देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरमा विशेष सुरक्षा

देशान्तर

काठमाडौँ । स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार ललितपुरमा यही २६ गतेसम्म विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३, (क) बमोजिम ललितपुर महानगरपालिकाभित्र यही भदौ २६ गतेसम्म हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको उनले जानकारी दिए। उक्त आदेश उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही हुने जनाइएको छ ।

मुख्यगरी रातो मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मदन स्मारक स्कूल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्टजेभियर्स स्कूल अगाडिको चोक, उत्तर बखुण्डोल चोक क्षेत्रभित्र उक्त आदेश लागू हुनेछ । यस्तै श्रीमीननाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मङ्गलबजार चोक, पश्चिम मदन स्मारक स्कूल अगाडिको चोक, दक्षिण पूर्वचण्डि मन्दिर, उत्तर पिमबहाल क्षेत्रभित्र लागू हुने गरी उक्त आदेश जारी गरिएको छ । उक्त आदेश बिहान ५ देखि राति १० बजेसम्म लागू हुनेछ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए। उनका अनुसार सूचना सङ्कलन तथा घुमुवा टोलीसमेत परिचालन गरिएको छ ।

सादा पोशाकमा पनि प्रहरी टोली खटाइएको छ । ठाउँठाउँमा सशस्त्र प्रहरीसमेत परिचालन भएका छन् । स्थानीयवासीबाट समेत राम्रो साथ पाइएकाले शान्तिपूर्ण रुपमा कार्यक्रम जारी रहेको उनले बताए । ललितपुरमा केही दिनअघि रथ तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सोही कारण स्थानीय प्रशासनले भदौ १९ गते कफ्र्यू आदेश जारी गरेको थियो । रोकिएकोे रथ तान्ने कार्यक्रम आजदेखि शुरु भएको छ ।