देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उदयपुर छात्रा हत्या प्रकरणमा सहपाठीसहित २ जना पक्राउ

देशान्तर

काठमाडौं – उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताए ।

वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका एक उच्च अधिकृतले भने, ‘मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाव रहेछ, त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको पाइएको छ ।’

प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । ‘विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्‍याउन भन्दै गएका थिए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको छ ।’

प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ । शवलाई पोष्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ ।