देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित, पदाधिकारी चयनमा विवाद

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अन्ततः स्थगित गरिएको हो । बैठकको तयारी नपुगेको र नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएको भन्दै बैठक स्थगित गरिएको एक नेताले बताए ।

आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै परिवर्तन गरेर तय गरिएकामा फेरि सोमबारसम्मका लागि स्थगित गरिएको हो । अर्को बैठक अब सोमबार बिहान ११ बजे बस्ने तय भएको एक नेताले जानकारी दिए ।

शुक्रबारदेखि शुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । सो क्रममा एमसीसी पास गराउन पार्टीले गरेको सहयोगको श्रेष्ठले आलोचना गरेका थिए भने प्रचण्डले बचाउ गरेका थिए ।

आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा केन्द्रीय कमिटीको पूणर्ता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ । तर, पदाधिकारी चयनका सम्बन्धमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक नै स्थगित भएको बताइएको छ ।

पदाधिकारीमा त्यसमा पनि महासचिवमा माओवादीभित्र हानथाप छ । तर आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा सकस देखिएको छ । माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतको दाबेदारी छ ।

माओवादी केन्द्रको पदाधिकारीमा एक जना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ । तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमै सबैको चासो देखिएको हो ।