देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उखु नहुँदा समय अगावै चिनी मिल बन्द

देशान्तर

रौतहट । रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजले यस वर्ष ६ लाख क्विन्टल उखु क्रसिङ गरेको छ ।

उद्योगले पुसदेखि फागुनसम्मको अवधिमा मिलले सो परिणामको उखु क्रसिङ गरेको हो । दैनिक २० हजार क्विन्टल क्रसिङ गर्ने मिलको क्षमता भएपनि उखु अभावका कारण ६÷७ हजार मात्र क्रसिङ गरेको मिलका सञ्चालक बैजु प्रसाद बाबराले बताए । उखु खेति गर्ने कृषकको संख्या कम हुँदै गएका कारण मिलले अपेक्षाकृत उखु पाउन नसकेको उनको गुनासो छ ।

उनका अनुसार खेति गरेका केहि कृषकले मिल सञ्चालन हुनु अघि नै खाँडसरी उद्योगलाई दिएका थिए । वैशाखसम्म क्रसिङ गर्ने योजना भएपनि अपेक्षाभन्दा कम उखु आएका कारण समय अगावै मिल बन्द गर्नु परेको उनको भनाइ छ । पछिल्ला वर्षमा पर्याप्त उखु नपाएकै कारण क्षमताभन्दा कम क्रसिङ गर्दै मिल बन्द हुने गरेको छ ।

उनका अनुसार यस पटक भने जिल्लामा नै उखु कम उत्पादन भएको छ । ‘मिलमा उखु आउनै छोड्यो’, उनले भने, ‘समयअघि नै मिल बन्द गर्नुपर्‍यो ।’ चैत मसान्त वा वैशाखको दोश्रो सातासम्म पनि मिल सञ्चालनमा ल्याउन नपाउँदा वर्षेनी घाटा व्यर्होनु परेको उनको भनाइ छ ।

प्रत्येक वर्ष २० देखि २५ लाखसम्म क्रसिङ गर्ने लक्ष्य राखेको भएपनि ६ लाख क्विन्टल मात्र उखु क्रसिङ गरेर बन्द हुँदा उद्योग घाटामा गएको हो । उखु नपाएकै कारण मिलले घाटा व्यर्होन थालेपछि कृषकलाई खेतिमा प्रोत्साहित गर्न बाबा बैजुनाथ चिनी मिलले विभिन्न योजना ल्याएको छ । उखु उत्पादनको वृद्धि र विस्तार गर्नेका लागि मिलले बीउ, मल, औषधी तथा समय समयमा प्राविधिक सल्लाह कृषकलाई दिंदै आएको छ ।

उखु काट्नेदेखि ढुवानीसम्मको सुविधा भएको केन हार्बेस्टर (आधुनिक मेसिन) मिलले खरीद गरेर किसानलाई जिम्मा दिइसकेको छ । अगामी वर्षमा उखु खेति विस्तार हुँदै जाने र लक्ष्यअनुसार उखु क्रसिङ्ग हुने उद्योगले अपेक्षा गरेको छ । अन्य चिनी मिलले भुक्तानी समयमा नदिने गरेपनि यो उद्योगले कृषकको रकम समयमा नै भुक्तानी दिने गरेको उद्योग प्रशासनले दावी गरेको छ ।

उखु खेतिबाट निराश भएका कृषकलाई प्रोत्साहित गर्ने विभिन्न योजना ल्याएमा कृषकको संख्या फेरि बढ्न सक्ने उखु उत्पादक संघ रौतहटले बताएको छ । गरुडास्थित श्रीराम सुगर मिल एक वर्षअघि नै बन्द भइसकेको छ । अहिले जिल्लामा बाबा बैजनाथ चिनी उद्योग मात्र संचालनमा छ ।