देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उदयपुरका १२ संक्रमितलाई विराटनगर लगिदै, मस्जिद र आसपास सिलबन्दी

देशान्तर

उदयरपुर । उदयपुरको मस्जिदमा बसेका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १२ जनामा कोरोना पोजेटिभ देखिएको हो। चार जना मोरङ जिल्लाकासमेत रहेका छन्। सङ्क्रमित सबै पुरुष रहेका छन्।

काठमाडौंमा गरिएको परीक्षणबाट १२ जनामा नै कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मस्जिदमा रहेका १७ जनाको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएकोमा १२ जनाको पोजेटिभ देखिएको हो।

सङ्क्रमितमध्ये १२ जनालाई उपचारका लागि विराटनगरमा निर्माण गरिएको कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा ल्याइँदैछ। मस्जिदमा रहेका उनीहरूलाई त्यहाँबाट आज साँझ नै विराटनगर ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले बताए।

उनीहरू धार्मिक भ्रमणका लागि उदयपुर पुगेका थिए। नेपाल मुस्लिम संघ उदयपुरकी अध्यक्ष नजबुल खाँका अनुसार २० दिनअघि उनीहरू उदयपुरको भुल्केस्थित मस्जिदमा पुगेका थिए।

कोरोना आशङ्का भएपछि उनीहरूको थ्रोट स्वाब कोसी अञ्चल अस्पतालमा परीक्षणका लागि बुधबार ल्याइएको थियो। परीक्षणमा रिपोर्ट ‘पोजेटिभ’ भेटिएपछि थप परीक्षणका लागि स्वाबको नमुना बिहीबार राति नै काठमाडौं पठाइएको थियो। राति ११ बजे सामाजिक विकास मन्त्रालयको गाडीले लगेको स्वाब विहानै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुर्‍याइएको हो।

मस्जिद र आसपासमा सिलबन्दी

यसैबीच, कोरोना देखिएपछि त्रियुगा नगरपालिका- ३ भुल्केस्थित मस्जिद र आसपासको क्षेत्र सिलबन्दी गरिएको छ। सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँड्डुलमा रोक लगाएको छ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वास्थ्यकर्मीको टोलीले उनीहरूको स्वाब नमुना लिएको थियो। उनीहरूको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो।