देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारको लक्ष्य

देशान्तर

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताए।

आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताए। उनले पाँच वर्षभित्रमा झन्डै ३१५ मिटर प्रसारण लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर देशको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासलाई अघि बढाउनतर्फ सरकार रहेको बताए।

उनले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरूले अब एमसीसी समयमै सक्नका लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरे ।

मन्त्री कार्कीले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने बताए । उनले आजको बैठक अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भूमिका र संसद् अवरोधका बारेमा छलफल केन्द्रित भएको बताए ।

मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, हवाई उड्डयन जस्ता विधेयकहरूको बारेमा पनि छलफल भएको जानकारी दिए । त्यस्तै आजको बैठकमा आउँदो आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको उनले बताए ।

मन्त्री कार्कीले यो गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकाले अझै अघि बढ्ने बताए । उनले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसीसीबाट जनतालाई रोजगार बनाउने बताए ।