देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्पेन र इटलीमा मृतकको संख्या घट्यो, लकडाउन खुकुलो

देशान्तर

काठमाडौं । कोरोनाभाइरस महामारीबाट धेरै प्रभावित स्पेन र इटालीमा मृतकको संख्या घटेको छ । प्रभावित मध्येको एउटा देश स्पेनले गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार २ सय ८८ मानिसहरूको मृत्यु भएको छ । यो गत मार्च २० तारिखयताकै सबैभन्दा कम हो । शनिवार त्यहाँ ३ सय ७८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयले हालसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भइसकेको जनाएको छ ।

अधिकारीहरूले कोरोनाभाइरस महामारी फैलिएयता पहिलो पटक स्पेनमा एकैदिन ३ सय भन्दा कम मानिसहरूको मृत्यु भएको जनाएका छन् । यसले भाइरस नियन्त्रण सकारात्मक दिशातर्फ गइरहेको देखाएको उनीहरूको भनाइ छ ।

६ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि आइतवार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका छन् । लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ ।

गत मार्च १४ देखि उनीहरूले घरबाट बाहिर निस्कन पाएका थिएनन् । यद्यपि अझै पनि कतिपय प्रतिबन्धहरू जारी नै छन् । बालबालिकालाई सार्वजनिक पार्क तथा घरभन्दा एक किलोमिटर पर जान भने रोक लगाइएको छ ।

इटलीमा लकडाउन खुकुलो पारिँदै
यसैबीच इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन् । टेलिभिजन सम्बोधनमा उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताए । उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउनेछन् ।

पार्कहरू खोलिनेछन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्ने छैनन् । इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु इटलीमै भएको छ । इटलीमा अमेरिकापश्चात् सबैभन्दा धेरै २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । तर हाल त्यहाँ लगातार मृतकको सङ्ख्यामा कमी आइरहेको छ ।