देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरमा नक्कली रिपोर्टवालाको बिगबिगी

देशान्तर

काठमाडौं । नेपालकै सबभन्दा पुरानो र ठूलो अस्पताल वीरमा सरकारले कर्मचारी समायोजन गर्दा स्थानीय तहमा खटाइएका कर्मचारीहरु नक्कली मेडिकल रिपोर्टको सहारामा कमाऊ धन्दा हुने भण्डार र खरिद शाखामा कब्जा जमाउन सफल भएका छन्, यसमा समाजवादीका मन्त्रीको संरक्षण रहेको बुझिएको छ, त्यसले गर्दा वीरमा ‘नक्कली रिपोर्टवालाको बिगबिगी’ भन्ने पदावली आम कर्मचारीको मुखमा झुण्डिएको छ । तर वीरको व्यवस्थापन यसमा नतमस्तक भएर हेरेको हेर्‍यै छ ।

ती कर्मचारीहरु समायोजन हुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीले संघमै रहनका लागि मेडिकल बोर्डबाट कीर्ते कागजपत्र तयार गरेका हुन् । हाल उनीहरू वीर अस्पतालको भन्सार भनेर चिनिने स्टोर र खरिद अड्डामा बसेर व्यापक भ्रष्टाचार गरिरहेका छन् ।

तीन सदस्यीय बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एक पटक पुनः जाँच गरेमा त्यो रोग लागेको नभेटिने मेडिकल बोर्डकै एक पदाधिकारी बताउँछन् ।

बोर्डबाट वीरकै १५ जनाभन्दा बढी सिफारिस स्वास्थ्य समूहका कर्मचारी छन् । ‘स्रंोतका अनुसार यी स्वास्थ्यका कर्मचारीमध्ये ९५ प्रतिशत फर्जी बिरामी फेला पर्नेछन् । तन्दुरुस्त भएर पनि नक्कली बिरामी बनेकाहरूको पुनः एकपटक स्वास्थ्य जाँच गर्ने हो भने बोर्डको बदमासी छर्लंग हुनेछ’ उनले भने ।

वीर अस्पतालका कर्मचारीहरूमा अहेब अरुणकुमार महतो, स्वास्थ्यमन्त्री निकट विष्णु फुयाँल, सविता जोशी, अरुणकुमार महतो, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, शंकर झालगायत छन् । यिनीहरू दैनिक रूपमा भक्तपुर, बालाजु, बूढानीलकण्ठजस्ता स्थानबाट पल्सर मोटरसाइकलमा आउँछन् । दिनमा दसौं पटक वीर अस्पतालको चार तला उक्लने र झर्ने पनि गर्छन् ।

अस्पतालले आयोजना गरेको खेलकुद कार्यक्रममा पनि भाग लिन्छन् । तर उनीहरूले कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेस गरेका छन् । र, स्थानीय तहमा नजान उनीहरूले यस्तो झुटो बिरामीको नाटक गर्दै आएका छन् ।

वीर अस्पतालका अहेब टीकाराम पनेरूलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन । उनी हरेक दिन वीर अस्पताल आउने जाने गर्छन् । पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर रिपोर्ट बनाएका छन् । उनी आफूलाई कांगे्रस स्वास्थ्यकर्मी संघअन्तर्गत कोही नेता निकट हँु भन्दै स्वास्थ्य मन्त्रालयकोमा पहुँच र मेडिकल माफियालाई भनेर वीर अस्पतालमै बसी मेडिकल स्टोरको जिम्मा लिई राखेका छन् ।

पनेरु हाल विभिन्न मेडिकल व्यापारीसँग बिभिन्न नाममा चन्दा उठाइरहेका छन् । उनी अहिले प्रधानमन्त्री कार्यालयमा कार्यरत दीपक भट्टको नाम लिँदै चन्दा उठाइरहेका छन ।

उनी वीर अस्पतालकै निर्देशकलाई समेत टेर्दैनन् र थर्काउने गरेका छन् । उनले वीर अस्पतालको सरसफाइ गर्ने टेन्डर पनि आफू निकटलाई दिलाई अस्पतालको सुपरभाइजर आफ्नै पार्टनर मिनालाई बनाएका छन् । केही दिनपहिले अस्पतालले सुरक्षा गार्ड टेन्डर गर्दा पनेरुले २५ लाख कमिसन लियर आफू निकटलाई दिन अस्पताल प्रशासनलाई दबाब दिएका थिए । आफू निकटलाई दिन नपाएपछि उनले सो टेन्डर नै रद्द गराउन सफल भएका थिए ।

पनेरु कतिसम्म गद्दार छन् भने अस्पताल फार्मेसीमा म्याद सकिन लागेको ९० लाखको औषधि बिना आदेश मगाएर म्याद सकिएपछि सो औषधिलाई फिर्ता नगरी अस्पताल निर्देशक र प्रशासनलाई लेखा प्रमुख लोकबहादुर बोहोरासँग मिलेर व्यापारीलाई पैसा तिर्नुपर्छ भनेर दबाब दिइरहेका छन् । उनको उद्देश्य अस्पताल सुधारभन्दा अस्पतालका केही भ्रष्टाचारी समूहका लुइँटेलसँग मिलेर कमाउ धन्दाको सञ्जाल विस्तार गरेको निर्देशक कार्यालय स्रोत बताउँछ ।

व्यापारीसँग मिलेर स्टक सामानको जानकारी दिने एक पैसामा टेन्डर फाराम भर्न लगाउने सोबापत करोडाैं कमिसन लिने साथै बढी खपत हुने औषधिलाई टेन्डर नगरी महँगोमा लक्ष्मण गौतमसँग मिलेर कोटेसनमा सामान लिने गरेका छन् ।

उनी जनरल स्टोर प्रमुख लिफ्टम्यान बैकुण्ठ लुइँटेलसँग मिलेर कोटेसन र टेन्डरमा व्यापक भ्रष्टाचारमा संलग्न देखिएका छन् । आवश्यक औषधिलाई टेन्डर आह्वानसमेत नगरी सधंै कोटेसन मात्र मगाउने गरेको खरिद शाखा स्रोतको भनाइ छ । मेडिकल स्टोरमा अनियमितता गर्न उपसचिवले रोक्न खोजेका कारण उनी अहिले अस्पतालका उपसचिव सागर मिश्रको सरुवा गर्न लागेको अस्पताल सूत्रको भनाइ छ ।

उनीविरुद्ध नक्कली मेडिकल बोर्डको सिफारिस वनाएको भन्दै कारबाहीलाई प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय र अख्तियारमा समेत उजुरी पारेको छ । उनी अहिले अस्पताल मेडिकल स्टोर प्रमुख छन् उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट अनुदान आउने औषधि र उपकरणहरूको बिल बनाएर करोडाैं रकम भ्रष्टाचार गरेको स्टोरकै सूत्र बताउँछ ।

पनेरुले नेपाल कांग्रेस महाधिवेशनलाई भनेर मेडिकल व्यापारीसँग लाखाैं उठाएर खाएको वीर अस्पताल स्वास्थ्य कर्मचारीको आरोपसमेत रहेको छ । उनलाई कोभिड भ्यासिन लगाउँदा पैसा लिएर वनस्थलीको अर्किड क्याफेबाट खोप लगाउने गरेको समेत उजुरी परेको छ ।
अघिल्लो कार्यकालमा सामाजिक एकाइमा रहँदा विभिन्न नर्सिङ कलेजसँग पैसा लिँदै तालिम गराउन दिएको, बिमाको रकम अनियमिता गरेको पनि आरोप लागेको छ ।

अस्पतालमा कार्यरत अरुणकुमार महतो डिल्लीराम खनाल, डिल्लीराम आचार्य, युवराज सुवेदी, जीवनकुमार श्रेष्ठलगायतका कर्मचारीलाई मेडिकल बोर्डले कडा बिरामी भनी सिफारिस गरेको छ । वीर अस्पतालका १५ भन्दा बढी कर्मचारीले मेडिकल बोर्डबाट कडा रोग भनी सिफारिस बनाएको अस्पताल स्रोतको भनाइ छ । सो सिफारिस बनाउँदा मेडिकल बोर्डमा युवराज आचार्य थिए ।

अस्पतालमा तलबबाहेक ५० प्रतिशत भत्ता पाइने स्टोर र खरिदमा बस्ने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरू बस्न खोजेको स्रोतको दाबी छ । अस्पतालमा हाल ९ जना मात्र अहेबको दरबन्दी छ तर हाल ३६ जना कार्यरत छन् । अस्पतालले हालसम्म पनेरुलाई रमाना दिएको छैन । यी नक्कली बिरामीहरू आफूलाई स्वास्थ्य मन्त्री निकट हुँ भन्छन् ।