देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा ९४ लाख ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

देशान्तर

काठमाडौ । नेपालमा अहिलेसम्म दुई करोड १२ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ रहेको छ । यस्तै पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा गत माघदेखि खोप लगाउन थालिएको हो ।

एक वर्षको अवधिमा नेपालमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना खोप प्रयोग गरिएको छ । १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ ।

नेपालमा हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा खोप आइसकेको मन्त्रालयले जनाएको छ । नेपाल सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो ।

विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ । यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको मन्त्रालयले जनाएको छ ।