देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसीमा नांगिएको कम्युनिस्ट राष्ट्रवाद 

देशान्तर

नेपालको राजनीतिमा नैतिकताको स्खलनको बेग उच्च छ । नैतिकताबिनाको राजनीति एक प्रकारले ‘पोलिटिकल प्रोस्टिच्युसन’ नै हो ।  विश्व राजनीतिमा कम्युनिस्ट भनिने पार्टीहरू पतनको दिशामा जानुमा नैतिकता र दोहोरो चरित्र पनि कारक हो । यति भनेसकेपछि अब विषय प्रवेश गरौं । यहाँ चर्चा गर्न खोजिएको विषय हो भर्खरै नेपालको संसद्ले अनुमोदन गरेको अमेरिकी सहयोग परियोजना (एमसीसी)को सन्दर्भमा देखिएका दृश्य र त्यसले प्रवाह गरेका सन्देशहरूको ।

एमसीसी पारित मात्र भएन, यो प्रक्रियामा कम्युनिस्ट पार्टीहरूले देखाउँदै आएको राष्ट्रवादको नक्कली नाराको सक्कली अनुहार पनि मुखरित भयो ।

उदांगिएको कम्युनिस्ट बिभ्रम
संसारभर कम्युनिस्टलाई चिन्न एउटै सूत्रले काम गर्छ । राजनीतिमा ‘डबल स्ट्यान्डर्ड’ को कुरा गर्ने, भ्रमको खेती गर्ने र नभएको कुरामा पनि स्याल हुइँया मच्चाउनु उसको असली चरित्र हो । अझ त्यसमाथि आफ्ना विरोधी र मन नपरेकाहरूलाई गद्दार, दलाल, राष्ट्रघाती करार गर्नु उसको अन्तर्राष्ट्रिय चरित्र हो । अमेरिकी सहयोग परियोजना एमसीसीमा माओवादी केन्द्र, एकीकृत समाजवादीले देखाएको चरित्रले उनीहरूको वास्तविक अनुहार नेपाली समाजले प्रष्ट चिन्ने अवसर पाएको छ । एमसीसी संशोधन बिना पारित गर्न सकिन्न, गम्भीर राष्ट्रघात छ भन्ने आलाप गरेका उनीहरू अन्तिममा कसरी भाका फेर्न तयार भए ? उनीहरूले नमान्दा राष्ट्रघात, मानेपछि राष्ट्रिय हितमा हुने हो ? आज नेपाली जनता र कम्युनिस्ट पार्टीकै कार्यकर्ताहरूले प्रश्न गरिरहेका छन् ।

नयाँ बानेश्वरको सडकमा कार्यकर्तालाई प्रहरीसँग भिडाएको नेतृत्व आफू भने संसद् भवनभित्र निहुरी मुन्टी ‘न’ भएर एमसीसी अनुमोदनमा भद्र सहमति गर्दै थियो । त्यो दिनको दृश्यले नेपालका कम्युनिस्टहरूको दोहोरो चरित्रलाई सदा स्मरण गराइरहनेछ । उसो त नेपालका कम्युनिस्टहरूले यस्तो दोहोरोे चरित्र पटकपटक देखाउँदै आएका छन् । भारत विरोधी  गतिविधि गर्दिनँ भन्दै दिल्लीमा पत्र बुझाएर, दिल्लीकै शरणमा बसेर माओवादीहरूले नेपालका गाउँघरमा ‘भारतीय विस्तारवाद मुर्दावाद’को नारा एक दशक लेखिरहे । विकास निर्माणका काममा पनि राष्ट्रवादको जलप लगाएर राष्ट्रघात हुने काममा पनि उनीहरू सक्रिय रहे । त्यस्तै अरुण तेस्रो विफल बनाउन उनीहरूले गरेको प्रयत्नबारे पनि नेपाली जनता जानकार नै छन् ।

एमसीसी पारित भएपछि जस लिन प्रचण्ड, माधव नेपाल र केपी ओलीले हतारहतार पत्रकार सम्मेलन गरे । तर, के कारण हिजो त्यही एमसीसी राष्ट्रघाती थियो र आज के कारण राष्ट्रहितमा भएर पारित भयो जनतालाई चित्त बुझ्दो जवाफ दिन सकेनन् । संसद्मा न विरोध न समर्थनको अवस्थामा एमालेको भूमिका पनि इतिहासमा दर्ज भइसकेको छ ।
नक्कली नारा,नक्कली पारा

कागले मयूरको प्वाँख लगाएर जति नाचे पनि काग काग नै रहन्छ । गधालाई जति धोए पनि गाई बन्न सक्दैन । त्यस्तै, कहिले हिंसामा भड्किने त कहिले नक्कली नारा र नक्कली पाराका नेपाली कम्युनिस्ट जनतालाई भ्रममा राख्दै स्वार्थको रोटी सेक्न सफल छन् । तर, विस्तारै चेतनाको तह बढेसँगै यस्ता भ्रमका पर्दाहरू च्यातिँदै गएका छन् ।

कम्युनिस्टहरूको साम्राज्य फैलाएको कुनै बेलाको सोभियत संघ अहिले टुक्राटुक्रामा विभाजित भयो । अहिले पनि पुरानो सोभियत संघको लिगेसी बोकेर विश्व मानचित्रमा रसिया खडा छ ।  त्यही रसिया अहिले आफ्नो छिमेकी युक्रेनविरुद्ध जाइलागेको छ । छिमेकमा रहेको एउटा सार्वभौम मुलुकको सार्वभौमिकतामाथि रुसले गरेको आक्रमणमा नेपालका कम्युनिस्टहरू मौन छन् । जबकि कम्युनिस्ट विचार राख्ने भेनेजुयलामाथि आक्रमण हुँदा यताका कम्युनिस्टहरूको चिच्याहट थियो । चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको २०७२ वैशाख १२ को भूकम्पपछि हो । तर, त्यसपछि बनेका कम्युनिस्ट प्रधानमन्त्रीले त्यसविरुद्ध चुइँक्क बोलेनन् ।

युक्रेन मामिलामा दोग्ला कम्युनिस्ट ,प्रस्ट कांग्रेस
कुनै बेला चीनमा पानी पर्दा नेपालका कम्युनिस्टहरू छाता ओढ्छन् भनिन्थ्यो । अहिले युक्रेनमाथिको रुसी आक्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले निडरतापूर्व सत्यको पक्षमा उभिने साहस गरेको छ । युक्रेनमाथि रुसी आक्रमणको विरोधमा उत्रने साहस स्वागतयोग्य छ । युक्रेन मामिलामा ठुला भनिएका छिमेकी चीन र भारतले दोग्ला प्रवृत्ति देखाइरहेका छन् । सत्यको पक्षमा उभिन नसक्नजे ती देश भूगोलले जतिसुकै ठुला हुन्, सत्य र न्यायको पक्षमा च्यूत हुन पुग्दा सगरमाथाको देश नेपालले लिएको निर्णयले विश्व राजनीतिमा नेपाल देशको गरिमा बढाएको छ । उसो त इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बेलामा पनि तत्कालीन प्रधानामन्त्री बीपी कोइरालाले लिएको निर्णयको अहिले पनि स्मरण गरिन्छ ।

रुस र युक्रेनलाई वार्तामार्फत नै शान्ति स्थापनाका लागि नेपालले आग्रह पनि गरेको छ । कांग्रेस नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र मानवअधिकारको बर्खिलाप जाने रुसको विपक्षमा उभिएर आफूलाई शान्ति र न्यायको पक्षमा खडा गर्ने निर्णय इतिहासले स्मरण गरिरहनेछ । सँगैमा कम्युनिस्ट राष्ट्र भएकाले आक्रमणकारी रुसप्रति सहानुभूति राख्ने यहाँका कम्युनिस्टको ‘फुटनोट’ पनि सँगैमा रहनेनै छ । भारतविरोधी राष्ट्रवादको नारा लगाएर हुर्किएका,  चीन र रुसप्रति जन्मजात पक्षधर नेपालका कम्युनिस्टहरू घरेलु मामिलामा मात्र होइन अन्तर्राष्ट्रिय मामिलामा पनि दृष्टिकोणविहीन हुन पुगेका छन् । नेपाली जनताले अब पनि को सक्कली र को नक्कली छुट्ट्याउन ढिलो गरे देश बुम्राङमा पर्ने खतरा छ ।