देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस अघि अघि, ओली पछि पछि !

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियताभन्दा लोकतन्त्रलाई बढी महत्व दिन्छ र भारत गाँसिएको मामिलामा लम्पसार परेर नेपालभन्दा भारतलाई सहयोग गर्छ भनी राजावादी र कम्युनिस्टहरूले धेरै पहिलेदेखि लगाइआएको आरोप यसपल्ट पखालेको छ । निरंकुश राजतन्त्र रहेको बेला तत्कालिन राजा महेन्द्रको समयमा कालापानीमा आफ्नो सुरक्षाफौज तैनाथ गर्न तथा राजा वीरेन्द्रको कार्यकालमा लिम्पियाधुरादेखि लिपुलेकसम्मको जग्गा कब्जा गरी नेपालको नक्सलाई खुँडे रूपमा जारी गर्न भारत सफल भएकोमा यसपल्ट कम्युनिस्टहरूभन्दा एक कदम अगाडि बढेर सरकारलाई नयाँ नक्सा जारी गर्न कांग्रेसले बाध्य पार्‍यो । हिजो बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले औपचारिक रूपमै, सर्वसम्मतिबाट नेपालको नक्सा संशोधन गरी लिम्पियाधुरासम्म राष्ट्रको सीमा कायम गर्ने पक्षमा निर्णय गरेको छ । कांग्रेसले यो निर्णय गर्न सहज थिएन । भारतीय प्रभावमा रहेका कतिपय केन्द्रीय सदस्यहरूले बैठक नै नगर्ने, बैठक रोक्न नसके पनि निर्णय गर्न नदिने रणनीति बनाएका थिए । १ बजे सुरु हुने तय भएको बैठक साढे ४ बजे सुरु भयो र संशोधनको पक्षमा एकमात्र निर्णय गरेर १०–१५ मिनेटमै समाप्त हुनेछ भनी अनुमान गरिएको बैठकमा लामो छलफल भयो । सभापतिले प्रस्ताव राख्ने र अरू सबैले समर्थन गरेर बैठक टुंग्याउने भनिएकोमा दुई दर्जनभन्दा बढी सदस्यले मन्तव्य राखेका थिए । तर कांग्रेसलाई आफ्नो स्वार्थका लागि राष्ट्रहित विपरीत बाटोमा लैजान खोज्नेहरूको योजना सफल भएन । कांग्रेसको यो निर्णय तथा केही समययता सार्वजनिक रूपमा गरेको प्रतिबद्धताले उसको छवि र प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍याएको छ ।

देशका आम नागरिक, नागरिक समाज, बुद्धिजीवीहरू र प्रमुख प्रतिपक्षीलगायत अन्य दलहरूले समेत भारतको मिचाहा प्रवृत्तिको तीव्र विरोध गर्दै सन् १८१६ मा दुई देशबीच भएको सुगौली सन्धिको दफा ५ मा उल्लेखित सीमालाई कायम गरी नेपालले तत्काल खुँडे नक्सा सच्याइओस् भनी गरेको आग्रहलाई स्वीकार्न प्रधानमन्त्री केपी शर्मा ओली तयार थिएनन् । संविधान जारी गर्ने बेलामा तत्काल संविधान जारी नगर भनी भारतले दिएको दबाब अस्वीकार गर्दै नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको बेला ओलीले लिएको अडानका कारण रातारात उनी राष्ट्रवादी छवि बनाउन सफल भएका थिए । केही वर्षअघि, महाकाली सन्धिताका उनले निर्वाह गरेको भूमिका र प्रतिबद्धताले गर्दा ‘भारतको मुख्य एजेन्ट’ भनी लागेको गहिरो दागलाई यो घटनाले केही छोपेको थियो । तर भारतले लिखित वचनबद्धता तोड्दै हाम्रो भूभाग अतिक्रमण गरेर एकतर्फी रूपमा चीन जाने बाटो निर्माण गर्दै त्यसको उद्घाटनसमेत गरेपछि देशमा भारतविरुद्ध उर्लेको भावनालाई उपेक्षा गरी उनी विभिन्न बहाना बनाई आलटाल गरिरहेका थिए । यहाँसम्म कि सर्वदलीय बैठकमा नेपाली कांग्रेसले हाम्रो सिमानाअनुसारको नक्सा जारी गरिहालौं, त्यसपछि आपसी वार्ता गरेर जग्गा फिर्ता ल्याऊ भनी राखेको प्रस्तावलाई समेत ओलीले स्वीकार गरेनन् । बैठकमा उपस्थित सबै दलले कांग्रेसको प्रस्तावप्रति समर्थन जनाएका थिए । तर राष्ट्रको सार्वभौमसत्ता र सम्पूर्ण भूभागको रक्षा गर्ने जिम्मेदारी पाएका प्रधानमन्त्री ओलीले ‘पहिले जग्गा फिर्ता ल्याऊँ, अनि नक्सा बनाउँला’ भनी आलटाल गरिरहेका थिए । तर उनकै पार्टीभित्रबाट समेत प्रचण्ड दबाब परेपछि बाध्य भएर नक्सा जारी गर्ने निर्णय सरकारले गरेको हो । कांग्रेस मात्र यति प्रखर रूपमा अगाडि नबढेको भए सम्भवतः अहिलेसम्म पनि नक्सा जारी हुने थिएन । यसअघि प्रायः राष्ट्रियताको झन्डा सबैभन्दा अग्लोसँग कम्युनिस्टहरूले उचाल्ने गर्दथे भने यसपल्ट कांग्रेसले नेकपालाई पछि पारेको छ । कांग्रेस अघि अघि र ओली पछि पछिको दृश्य राजनीतिक रंगमञ्चमा देखिएको छ ।

सामान्यतः भारतले कम्युनिस्ट पार्टीभन्दा आफ्नो लागि अनुकूल मानिआएको र कांग्रेसका नेताहरूको पनि भारतसँग ज्यादा लसपस देखिएकोले भारतसित गाँसिएको मामिलामा पार्टीले यति कठोर अडान लिन सजिलो थिएन । कांग्रेसका केही पुराना, परम्परावादी तथा भारतबाट भविष्यमा पनि सहयोगको अपेक्षा गर्ने नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूलाई नेकपा र ओलीले जस पाउने यस्तो निर्णय पार्टीबाट नगराउन निरन्तर दबाब दिइरहेका थिए । देउवा, पौडेल, निधि, सिटौला आदिलाई उनीहरूका भारतीय ‘मित्रहरू’ले अझ दबाबपूर्ण आग्रह गरिरहेका थिए । त्यसैले अन्ततः कांग्रेस आफ्नो प्रतिबद्धताबाट पछाडि फर्किने हो कि भन्ने आशंका पनि उब्जिएको/उब्ज्याइएको थियो । यो आशंका जन्माउन सत्तापक्षकै बढी भूमिका थियो । तीन दिनअघि संसद्मा संविधान संशोधन विधेयक प्रस्तुत गरिने भनी राखिएको कार्यसूचीबाट सरकारले रहस्यमय ढंगले यो विषय हटायो । कांग्रेसको अहिलेको अडानले भारत ऊसित चिढिएको मौका छोपेर ओली सरकारले भारतसित व्यक्तिगत सम्बन्ध सुधार्न र कांग्रेसभन्दा आफू शुभचिन्तक रहेको देखाउन सूची परिवर्तन गरेको अनुमान धेरैको थियो । उसको यो नियतको पर्दाफास भएपछि कांग्रेसको कारणले सूचीबाट हटाइएको नक्कली कुरा सम्प्रेषित ग¥यो, जसको कांग्रेसले तत्कालै सार्वजनिक रूपमा खण्डन गर्दै सत्तारूढ दलको यो हर्कतको निन्दा र भत्र्सनासमेत गरेको थियो । सत्तापक्षको यो षड्ययन्त्र र ओलीको चाहना यसरी विफल भएपछि सरकार संसद्मा प्रस्तुत हुने लगत्तैको बैठकको नयाँ कार्यसूचीमा यो विषय प्रवेश गराउन तयार भएको छ ।

कांग्रेस यो रूपमा प्रस्तुत हुन उक्त पार्टीका युवा नेताहरूको निर्णायक भूमिका रह्यो । आफ्नो कारणले पार्टीले अपूरणीय क्षति बेहोर्नु परेको तथ्यहरू देख्दादेख्दै पनि फेरि सभापति बन्न जोड गरिरहेका शेरबहादुर देउवाले आफ्नो भविष्यको लागि युवा पुस्तालाई उपयोग गर्ने रणनीति बनाएका छन् । उनले बोलेका र गरेका कतिपय कुराले सिंगो पार्टी नै लज्जित हुने गरेको छ । उनका धेरै शुभचिन्तकहरूले नै धेरै नबोल्न, अरूको कुरा सुन्न र असहिष्णु नबन्न दबाब दिएपछि अब उनी प्रायः लिखित रूपमा बोल्ने गरेका छन् । उनका अधिकांश वक्तव्य र टिप्पणीहरू प्रवक्ता विश्वप्रकाश शर्माले तयार पारिदिने गर्दछन् । यसले गर्दा केही समय यताको उनका अभिव्यक्तिहरू विवादहिन र जनमत अनुकूल आउने गरेका छन् । त्यस्तै पार्टीका सर्वाधिक लोकप्रिय युवा नेता गगन थापा प्रारम्भदेखि नै हिम्मतका साथ जनताको बोली बोलिरहेका छन् । उनको बोलीमा देशका सम्पूर्ण इमानदार, देशभक्त र पार्टीप्रति निष्ठावान् कार्यकर्ताहरूको भावना मुखरित हुने गरेको छ । अहिलेको चर्चित प्रसंगमा उनी हरेक मञ्चलाई उपयोग गर्दै तत्काल नयाँ नक्सा जारी गर्ने र वार्ताद्वारा भूभाग फिर्ता ल्याउने अभियान चलाइरहेका छन् । गगन र विश्वप्रकाशबीचको मात्र एकताले पनि कांग्रेसभित्र नयाँ लहर सिर्जना गर्न सक्छ । यी दुई नेताको पछाडि धनराज गुरुङ, नविन्द्रराज जोशी, प्रदीप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, कल्याण गुरुङल, जीवन परियारगायतका साहसिक युवा नेताहरू पनि उभिएका थिए । यिनीहरूकै शक्तिले गर्दा कांग्रेस परम्परागत छवि विपरीत प्रखर राष्ट्रवादी नयाँ धारमा उभिन सफल भएको हो । यस विषयमा कांग्रेसलाई अनिर्णयको बन्दी बनाउन गरिएको प्रपञ्च यही पुस्ताको कारणले विफल भयो । फलस्वरूप आज नेपाली कांग्रेस एउटा साहसिक छवि बनाएर जनतासामु उभिन सफल भएको छ । युवा पुस्ताको जोडबल र उनीहरूले सिर्जना गरेको लहरले नै यो सम्भव भएको हो ।