देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना जितेकी युवती भन्छिन्- ‘धैर्यता र आत्मबल कोरोनाको औषधि’

देशान्तर

गलकोट । बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकापछि स्पतालबाट डिस्चार्ज गरिएको हो ।

बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाकोे पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैटौँ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

२८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन् । उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गरिन् । ‘सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ’, उनले भनिन्, ‘कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे ।’

उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानुभएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धेरै धन्यवाद दिइन् । ‘चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन’, उनले अनुभव सुनाइन् ।

‘२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ ।’ अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझावसमेत उनले दिएकी छिन् । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन् ।

छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए । उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए ।

२८ दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिइन् । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको अंशुको भनाइ छ ।