देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूतको मन्त्र जपेर देउताको दर्शन पाइन्नँ  

देशान्तर

यो हो, विसं १९९७ मा नेपालको पहिलो जनविद्रोहको शंखघोष गर्ने प्रजापरिषद्का नेता तथा अमर सहिद दशरथ चन्दको कालजयी उक्ति ।

त्यसको सोझो अर्थ हो– राजनीतिमा लाग्ने सबैको आदर्श र सिद्धान्तमा स्पष्टता हुनुपर्छ । विचारमा स्पष्टता नभएको नेतृत्वबाट पार्टी र सत्ताकब्जा त हुन सक्ला तर राष्ट्रलाई दिशाबोध गराउने काम भने हुन सक्तैन । एउटा आदर्श बोकेर राजनीति गर्ने, त्यसैप्रति प्रतिबद्धता पनि व्यक्त गर्ने अनि जब सत्ता प्राप्त गर्ने अवसर उपलब्ध हुन्छ, तब अर्को सिद्धान्त लागू गराउन कटिबद्ध भएको स्वांंग रच्नेहरूले समाज र राष्ट्रलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन सक्तैनन् । त्यस्तो सिद्धान्तहीन तथा अवसरवादी राजनीति, सत्ताका निम्ति सर्टकट सावित हुन सक्छ तर अग्रगामी तथा युगान्तकारी परिवर्तनको द्योतक हुन सक्तैन ।
त्यो कसौटीमा नेपालका राजनीतिकर्मीको परख गर्ने हो भने सबै पार्टीका नेताहरू आज पनि कौवाले कान लग्यो भनेको सुन्नेबित्तिकै आफ्नो कान नछामी कौवाको पछि दगुर्ने कथाका पाखण्डी पात्रभन्दा भिन्न छैनन् भन्नै पर्ने हुन्छ । त्यही कारण उनीहरूमा चरित्र र नैतिकताको नितान्त अभाव देखिएको हो । नेपाली समाजमा व्याप्त विकृति र विसंगति त्यसैको प्रतिबिम्ब हो ।

त्यसको थप उदाहरण हो– लोकतन्त्रको जडौरीप्रतिको मोह । लोकतन्त्र भनेको भारतमा चलेको अंग्रेजी डिमोक्रेसीको हिन्दी रूपान्तरण हो । त्यही शब्दको नेपालीमा अनुवाद प्रजातन्त्र र पाकिस्तानमा जन्हुरियत हुन पुगेको हो । हाम्रा संस्थापक नेताहरूले लोकतन्त्र नभनेर प्रजातन्त्र शब्द, प्रयोग गर्नुको कारण भारत र नेपाल, दुई अलग तथा स्वतन्त्र अस्तित्व, भाषा र संस्कृतिका देश हुन् भन्ने तथ्यलाई व्यवहारमा लागू गर्न बडो सुझबुझका साथ चलनचल्तीमा ल्याएका हुन् । पाकिस्तानमा अहिले पनि उर्दूमा जम्हुरियत नै छ । तर नेपालमा बाह्रबुँदे दिल्ली सम्झौतापछि प्रजातन्त्र गयो र भारतमा जे चलेको छ, त्यही लोकतन्त्र नेपालमा आयो ।

प्रजातन्त्र र लोकतन्त्र दुवै शब्द, संस्कृतबाट आएका हुन् र नेपाली र हिन्दीमा प्रयोग भएका हुन् । ती दुवै अंग्रेजी– डेमोक्रेसी शब्दका अनुवाद हुन् । बेलायतमा डिमोक्रेसी छ । अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि डिमोक्रेसी अर्थात् प्रजातन्त्र नै छ । फ्रान्स, जर्मनी, इटाली, स्विटजरल्यान्ड र जापानमा पनि डिमोक्रेसी छ । त्यस्तै अफ्रिका र ल्याटिन अमेरिकामा पनि छन् । उनीहरूका आ–आफ्ना भाषामा बेग्लाबेग्लै नाम रहेका छन् । तर आफ्नो भाषाको पहिचान छाडेर कसैले पनि अरूको नामको अनुसरण गरेका छैनन् । नेपाल मात्र अपवाद हो ।

नेपाली कांग्रेसलगायत सात संसद्वादी दल र संसदीय प्रजातन्त्र ध्वस्त पार्न कथित् जनयुद्ध गरेको माओवादीसमेतले बाह्रबुँदे दिल्ली सम्झौता गरेपछि आफ्नो नयाँ जनवाद छाडेर भारतको लोकतन्त्र अपनाएकाले त्यसै बेलादेखि नेपाली स्वाभिमान घाइते हुन पुगेको हो । संसद्वादी हुन् वा माओवादी, सबैले आ–आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न आफ्ना देशका जनताको जिब्रोमा टाँसिएको प्रजातन्त्र त्यागेर लोकतन्त्र अपनाएका हुन् भन्नेमा कुनै शंका छैन । तर यो देशका बुद्धिजीवी, प्राध्यापक, शिक्षक र पत्रकारले पनि त्यही दोहो¥याए, जुन नेताहरूले दिल्लीदेखि बोकेर ल्याएका थिए । त्यसमाथि कसैले चुँक्क बोलेनन् । के कारण नेपाली पहिचान मेटेर भारतीय पहिचान कायम गर्नु प¥यो, त्यो प्रश्न कसैले उठाएनन् । सबैले आफ्नो कान नछामी कौवाका पछाडि दौडिने होडमा आफूलाई सामेल तुल्याए । पढेलेखेका र समाजका सचेत मानिएका पत्रकारहरूले समेत त्यस्तो संवेदनशील विषयमा प्रश्न उठाएर जनतालाई सुसूचित गरेनन् भने सर्वसाधारण जनताले महाजनो यन गता, सःपन्था भनेर उनीहरूलाई पछ्याएकोमा केको आश्चर्य !
उन्नाइसौंं शताब्दीका एकजना राजनीतिक शास्त्रका बेलायती प्रोफेसरले भनेका थिए, कुनै पनि देशका जनता जस्ता हुन्छन्, उनीहरूले शासक पनि त्यस्तै पाउँछन् । अर्थात् जहाँका जनता जति सचेत र जागरुक हुन्छन्, त्यहाँका शासकलाई पनि जनउत्तरदायी बन्न करै लाग्छ । देशबाट प्रजातन्त्र गएर लोकतन्त्र आएपछि तिनकै चकचकी चल्यो, जसले त्यसलाई ल्याउन काम गरेका थिए । त्यसपछि के भयो ? त्यसको अध्ययन गर्ने फुर्सद कसैलाई भएन, किनभने उनीहरू पनि आफ्नो भाग बटुल्न व्यस्त भए ।

त्यसदेखियता जे भयो, त्यो इतिहास भइसकेको छ । त्यसको पाना मात्र पल्टाउनुपर्छ, घटनाहरू आफसे आफ प्रकट हुँदै जान्छन् । सन् १७९१ मा फ्रान्सको राज्यक्रान्तिपछि संविधान बनाउन जनताद्वारा निर्वाचित नेसनल एसेम्बलीको पहिलो बैठकको पहिलो निर्णय थियो– फ्रान्सको महान् क्रान्तिका लागि आफ्नो जीवन न्यौछावर गर्ने सम्पूर्ण सहिदप्रति कृतज्ञ राष्ट्रका तर्फबाट यो बैठक भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।” नेपालमा पनि लोकतन्त्रले पुनस्र्थापित गरेको प्रतिनिधिसभाको पहिलो बैठकको पहिलो निर्णय थियो– नेपालको नागरिकता ऐनको संशोधन । त्यो ऐन लागू भएपछिको चार महिनाभित्र ५० लाखले नागरिकता पाएको विषयको ठूलो विरोध भयो । नागरिकता वितरण खुलेको दुई महिनामै त्यत्ति धेरै संंख्यामा कसरी वितरण भयो ? अनागरिकले पनि नागरिकता पाए भनेर सरकारको व्यापक आलोचना भयो । त्यसपछि गृह मन्त्रालयले पहिलो पल्टको सूचनामा २६ लाखले मात्र लिएको हो, ५० लाख होइन भन्यो भने दोस्रो विज्ञप्तिमा ४१ लाखले नागरिकता लिएको स्वीकारेको थियो ।

एकथरी लोकतन्त्रवादीले पहिलो मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला त्यो आन्दोलनको ऊर्जा नै नवागन्तुक नागरिक भएको आक्षेप लगाएका थिए । संविधानसभाले बनाएको संविधानको विरोधमा उठेको दोस्रो ठूलो मधेस आन्दोलनमा पनि उनीहरूकै निर्णायक भूमिका रहेको आरोप, उत्तिबेला सरकारमा रहेका नेताहरूले लगाएकै हुन् । अब त उनीहरू जन्मसिद्ध नागरिक भएर मात्र नपुगेर वंशजको आधारमा पाउनु पर्ने माग गर्दैछन् । कांग्रेस, कहिले उताको नजिक देखिन खोज्ने, कहिले यताको साखुल्य बन्न खोज्ने दोहोरो चरित्रले यता न उताको भएको तथ्य, निर्वाचन परिणामले देखाएकै हो । कांग्रेसले विगतको निर्वाचनमा जुन नियति झेल्नुप¥यो, आगतको निर्वाचनमा पनि भोग्नु नपर्ने कुनै आधार निर्माण भएको छैन । कम्युनिस्ट अहिले अवश्य विभाजित छन् तर कांग्रेसले जित्ने अवस्था आएमा फेरि मिल्दैनन् भन्ने पनि छैन । किनकि कांग्रेस र कम्युनिस्ट आफ्ना लागि राजनीति गरिरहेका छन् भने उनीहरूलाई नचाउनेको पनि बेग्लै दाउ हुनु स्वाभाविक हो ।

नेपालका कम्युनिस्ट, माक्र्सवादी होइनन्, लोकतन्त्रवादी हुन्, कांग्रेस पनि प्रजातन्त्रवादी होइएला भनेर लोकतन्त्रको मन्त्र, त्यसैगरी जप्न बाध्य छ, जसरी नयाँ मुसलमान प्याज धेरै खानमा बदनाम छ । सिद्धान्तका प्रति आस्था र निष्ठा त्यसैले उनीहरूमा नदारत हुन पुगेको स्वतः स्पष्ट छ । नेपाल अगाडि बढेको छैन । बाटो, पुल, ठूला सहर बन्नु र केहीको आर्थिक स्तर बढेर जीवनशैलीमा परिवर्तन आउनु परिवर्तनको लक्षण र प्रमाण दुवै होइन । आर्थिक विकासको आफ्नै डाइनामिजम् हुन्छ । नीति, नियम र गति त्यसले आफैं निर्धारित गर्छ । त्यसैले भौतिक विकास मात्र विकासको नापो होइन र हुन पनि सक्तैन । हिजोआज राष्ट्रिय एकताका आधार र पहिचान जुन गतिमा ध्वस्त हुँदै गएका छन्, तिनले अबको २० देखि ३० वर्षभित्र हाम्रो देशको नाम त नेपाल नै रहँला, आवधिक निर्वाचन पनि होला तर त्यस्तो सरकार हाँक्ने व्यक्ति भने अरू नै हुनेछन् । कसैले चाहे पनि नचाहे पनि त्यो दिशामा देश अघि बढिसकेको छ ।

त्यो दिशा परिवर्तन आजको खाँचो हो । नेपाली पहिचान जोगाउन सबैभन्दा पहिले लोकतन्त्रको चाकडी पुर्‍याउने र प्रजातन्त्र दिवस पनि मनाउने पाखण्डको अन्त्य गर्नुपर्छ । अनि मात्र “भूतको मन्त्र जपेर देउताको दर्शन पाइन्नँ” भन्ने उक्तिलाई आत्मसात् गरेको पुष्टि हुनेछ ।