देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा हालसम्म ३३ हजारको कोरोना परीक्षण

देशान्तर

काठमाडौं । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ३२४ वटा पिसीआर परीक्षण भएका छन् भने आरडिटी परीक्षण गराउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको जानकारी दिनुभयो । तीमध्ये चार जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाले भने, “आरडिटी सबै जिल्लामा शुरु भइसकेको छ, प्रदेश नं १ मा हालसम्म दुई हजार ३४९, प्रदेश नं २ मा तीन हजार २३८, वाग्मती प्रदेशमा चार हजार ६७६, गण्डकी प्रदेशमा तीन हजार ७५१, प्रदेश नं ५ मा दुई हजार ३२४, कर्णाली प्रदेशमा तीन हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ वटा आरडिटी परीक्षण भइसकेको छ ।”

क्वारेनटाइनमा बस्ने व्यक्तिको सङ्ख्या पाँच हजार ९३६ छ । आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या १११ छ । यसमध्ये उपत्यकाभित्र चार जना छन् भने उपत्यका बाहिर १०७ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई २८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नं।मा निःशुल्क कल सेन्टर शुरु भएको छ । त्यसमा कोरोनाबारे आफ्नो जिज्ञासा राख्न सकिन्छ । मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेब पेज कोभिड–१९ डट एमओएचपी डट जिओभी डट एनपीमा हालसम्म आफ्नो स्वमूल्याङ्कनका लागि इन्ट्री गर्ने व्यक्तिको सङ्ख्या २१ हजार २९१ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । यसमध्ये गत २४ घण्टामा ४५७ जनाले आफ्नो स्वमूल्याङ्कन फाराम भरेका छन् । जसमध्ये ३ जना रेडजोनमा भएको पाइएको छ ।

हालसम्म कूल रेडजोनमा हुनेको सङ्ख्या २६३ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनका लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने कार्य भइरहेको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि उपलब्ध हुने गरी पिसीआर मेशिन उपलब्ध गराएको छ । आइतबार मात्रै उदयपुरमा थप ५२ जनामा पिसीआर नमूना सङ्कलन गरिएको छ । नमूनाको परीक्षण हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ ।

मन्त्रालयले क्यान्सर, डाइलासिस गर्नुपर्ने, मुटु रोगी, प्रसूतिसम्बन्धी जटिल र सुतकेरीसम्बन्धी रोग र दमलगायतका रोग र अन्य दीर्घ रोग सेवा दिइरहेका विशिष्ट प्रकृतिका अस्पताललाई सेवा निरन्तर सुचार गर्न आग्रह गरेको छ । “विभिन्न व्यक्ति र सङ्घसंस्थाले हेमोफिलिया बिरामीलाई आवश्यक सामग्री उपलब्ध गराउन गरेको आग्रहको बारेमा सरकारले सहजीकरण गर्नेछ, लकडाउनका कारणले अस्पतालसम्म पुग्न नसकेर औषधि सेवन गर्नबाट वञ्चित भएका बिरामीका लागि पनि मन्त्रालयले सहजीकरण गर्नेछ ।”