देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काबुलमा छुटेका ३४ नेपालीलाई राष्ट्रसंघको चार्टर्ड जहाजद्धारा काठमाडौं ल्याइने

देशान्तर

काठमाडौं – तालिबानले काबुल एयरपोर्ट कब्जा गरेपछि पनि अफगानिस्तानमा ३४ जना नेपाली छुटेका छन् । उनीहरुलाई अहिले राष्ट्रसंघको काबुलस्थित कार्यालय परिसरमा राखिएको दिल्ली नियोगले जनाएको छ ।

दिल्ली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार छुटेका ती नेपाली अहिले सुरक्षित रहेको र अर्को साता राष्ट्रसंघकै चार्टर्ड जहाजले काठमाडौंमा ल्याइदिने भएको छ ।

‘राष्ट्रसंघको चार्टर्ड जहाजले अर्को साता काठमाडौंमा लैजाने कुरा भएको र कोभिड परीक्षण लगायतका प्रोटोकलको तयारी आफुले गरीरहेको सुवेदीले जानकारी दिएका छन् ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले पनि जतिसक्दो चाँडो ती नेपालीलाई काठमाडौं ल्याउन पहल भैरहेको बताइन् । ‘उहाँहरु सुरक्षित ठाउँमा हुनुहुन्छ र हामीले अन्तर्राष्ट्रिय नियोगसँग समन्वय गरिरहेका छौं’ लम्सालले भनिन् ।

उनका अनुसार अहिले पनि काबुलस्थित राष्ट्रसंघीय नियोगहरुमा ४७० जना नेपाली कार्यरत छन् र उनीहरु सुरक्षित छन् । अहिलेसम्म ८२८ जना नेपाली स्वदेश फर्किइसकेका छन् ।

अमेरिका लगायत नेटो सैनिकहरु अगस्ट ३१ को समयसीमाभित्रै काबुलबाट फकिइसकेका छन् । काबुलमा छुटेका आफ्ना नागरिकलाई उद्धार गर्नेबारे बेलायत र जर्मनी लगायतका मुलुकले तालिबानसँग वार्ता गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।