देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आरडीटीको विश्वसनीयता सुनिश्चित गर्नुपर्ने हो कि !

देशान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सो रोग लागे, नलागेको परीक्षण गर्न देशव्यापी रूपमा सुरु गरिएको र्‍यापिड डाइग्नोसिस टेस्ट (आरडीटी) को परीक्षणको विश्वसनीय सुनिश्चित गर्न आवश्यक देखिएको छ । खासगरी उदयपुरमा रहेका १२ जनामा कोरोना संक्रमण देखिएपछि र्‍यापिड डाइग्नोसिस टेस्ट (आरडीटी) को परीक्षणको विश्वसनीय सुनिश्चित गर्न आवश्यक भएको हो ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको एउटा मस्जिदमा बसेका १६ जनामध्ये ८ जना भारतीय तथा ४ जना नेपाली नागरिकमा ‘पोजेटिभ’ अर्थात् कोरोना संक्रमण देखिएपछि आरडीटी टेस्टको विश्वसनीयमाथि प्रश्न उठेको हो । सञ्चार माध्यमहरूमा आएका समाचारअनुसार मस्जिदमा रहेका १६ जनाको र्‍यापिड डाइग्नोसिस टेस्ट (आरडीटी) गरिएको थियो ।

सो परीक्षणमा उनीहरू सबैमा नेगेटिभ अर्थात् कोरोना संक्रमण छैन भन्ने देखाएको थियो । तर त्यहाँं विदेशी नागरिकहरू लामो समयदेखि बस्दै आएको र शंकास्पद लागेपछि जिल्ला प्रशासनको पहलमा उनीहरूको पुनः परीक्षणका लागि पीसीआर परीक्षण गर्न स्वाब विराटनगर पठाएर परीक्षण गर्दा ‘पोजेटिभ’ अर्थात् कोरोना संक्रमण भएको देखिएको थियो ।

यो अवस्थाले अहिलेसम्म देशव्यापी रूपमा गरिएको आरडीटी टेस्टबाट नेगेटिभ देखिएकाहरूमा कोरोना संक्रमण नरहेको विश्वासमा क्वारेन्टिनबाट घर पठाउने गरिएको छ । चिकित्सकहरूका अनुसार सामान्यतया द्रुत गतिमा छिटो, छरितो र फिल्डमै गएर रगतका माध्यमबाट गर्न सकिने आरडीटी टेस्टमा नेगेटिभ देखिएमा कोरोना संक्रमण नभएको अवस्था हो । तर आरडीटीमा पोजेटिभ देखियो भने पनि पीसीआरमा नेगेटिभ आएमा कुनै समय सो व्यक्तिमा कोरोना संक्रमण भए पनि शरीरमा रहेको प्रतिरोध क्षमताले त्यसलाई पराजित गरिसकेको वा कोरोना संक्रमणलाई निस्तेज बनाएको भन्ने अर्थ दिन्छ । त्यही भएर आरडीटीमा पोजेटिभ देखिएका कैयौं विदेशबाट नेपाल आएका नागरिकहरूमा पीसीआर परीक्षण गर्दा नेगेटिभ परिणाम आएपछि घरमै सुरक्षित बस्न भन्ने गरिएको छ भने केहीलाई आरडीटी परीक्षणमा पोजेटिभ र पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ परिणाम देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँदैछ । उदाहरणका लागि बेलायतबाट फर्किएर आएका सन सिटी अपार्टमेन्टमा बसोबास गर्ने दुईजना सासू—बुहारीको आरडीटी पोजेटिभ देखिएपछि पीसीआरमार्फत पुनः परीक्षण गर्दा पनि पोजेटिभ देखिएपछि उनीहरूको पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ तर आरडीटी परीक्षणमा पोजेटिभ देखिए पनि पीसीआरबाट नेगेटिभ देखिएपछि सोही परिवारका एक महिलामा अब कोरोना संक्रमण नरहेको देखिएको भनेर घरमै सुरक्षित भएर बस्न भनिएको छ ।

बेलायतबाट फर्किएकाहरूको संसर्ग र सम्पर्कको आशंकामा सोही अपार्टमेन्टमा बस्ने २९७ जनाको आरडीटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरूमा कोरोना संक्रमण नसरेकोमा सबैमा खुसी छाएको थियो र उनीहरूको पीसीआर परीक्षणको आवश्यकता महसुस गरिएको छैन । तर आरडीटीमा नेगेटिभ देखिएका सबैमा पीसीआरबाट पनि नेगेटिभ नै देखिन्छ भन्ने विश्वासका आधारमा क्वारेन्टिनमा बसेकाहरूको आरडीटी गर्दा नेगेटिभ देखिएकै आधारमा कोरोना संक्रमण छैन भनेर हालसम्म गरिएको विश्वासमाथि उदयपुर घटनाले शंका उत्पन्न गराएको छ । यस्तो अवस्थामा आरडीटी टेस्टको विश्वसनीय सुनिश्चित गर्नुपर्ने हो कि भनेर कतिपयले प्रश्न उठाएका छन् ।