देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिकर किङ शाह अब उत्कृष्ट करदाता

देशान्तर

लिकर किङ विजय कुमार शाह

काठमाडौँ । आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको छ । सरकारले हरेक वर्षको मंसिर १ मा राष्ट्रिय कर दिवस मनाउने गरेको छ । सो दिवसको अवसरमा अघिल्लो आर्थिक वर्षमा बढी कर तिर्ने विभिन्न विधाका करदातालाई सम्मान गर्दै आएको छ । तर यस वर्ष कोभिड–१९ संक्रमणको बढ्दो जोखिममा कारण कर दिवस विशेष सप्ताह समापन समारोहमा उत्कृष्ट करदाताहरूको नाम मात्र सार्वजनिक गरेको हो ।

यस बर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर तिरेवापत व्यवसायी विजय कुमार शाह सम्मानित हुने भएका छन् । यसअघि लगातार चार वर्षसम्म सबै भन्दा धेरै कर सिदार्थ शमशेर राणाले तिर्दै आएका थिए । यो पटक भने शाह सबैभन्दा धेरै कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुने भएका हुन् । लिकर किङको उपनामले परिचित शाह जाउलाखेल ग्रुप अफ कम्पनीका मालिक हुन् ।

जावलाखेल ग्रुप अन्तर्गत आधा दर्जनभन्दा बढी डिस्ट्रीलरी कम्पनी छन् । यो डिस्ट्रीलरीका प्रोडक्टहरू मध्ये रुस्लान भोड्का सबैभन्दा लोकप्रिय छ । कम्पनीले विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । शाहको लगानीमा जावलाखेल डिस्ट्रिलरी, हिमालयन डिस्ट्रिलरी, राज ब्रुअरी, एसियन डिस्ट्रिलरी र विजय डिस्ट्रिलरी सञ्चालनमा छन् ।

लिकर किङका रुपमा चिनिने शाहले नेपालमा रुस्लान भोड्कालाई सर्वप्रिय ब्रान्डका रुपमा स्थापित गराए । जावलाखेल ग्रुपको इतिहास मदिरा उत्पादनसँगै जोडिएको छ । शाहका हजुरबुवा पनि मदिरा उत्पादन गर्ने असाध्यै राम्रो सीप र कला भएको व्यक्ति थिए । बुवा रामनारायण शाहदेखि छोरा विजय शाहसम्म आइपुग्दा मदिरा उत्पादनमा आधुनिक ब्रान्डहरु स्थापित भए । शाहका पिता रामनारायण शाहले कन्ट्री लिकर उत्पादन गर्ने चुलाई सञ्चालन गरेका थिए । सन् १९६० को दशकमा नेपालगञ्जबाट जावलाखेल आएर जावलाखेल ड्राई जिन उत्पादन गरे ।

सन् १९६९ मा विजयकुमार शाह अमेरिकाबाट पढेर नेपाल आएपछि मदिरा उत्पादनमा नयाँ सीप र प्रविधि पनि भित्रियो । उनले आफूसँगै स्पिरिटलाई शुद्ध पारेर छान्ने तामाको आधुनिक डिष्टिलेसन युनिटको ब्लू–प्रिन्ट पनि लिएर आए । मदिरा उत्पादनमा नयाँ आयाम थपे । अहिले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत हिमालयन डिस्ट्रिलरी, रोलिङ रिभर डिस्ट्रिलरी, एसियन डिस्ट्रिलरी, विजय डिस्ट्रिलरी र राज ब्रुअरी संचालनमा छन् ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजको व्यवस्थापनमा सञ्चालित हिमालयन डिस्ट्रिलरी लिमिटेड एक स्थापित उद्योग हो र यस उद्योगबाट उत्पादन गरिँदै आएका मदिराजन्य उत्पादनहरूले नेपाली बजारमा आफ्नो भिन्न पहिचान कायम गरेका छन् । हिमालयन डिस्ट्रिलरीले उत्पादन गरेको गोल्डेन ओक ह्वीस्की पछिल्लो समय निकै लोकप्रिय बनेको छ । गत वर्ष गोल्डेन ओक ब्रान्डले १० लाख कार्टुन बिक्रीको अद्भूत रेकर्ड नै कायम गर्‍यो । यस परिमाणको बिक्रीले यस उद्योगको उत्पादनप्रति उपभोक्ताहरूको विश्वसनीयताका साथै उत्पादित मदिराको गुणस्तरसमेत अब्बल रहेको पुष्टि भएको छ ।

जर्मन बियर वार्सटाइनर नेपालमा उत्पादन गर्ने काम जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रा.लिले गर्दै आएको छ । नवलपरासीको हाकुइस्थित अत्याधुनिक फ्याक्ट्रीमा सो वियर उत्पादन हुने गर्छ ।

जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले नेपाली बजारमा अत्याधुनिक रुसी प्रविधिद्धारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थको समिश्रणबाट बनेको रेड रसियन नामक क्लीयर स्प्रीट्स पनि उत्पादन गर्दै आएको छ । उक्त रेड रसियनको स्वाद उत्कृष्ट छ भने यो शुद्ध र सर्वश्रेष्ठ पदार्थ प्रयोग गरी अत्याधुनिक रुसी डिस्टीलेशन, र्फमेनटेसन र फिल्टरेशन प्रविधिद्धारा उत्पादन गरिएको गुणस्तरीय पेयपदार्थ हो । रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रुपमा पनि पिउन सकिन्छ ।