देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसी कार्यान्वयनमा ध्यान दिऔं : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग (एमसीसी)सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनको प्रक्रियामा सहयोगी सबैलाई धन्यवाद प्रकट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनमा सहयोग पुर्‍याउने सबै राजनीतिक दल र नेताहरूलाई धन्यवाद व्यक्त गरेका हुन् ।

‘हामी सबै एक ठाउँमा उभिएर एमसीसी अनुमोदन गरेका छौँ । अनुमोदनको प्रक्रियामा जसरी हामी सबै एक ठाउँमा उभिएका छौँ, अब यसको कार्यान्वयनमा समेत हामी सबै एक ठाउँमा उभिनुपर्नेछ,’ बैठकमा प्रधानमन्त्री देउवाले भने ।

बैठकमा एमसीसी अनुमोदनका क्रममा गठबन्धनमा उत्पन्न खटपटको समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा भएको बताए ।

सत्ता गठबन्धनमा लामो छलफल र रस्साकस्सीपछि आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो ।

बिहीबारको बैठकमा प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित उच्चस्तरीय राजनीतिक समन्वय समितिमा संलग्न नेताहरू सहभागी थिए ।