देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो

देशान्तर

पीडित उखु किसान नारायण राय यादव (भगतजी) को निधनबाट हामी अत्यन्तै दुःखद् कुरा हो । यसले हाम्रो किसान आन्दोलनमा अपूरणीय क्षति भएको छ । हामी सबै किसान साथीहरू मर्माहत पनि भएका छौं । उहाँ पहिलो किसान सहिद हुनुभयो ।

-राकेश मिश्र

हाम्रो लागि उहाँ सधैंभरि पूजनीय रहनु हुनेछ । उहाँ यो संसारबाट जाँदा प्रेरणा दिएर जानुभएको छ । उहाँले कसरी दुःख गरेर उखु खेती गर्नुभयो, मिलमा बुझाउनुभयो । उहाँको चार वर्षदेखिको भुक्तानी बाँकी छ । यसबारे कसैले पनि सोचिदिएन र बोलिदिएन ।

किसानलाई उद्योग र सरकारले असंगठित र सोझासाझा सम्झन्छन् । मैले किसानहरूलाई भन्दै आएका थिए कि तपाई्र्रंहरूमा धेरै ताकत छ । धोती र चप्पल लगाउँदैमा तपाईंहरू कमजोर हुनुहुन्छ भनेर नठान्नुस् । तपाईंहरू संगठित हुनुस्, संरक्षणको जिम्मेवारी हाम्रो हो । यो हकको लडाइँ हो, न्याय प्राप्तिको लडाइँ हो, न्यायिक संघर्ष हो ।

मूल विषय हामी विगत दुई वर्षदेखि लगातार आन्दोलन गर्दै आइरहेका छौं । सर्लाहीमा पनि आन्दोलन गर्दा त्रिपक्षीय सहमति भयो, ६ महिनाको भाका राखेर पनि उखु किसानको भुक्तानी भएन । त्यसपछि हामी गत वर्षको पुसमा १८ दिनसम्म काठमाडौंमा आन्दोलन ग¥यौं, त्यसपछि पनि सरकारले पाँचबुँदे सहमति गर्‍यो । त्यो सहमतिमा उखु किसानसम्बन्धी सम्पूर्ण समस्यालाई दुई भागमा बाँडियो । त्यसमा तत्कालै गर्नुपर्ने काम भुक्तानीको थियो । अर्को बाँकी जुन सहमतिका चार वटा बुँदा थियो त्यसमा दीर्घकालीन समाधानका उपायहरू थियो । तैपनि किसानका भुक्तानी भएन । त्यसपछि हामी फेरि बाध्य भएर गत मंसिरको २८ गतेदेखि सयौं किसानहरूसहित काठमाडौंमा आन्दोलन सुरु गर्‍र्याैं ।

केही साथीहरूको गुनासाहरू छन्, उहाँहरू आन्दोलनमा नआउने, न्यायिक संघर्षमा भाग नलिने तर अगुवा र नेतृत्व गर्न चिन्ता गर्नु हुन्छ । उहाँहरू आउनुप¥यो, किसान साथीहरूसँग बस्नुप¥यो । अहिलेसम्म हामीले जे जति निर्णय गरेका छौं, किसान साथीहरूकै सहमतिमा ग¥यौं । हामी आन्दोलनरत् रहँदा दुई–दुई पटक सरकारको तर्फबाट वार्ताका लागि प्रस्ताव आयो तर हामी गएनौं । हामीले सरकारलाई भन्यौं कि हामी निर्णायक आन्दोलनमा आएका छौं, पैसा लिएरै फर्कन्छौं । मन्त्रीज्यूहरू पनि स्वयम् आन्दोलनरत स्थानमा आउनुभयो, विपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेलजी आउनुभयो ।

सबै जना सडकमै बस्नु भयो । उहाँहरूले भन्नुभयो कि आन्दोलन रोक्नुस्, सबै माग सम्बोधन गर्न तयार छौं । जब मन्त्रालयले किसानको माग पूरा गर्ने जिम्मा लियो, उद्योगीहरूमाथि कानुनी कारबाही गरेर भए पनि सबै पैसा दिलाउँछौं भनेपछि मात्र हामी वार्तामा गयौं । हामी वार्तामा बसेपछि फेरि किसानका सबै समस्याहरूलाई दुई भागमा बाँडियो, तत्कालीन र दीर्घकालीन रूपमा । तत्कालीन रूपमा भुक्तानी कति गर्ने त ? हामीले ९० करोडभन्दा बढी भन्यौं, अनि सरकारले ६५ करोडको मात्रै सूचना छ भन्यो । हामीले भन्यौं कि ठीक छ, ६५ करोड तत्काल भुक्तानी होस् र बाँकी रकमको छानबिनका लागि सहमति भयो ।

छानबिन समितिले चार महिनाभित्र रिपोर्ट दिने सहमति भएको छ । सरकारले ३३ करोड तुरुन्तै भुक्तानी हुन्छ र ३२ करोडका २१ दिनको समय मागेको छ । सर्तसहित हामीले २१ दिनको समय दिन तयार भयौं । २१ दिन कटिसकेपछि यदि भुक्तानी भएन भने उद्योगीलाई कानुनी कारबाही सरकारले के गर्छ भन्ने कुराको सहमति गराएका छौं । अहिलेसम्म उद्योगीहरूमाथि भएको कानुनी कारबाहीमा उद्योगीको ट्राभल डकुमेन्ट, घरजग्गा, बैंक खाता रोक्का र पक्राउ पुर्जी जुन जारी भएको छ त्यसको निरन्तरता राखेर हामीले थप कानुनी कारबाहीको कुरा गर्‍यौं । ३३ करोड तत्कालै दिने भएपछि हामीले सहमति गर्‍यौं ।

कतिपय साथीहरूले हामीमाथि विभिन्न किसिमका आरोपहरू लगाउँछन् । उखु किसानको समस्या आजदेखिको होइन, वि.सं. २०७१ सालदेखिको नै हो । उहाँहरूले यति दिनसम्म के हेरेर बस्नुभएको थियो ? त्यतिबेला उहाँहरूले किसानको पक्षमा किन बोल्नुभएन ? किसानको समस्या त सबैको समस्या हो, यसका सबैले आआफ्नो तर्फबाट पहल गरिदिनुपर्ने हो । आफूले नगर्ने तर कसैले ग¥यो भने त्यसमाथि अनेक प्रकार टीकाटिप्पणीहरू गर्नु न त किसानको हितमा छ न त देशको हितमा छ ।

हामी जो जहाँ छौं, सबैले किसानकै मिहेनतबाट उब्जेको खाद्यान्न उपभोग गरिरहेका छौं । टीकाटिप्पणी गर्न सजिलो छ, तर काम गरेर देखाउन कठिन छ । जो व्यक्ति निष्कृय हुन्छ त्यो व्यक्ति प्रायः आलोचक हुन्छन् । हामी उखु किसानको मुद्दा उठाउँदा खेत–खलियानमा गएर एक–एक किसानसँग प्रत्यक्ष भेटेका छौं, पीडा र दुःख बुझेका छौं । धेरै मिडियाका साथीहरू पनि ग्राउन्डमै गएर रिपोर्टिङ गर्नुभएको छ । त्यसकारणले अनावश्यक टीकाटिप्पणीको पछाडि नलागौं ।
जब देशको काल–परिस्थिति जब सामान्य रहेन, संसद् विघटन भयो, सरकार काम चलाउ भयो र हामी पनि सडकमै बसिरह्यौं । हामीले सरकारसँग सहमति गरिसके पनि खुसी भएका छैनौं, मनमा पीडा अवश्य छ । हामी त्यतिबेला खुसी हुन्छौं जब सम्पूर्ण भुक्तानी हुन्छ । हाम्रा चाहना सम्पूर्ण भुक्तानीको थियो । गाउँबाट हामीले शपथ नै खाएर आएका थियौं कि सम्पूर्ण भुक्तानी नभएसम्म खाली हात फर्किदैनौं । तर देशको काल–परिस्थितिले सरकारसँग सहमति गर्‍यौं, लगभग ५० प्रतिशत भुक्तानी अहिले नै भयो र बाँकी भुक्तानीका लागि हामीले सरकारलाई २१ दिनको समय दिएका छौं ।

हामीले त्यतिकै २१ दिनको समय दिएका होइनौं, कानुन आधारसहितको अल्टिमेम दिएका छौं । किन को आँसु पोछ्ने ठाउँमा अनेक प्रकारका प्रश्न उठाउनु न्यायोचित होइन । हामीले सरकारसँग सहमति गरेपछि प्रश्न उठाउनेहरू कहिले पनि किसानको बैठकमै आएका छैनन् । हामीलाई वार्ताका लागि प्रस्ताव आउँदा सडकमै बसेर किसानहरूको बीचमा यसबारे छलफल गरेर कुनै निर्णय गर्छौं, कुनै बन्द कोठमा छलफल वा निर्णय गर्दैनौं । सरकारसँग वार्ता गर्ने बेलामा पनि मन्त्रालयले तीन जना मात्र आउनुस् भनेको थियो तर हामी १३ जना किसान साथीहरू वार्तामा गयौं । हामीले सरकारसँग एक–एक विषयमा खुलस्त रूपमा वार्तामा गरेका छौं । किनभने हामी समस्या लिएर आएका छौं भने समाधानका उपायसमेत दिएका छौं । हामीले अन्य कुरामा ध्यान नदिएर किसान के चाहन्छ त्यसमा हामी बढी केन्द्रित छौं ।

हाम्रो चाहना थियो कि सबै किसानको भुक्तानी लिएपछि मात्रै फर्कने । हाम्रो त्यो चाहनामा देशको राजनीतिक घटनाक्रमले अलि आघात पुगेको छ, हाम्रो चाहना पूरा भएको छैन । सरकारले हामीसँग २१ दिनको समय मागेको छ, हामी ढुक्क भइसकेका छैनौं । खबरदारीका लागि हामी पाँच जना किसान अहिले पनि काठमाडौंमै बसिरहेका छौं । दिनहुँ हामी मन्त्रालयको सम्पर्कमा छौं, सरकारलाई घच्घचाइरहेका छौं । समष्टिगतरूपमा हामी अहिले पनि आन्दोलनमै छौं ।

देशको काल, परिस्थितिका कारण सहमति गर्नुप¥यो । हामीले गरेका सहमतिका बुँदालाई अध्ययन गर्नुपर्‍यो । हामीले किसानका हकहितका सम्पूर्ण समस्याको समाधान हुने गरी समावेश गरेका छौं ।
यो क्रममा उखु किसानको आन्दोलनप्रति धेरै षड्यन्त्रहरू पनि भए । उद्योगीहरूले आन्दोलनमा आउनु भएका किसान साथीहरूलाई चिया पसलमा बोलाएर काका, बाबा तपाईंको कति बाँकी छ, पैसा लिनुस् र घर फर्किनुस् भनेर आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्रहरू पनि भए ।

तर किसानहरू कसैको प्रलोभनमा नपरी आफ्नो हक अधिकारका लागि निरन्तर आन्दोलन गरिरहे । यो आन्दोलनमा काठमाडौं आउनका लागि पाँच हजारभन्दा किसान साथीहरूले नाम लेखाएका थिए । तर कोरोना महामारी र काठमाडौंको चिसोका कारण हामीले धेरै कम साथीलाई मात्र आन्दोलनमा ल्यायौं । यो आन्दोलनमा काठमाडौं बस्ने किसानका छोराछोरीहरू पनि सहभागी हुनुभयो । त्यसैले पूरै पवित्र भावनाले यो आन्दोलन गरिएको हो ।

मृतक किसान नारायण राय यादव (भगतजी) लाई किसान सहिद भनेर घोषणा गरेका छौं । उहाँले राज्यको तर्फबाट किसान सहिदको मान्यता पाउनुपर्छ । यो एउटा राज्यका लागि प्रेरणाको स्रोत हुन्छ । उहाँको क्षतिपूर्ति र सम्पूर्ण जिम्मेवारी राज्य र उद्योगीले लिनुपर्छ । किनभने हामीले स्मरणपत्रमा पहिला भनिसकेका थियौं । त्यसकारणले सहिद किसानको सम्पूर्ण क्षतिपूर्तिको व्यवस्थापन होस् । उद्योग र गृह मन्त्रालयका प्रतिनिधिले पनि प्रतिबद्धता गर्नुभएको छ कि क्षतिपूर्ण हुन्छ । गृह मन्त्रालयले क्षतिपूर्तिका लागि प्रक्रिया सुरु गरिसकेको छ । तर हाम्रो र उखु किसानका लागि धेरै पीडादायी क्षण हो । हामी सम्पूर्ण किसान साथीहरू शोकमा डुबेका छौं ।
पत्रिव भावनाका साथ यो आन्दोलन अगाडि बढेको छ । यसलाई गलत दृष्टिकोणले नहेर्नुस्, कसैको लोकप्रियतासँग नदाज्नुस् । जसले आन्दोलनको अगुवाइ गर्छ, उसको चर्चा अवश्य नै हुन्छ, यसबाट डाह नगर्नुस् । यो सबैको सरोकारको विषय हो । किनभने जबसम्म कृषक समृद्ध हुँदैन तबसम्म मधेस र नेपाल पनि समृद्ध हुँदैन । कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो ।

समृद्धिको लक्ष्य प्राप्तिका लागि हामीसँग कृषि नै मूल आधार हो । यस प्रकारको पवित्र भावनालाई बुझिदिन सबैसँग म आग्रह पनि गर्न चाहन्छु । खासगरी किसानको आन्दोलनमा सहयोग र सद्भाव राख्ने काठमाडौंका समृद्ध समाज र सञ्चार जगत्लाई समेत विशेष धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु ।
(मिश्र उखु किसान संघर्ष समितिका संरक्षक हुन् ।) (मधेस दर्पण फिचर सेवा)