायोभन्दा पनि कति गुमायो भन्ने कुरा महत्वपूर्ण हो।

 

नेपाली कांग्रेस क्षेत्रीय वा खुम्चिएको पार्टीको रूपमा थिएन। कांग्रेसले कति पायो कहाँ पायोभन्दा पनि कांग्रेसले आधी ठाउँ पाएन। कांग्रेस जम्मा ५० प्रतिशत ठाउँमा चुनाव लड्दै छ।

अहिले गठबन्धनले कांग्रेसको सांगठनिक संरचनामा क्षति पुग्छ ?
क्षति त पुगी नै सक्यो। यो तालमेल गर्ने अधिकार काठमाडौंलाई थिएन पनि। पार्टी विधानले पनि काठमाडौंको सरकारी निवासमा बसेर यसरी गठबन्धन गरेर यो तलाईं दिए, यो तलाई दिए भन्ने कांग्रेसको विधानमै छैन। विधानविपरीत पार्टी सभापति तथा प्रधानमन्त्री हिँडेका छन्। यसलाई कांग्रेस केन्द्रीय कार्यसमितिले रोक्न सकिरहेको छैन। जुन ढंगले विरोध हुुनुपर्ने हो त्यो जिल्लाहरूमा मात्रै भएको छ। केन्द्रीय कार्यसमितिमा भएको छैन। तर काठमाडौंको सेफ जोनमा बस्ने शेखर कोइराला, गगन थापा अपवादबाहेक कांग्रेसको जम्बो कार्यसमितिले यत्रो चिरहरण हुँदा पनि आवाज उठाउन सकेका छैनन्। अहिलेको निर्णयले कांग्रेसलाई भविष्यमा पनि क्षति पुग्छ। गिरिजाप्रसाद कोइराला कांग्रेसलाई दूबोसँग तुलना गर्नुहुन्थ्यो। उहाँले कांग्रेस दूबो हो दूबो जोगायो भने आफंै फैलिन्छ भन्ने गर्नुहुन्थ्यो, तर अहिले दूबो नै मास्ने गरी यो निर्णय भएको छ।
नेपाली कांग्रेसको कुनै जमानामा अहिलेको मधेस प्रदेश सबैभन्दा ठूलो भोट बैंकका रूपमा रहेको थियो। बीचमा मधेसवादी आन्दोलनले केही साख गुमाए पनि आज पनि कांग्रेस त्यहाँ १ नम्बरको पार्टी छ। वीरगन्ज र जनकपुरजस्तो ठाउँ जुन राजनीतिकरूपले सचेत, नेपालको लोकतान्त्रिक आन्दोलनको केन्द्र, वीरगन्जमा २००७ सालको क्रान्ति र पटकपटक भएका आन्दोलनमा जनकपुरको भूमिका खेलेको इतिहास बिर्सिएर त्यहाँको मेयर छोडेर गल्ती गरेको छ। यो विषयमा कांग्रेसका साथीहरूले मान्नु पनि हुँदैन। त्यहाँ विद्रोह हुन्छ र त्यहाँ उम्मेदवारी दिनुपर्छ।

गठबन्धनले मित्रवत् प्रतिस्पर्धा भन्ने शब्द राखेका छन्, त्यो आकर्षित हुन्छ ?
एकदमै। मित्रवत् प्रतिस्पर्धा सबैभन्दा ठूलो आजको आवश्यकता हो। स्थानीय तहको निर्वाचन संसारका धेरैजसो स्थानमा पार्टीको ब्रान्डमा लडिँदैन। नेपालको संविधानमा यो विषय राख्ने कि नराख्ने भन्नेमा छलफल हुँदा म पनि सहभागी भएको थिए। सामाजिक इकाइ हुन्छ त्यसले गर्दा यो राख्नु हुँदैन भनेर हामीले भनेका थियौं।  स्थानीय तहलाई राजनीतिक इकाइको रूपमा लैजाँदा समाजमा ठूलो द्वन्द्व ल्याउँछ भन्ने थियो। नेपाली समाजको एउटा परिपक्वता के थियो भने राजनीतिक रूपले जो जित्दा पनि पाँच वर्षका लागि स्थायी सरकार थियो। ललितपुरको मेयर कांग्रेसको र बहुमत एमालेको हुँदा खेरि पनि त्यो सहर राम्रोसँग चल्यो।  यहाँ उठ्न त पार्टीगत रूपमा उठ्छन्, तर जनतासँग जोडिने कुराहरू बहुमत अल्पमत, सरकार टिक्छ कि टिक्दैन भन्ने कुराहरू गौण थिए। यहाँ जसले जित्यो त्यसले सबैसँग मिलेर काम गरिरहेका थिए। अहिलेको अवस्थामा भागबन्डामा राजनीति घुसाइदियो। यसको सामाजिक सुन्दर पक्ष जुन थियो त्यसलाई नष्ट गरिदियो। अहिलेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो खुट्टामा बन्चरो आफैं हानेको छ। राजनीतिक दल भनेको त सबै ठाउँमा उम्मेदवारी दिन्छ, जित्ने ठाउँमा काम गर्छ हारेको ठाउँमा अर्कोलाई धन्यवाद दिन्छ हिँड्छ। खुरुक्क स्वच्छ र मित्रवत् प्रतिस्पर्धा गर्नुको साटो लेनदेन गरेर भागबन्डा गर्ने कामै होइन।

अहिलेको गठबन्धनले कसलाई फाइदा हुन्छ ?
यो गठबन्धन भनेकै एमालेसँग डराएर बनेको भन्ने म्यासेज नै गइसक्यो। राजनीतिमा एउटा म्यासेज हुन्छ, त्यही म्यासेजअनुसार जनताले अभिमत बनाउने हो। अहिलेको अवस्थामा नेपाली कांग्रेसले सन्देश नै गलत दिएको छ। कांग्रेस डरपोक पार्टी हो भन्ने सन्देश जानु यसले पक्कै पनि पार्टीलाई फाइदा गर्दैन। अहिले कांग्रेस डराउनु पर्ने कुनै कारण नै थिएन। ग्रासरुटमा नेपाली कांग्रेसको धेरै राम्रो थियो। गठबन्धन गरेर जुन निर्णय गरे यसले नेपाली कांग्रेस खुम्चिएको पार्टी, एमाले ठूलो पार्टी भन्ने सन्देश गएको छ। कांग्रेसले गठबन्धनको औचित्य पुष्टि गर्न सक्छन् जस्तो मलाई लाग्दैन। कांग्रेसको आधी ठाउँमा त उम्मेदवार नै नहुँदा त यसले भविष्यमा पार्टीलाई त ठूलो क्षति गर्छ। ५० प्रतिशत आफ्नो सिट कांग्रेसले ४ वटा अरू पार्टीहरूलाई दिएको छ। ती चार पार्टीहरू जतिबेला पनि एमालेसँग गएर मिल्न सक्छन्। हामी त्यता गएर मिल्छौं भनेर अस्तिसम्म त प्रचण्डले धम्क्याउँदै पनि थिए।

ललितपुरको मेयर कांग्रेसको र बहुमत एमालेको हुँदा खेरि पनि त्यो सहर राम्रोसँग चल्यो।

भनेको गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीसँग राजनीतिक नैतिकता भन्ने छैन ?
उनीहरूले नैतिकता त टुकुचामा बगाइसके। नैतिकता भन्ने कुरा यहाँ देखिएन। मूलकुरा लोकतान्त्रिक आन्दोलन यसले गर्दा अपांग भएको छ। अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई सम्हाल्नका लागि गठबन्धनको निर्णयलाई रिजेक्ट गर्नुपर्छ।

यो निर्णय रिजेक्ट हुने सम्भावना छ ?
निश्चित रूपमा यो निर्णयलाई ग्राउन्ड लेभलमा च्यालेन्ज गर्छन्। सबै ठाउँमा त नहोला तर धेरै ठाउँमा यसको विरुद्धमा च्यालेन्ज हुन्छ। ५–१० वर्षदेखि त्यो ठाउँमा बसेर मेहनत गरेकाहरूले कसरी मान्लान् र।

६ महानगर र ११ उपमहानगरको सम्भावित गठबन्धनको परिणाम के देख्नुहुन्छ ?
गठबन्धन गर्ने निर्णय प्रक्रिया असाध्यै अपारदर्शी छ। सातै प्रदेशका पार्टीका प्रमुखहरूलाई राखेर निर्णय प्रक्रियामा सहभागी गराएको भए राम्रो हुन्थ्यो। भर्खरै नेपाली कांग्रेसको १४औं महाधिवेशन पनि भएको छ। ती सबैलाई लत्याएर चार पाँच जना रिटायर्ड जस्ता कांग्रेसका नेताहरू बसेर आफ्नो सेकेन्ड इनिङ लाइफमा आफ्नो स्वार्थ हेरेर निर्णय गरेका छन्। उनीहरूले नेपाली कांग्रेसको बृहत् स्वार्थलाई संकुचित गरेका छन्। त्यसैले चुनावी परिणाममा यसले असर गर्छ। यसको चुनावी परिणाम ठ्याक्कै यस्तो हुन्छ भनेर त भन्न सकिँदैन, किनभने कुन साइजको विद्रोह हुन्छ त्यो हेर्न बाँकी छ। जुन माहोल कांग्रेसको पक्षमा थियो, त्यसलाई नेताहरूले बिगारेका छन्। फुटेको कम्युनिस्ट थियो, एमसीसी पास भएको थियो, कम्युनिस्टहरूको दुई तिहाइको सरकार पनि टिकेको थिएन, कांग्रेसप्रति मान्छेको आशा र भरोसा बढेको थियो। यस्तो निर्णय गरेर कांग्रेसको भविष्यमाथि तुषारापात गर्ने काम भएको छ।

यो गठबन्धन संघीय निर्वाचनसम्म जाला त ?
म यो सम्भावना देख्दैन। राम्रोसँग तालमेल गरेको भए पनि तीनवटै कम्युनिस्टहरू कुनै कुनै बिन्दुमा पुगेर एक ठाउँमा मिलिहाल्छन्। उनीहरूको माउ पार्टी एमाले नै हो, त्यहाँ जान निवेदन हालिरहेकै छन्। यो स्थानीय तहको निर्वाचनमा कांग्रेसको ठूलो प्रभाव क्षेत्रमाथि एमाले बाहेकको पार्टीले विस्तार गर्छ। त्यसपछि उनीहरूको बार्गेनिङ पावर बढ्छ र पछि ओलीसँग गएर मिल्छन्। यिनीहरू आफंै मिल्न सकेनन् भने उत्तरको छिमेकीले मिलाउँछ। अब आउने संघको निर्वाचनसम्म कि आफैं मिल्छन् होइन भने चीनले मिलाउँछ। यति त हामीले पनि राजनीति बुझ्छौं नि। त्यसैले नेपाली कांग्रेसले दूरदृष्टि राखेर काम गरेको भए अहिले यस्तो गल्ती गर्दैनथ्यो। अहिले पनि गल्ती सच्याउने ठाउँ छ, कांग्रेसले देशभरि उम्मेदवारी दिनुपर्छ। तालमेल र गठबन्धन आवश्यकता हो भने तल गर्छन्, वार्डमा गर्छन् केन्द्रबाट लाद्न पाइँदैन।

हामीले अभ्यास गर्नै जाने नै होइन ?
नेताहरूले पढेकै छैनन्। नेपाली कांग्रेसको विधानले कहीँ पनि उपमहानगरपालिकाको निर्णय केन्द्रलाई गर्ने छुट दिएको छैन। १४औं महाधिवेशनबाट यति ठूलो विधानअनुसार अभ्यास भयो संसारले यसलाई मानेको छ। तर पार्टीले त्यही विधानलाई धोती लगाइदिने काम गरेको छ। नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले आवश्यकताका आधारमा स्थानीयस्तरमा तालमेल भनेर ठीक निर्णय गरेको थियो।

शेरबहादुर देउवाले हामीसँग नमिल्दा एमालेसँग मिल्छन् भने आकलनले गर्दा यस्तो निर्णय गर्नु भएको होला नि ?
यो गलत कुरा हो। आज जान्छौं भनेर घुर्की लगाउनेहरू भोलि जाँदैनन् भन्ने के ग्यारेन्टी। आज कांग्रेसको बैसाखी टेकेर जितेपछि भोलि पनि उनीहरू जान्छन् भनेर झन् ठूलो भाग दिने त। आज नेपाली कांग्रेसलाई गठबन्धनको नाममा ५० प्रतिशत खुम्चाइएको छ भने भोलि ८० प्रतिशत खुम्च्याउन सक्छन्। त्यसकारण कांग्रेस धम्कीबाट घुक्र्याइबाट डराउने हो भने नेताहरूले नेतृत्व छाड्नुपर्छ।

उम्मेदवार नभए पनि चुनाव चिह्न त मतपत्रमा हुन्छ, यस्तो अवस्थामा मत बदर भयो भने त गठबन्धनको भविष्य के होला ?
तपाईंले भनेजस्तै मतदाताले उम्मेदवार नभेटे पनि मत पत्रमा रुख भेट्छन्। कांग्रेसको लगाव उम्मेदवार र चुनाव चिह्न रुखसँग पनि छ। कांग्रेस भनेको रुख चुनाव चिह्न भनेको ब्रान्ड नै भइसक्यो। उसले त्यहाँ गएर गठबन्धनका अन्य चुनाव चिह्नमा हाल्न निकै गाह्रो पर्छ। म आफैं रुखबाहेक अरुमा भोट हाल्दिनँ। यहाँ तालेमल होस् कि नहोस् मलाई मतलव छैन। मजस्ता त लाखौं कांग्रेसका कार्यकर्ताहरू छन्। यो सेन्टिमेन्ट नेपाली कांग्रेसको नेतृत्वले बुझेन भन्ने मात्रै हो।

पार्टी राजनीतिका कुरा गरौं।
दुई जना युवा महामन्त्रीको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
दुवै युवा महामन्त्रीको आवाज अहिले सुस्तसुस्त मन्द गतिमा छ। गगनको महामन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ छैन। विश्वप्रकाशको पनि म सुन्दै छु। तर संगठित रूपमा नेपाली कांग्रेसलाई हामी यहाँ लैजान्छौं, हामीमाथि विश्वास गर्नुस् भनेर वैकल्पिक प्रस्तावहरू अगाडि सार्नुपर्ने थियो।
उहाँहरूले भीडको कुरा मात्रै गरेको जस्तो लाग्दैन ?
उहाँहरूले भीडको कुराभन्दा पनि कांग्रेसको चुरो कुरालाई नबोलेको रूपमा मैले बुझ्छु। गगन थापा अहिले सबैभन्दा बढी व्यस्त, घोषणापत्र निर्माण गर्ने कुरामा छन्। घोषणापत्रमा यति धेरै समय खर्च गर्नुपर्ने कुरा नै थिएन। घोषणापत्र एक दिनमै बन्छ। काम गर्ने इमान्दार मान्छेका लागि यत्रो जम्बो कमिटी बनाएर बस्नै पर्दैन। नेपालको समस्या समाधानका लागि स्थानीय तहले कसरी भूमिका खेल्ने भनेर घोषणापत्र बनाउँदा हुन्छ। नेपाली कांग्रेसले त स्थानीय तहलाई सहजीकरण गर्ने गरी घोषणापत्रमा उल्लेख गरे पुग्छ। हामी बाटो बनाउँछौं, हामी जागिर दिन्छौं भनेर घोषणापत्रमा लेखिरहनु पर्दैन।

नेपाली कांग्रेसमा अहिले फेरि गुटका कुराहरू क्रमशः अघि बढ्न थाल्या हो ?
चुनावका बेला आफ्ना आफ्ना लाइट माइन्डेट गुटहरू स्वाभाविक हुन्छन्। त्योभन्दा ठूलो कुरा बृहत् डेमोक्रेटिक कल्चर र भ्यालुलाई जोगाउने चासो सबैबाट कभर हुन्छ। कतिपय कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा गठबन्धन भएन भने संघको निर्वाचनमा हुँदैन भन्ने पनि लागेको होला। संघको निर्वाचनमा गठबन्धन भएन भने त म प्रधानमन्त्री बन्दैन भन्ने पनि लागेको होला। कतिपय नेताहरूलाई अहिले गठबन्धन गरेन भने भोलि म त्यो जिल्लाबाट उठ्दा चुनाव हार्छु भन्ने डर पनि होला। गुट स्वाभाविक भए पनि गुटहरू वैचारिक बहसमा उत्रिएर के ठीक के बेठीक भन्ने कुरामा केन्द्रित हुनुपर्छ। गुट चाहिन्छ। गुटले बोर्डर भ्याल्यु बोकेको खण्डमा नयाँ कुरा आउने हो नि। अहिलेसम्म कांग्रेसको शेखर गुटले गठबन्धनलाई रिजेक्ट गरिरहेका छन्। भोलि उम्मेदवारी दर्तापछि के हुन्छ त्यो म भन्न सक्दिनँ, त्यसले देशभर रहेका जो उम्मेदवार हुन चाहने कांग्रेस नेताहरू यो गुटसँग त जोडिए नि। अहिले कतिपय ठाउँमा कांग्रेसले यहाँ टिकट नै दिँदैन भने यहाँ किन बस्ने भनेर अन्य पार्टीमा गएका कुराहरू पनि आएका छन्। त्यसैले असन्तुष्टहरूलाई हामी पनि केन्द्रमा तिमीहरूजस्तै पीडित छौं भनेर पार्टीमा टिकाउनका लागि पनि गुटको आवश्यकता छ।