देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता भट्टराईको पत्र

देशान्तर

मिति : २०७७ वैशाख ४ गते

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
प्रधानमन्त्री कार्यालय, सिहदरबार, काठमाडौं ।

प्रधानमन्त्रीज्यू,
जय नेपाल ।

म नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं जनसम्पर्क समन्वय विभागको प्रमुखको नाताले तपाईलाई यो पत्र लेख्दैछु ।

सर्वप्रथम, तपाई हालसालै मात्रै मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर बस्नु भएको छ, म तपाईको स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्न चाहन्छु ।

विश्व अहिले कोरोना भाइरसको त्रासमा छ । विज्ञान र प्रविधिको भरपुर विकास गरेका शक्तिशाली मुलुकहरु पनि यो भाइरसबाट प्रताडित भएका छन् । विश्वका कुनै पनि मुलुक होला, जहाँ यो भाइरस नपुगेको होस् । चीनको एउटा प्रान्तबाट सुरु भएर विश्वभरी फैलिएको कोरोना भाइरसले अहिले विश्वका सबै मानिसहरु त्रासमा बसेका छन् । यो विश्वले नै भोगेको सताब्दियौ पछिको ठूलो महामारी हो । अहिलेको बेलाहामी नेपालीपनि त्यसबाट अछुतो छैनौ । स्वदेश वा विदेशमा बस्ने सबै नेपालीहरु अहिले कोरोनाको त्रासमा छन् ।

विगत तीन सातादेखि हामी सबै लकडाउनमा बसेका छौ । कोरोना भाइरसको औषधी पत्ता लागि नसकेको अहिलेको अवस्थामा लकडाउन वा सामाजिक दुरि कायम गर्नु नै संक्रमण फैलिनबाट रोक्ने उत्तम उपाय पनि हो । लकडाउनलाई पालना गर्ने हामी सबैको कर्तव्य पनि हो । जसलाई सारा नेपालीले पालना गरेका पनि छन् । यो महाब्याधीको समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलहरुको साथ र सहयोग सरकारलाई छ । सरकारलाई थप उर्जा मिलोस् भनेर महाव्याधी रोकथाममा चुस्तता प्रस्तुत गर्न प्रतिपक्षीदलले सरकारलाई पटक पटक सम्झाउदै आएको छ ।

प्रधानमन्त्रीज्यू,
तपाईलाई हाम्रो साथ छ भन्नुको अर्थ तपाई चुपचाप बालुवाटार बस्नुहोस् भन्ने अर्थमा नबुझ्नु होला । तपाईको नेतृत्वको संयन्त्रहरु अहिले स्वदेश र विदेशमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोगेको समस्या समाधान गर्न तत्पर हुनुपर्छ । जुन तत्परता सरकारमा अहिले देखिएको छैन । म नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागको संयोजक पनि भएको नाताले विदेशमा बस्नु हुने जो कोही नेपालीहका बारेमा मैले सन्चो विसन्चो सोध्नुपर्ने हुन्छ र अहिले सोधिरहेको पनि छु ।

मुलुक लकडाउनमा छ भनेर एउटा सामान्य मानिस घरभित्र बस्न सक्छ । तर तपाई तीन करोड जनतामाथि शासन गर्ने व्यक्ति लकडाउन छ भनेर कानमा तेल हालेर बस्न मिल्दैन । दैनिक समाचारहरु तपाईले पक्कै पनि हेर्नु भएको होला । नेपालमा रहेका सबै विदेशीहरु विमान चार्टड गरेर आआफ्नो देश गैसकेका छन् । त्यो पहलउनीहरुका देशलेनै गरेका छन्। नेपालीहरु पनिविश्वकाविभिन्न देशमा अध्ययन, रोजगारी लगायतका विभिन्न भूमिकामा छन् । अझ गल्फलगायतका मुलुकमा रोजगारीमा रहेका ३० लाखभन्दा बढि नेपालीहरुले आर्जन गरेको कमाई बैदेशिक मुद्रा संचिति र समग्रमा हाम्रो अर्थतन्त्रको मेरुदण्डनै हो ।

सरकार के हो ? सरकार किन चाहिन्छ ? भन्ने कुरा यस्तै महामारीमा राज्यले आफ्ना नागरिकप्रति गर्ने व्यवहारले देखाउने हो । राज्यकालागि आफ्ना नागरिक भौगोलिक सिमाभित्र भएका मात्रै होईन, विश्वका जुनसुकै कुनामा रहेका नेपाली राहदानी बोकेका सबैको यो महाव्याधीको समयमा सुरक्षा दिनु राज्यको कर्तव्य हो ।

तर पछिल्लो समय सरकारको काम कारबाहीले नागरिकहरुले आफ्नो नागरिकताप्रति गर्व गर्न सक्ने वातावरण बनेको देखिएको छैन् । नेपालमा रहेका अमेरिकन, बेलायतीलगायतका नागरिकहरु उनीहरुका देशले नै विमान चार्टड गरेर आफ्नो देश लगिसकेका छन् । तर तपाईले महाकालीपारी सिमामा आएर हामी आफ्नो देशमा पाइला टेक्न चाहन्छौ भनेका दाजुभाई दिदीबहिनीलाई समेत प्रहरी लगाएर पारिनै खेद्नु भएको छ । नेपाल आउन सिमामा आएका ति नेपाली दाजुभाईलाई नेपालभित्र क्वारेन्टाइन बनाएर राख्ने क्षमता के सरकारसँग छैन ? छिमेकी मुलुक भारतमा रहेका हजारौ नेपालीहरु आफ्नो देश फर्कन चाहन्छन् । उनीहरुलाई नेपाल ल्याउने सरकारको दायित्व हुन्छ कि हदैन ?

खाडी मुलुकमा रोजगारीमा गएका कतिपय नेपाली कामदारहरुलाई रोजगारदाता कम्पनीहरुले घर फर्कन भनेका छन् । के तिनीहरुलाई आफ्नो देश ल्याउन सरकारले पहल गर्नु पर्दैन ? अध्ययनको सिलशिलामा विदेशमा रहेकालाई कलेजका होस्टलले अहिले निकालेको अवस्था छ । उनीहरुसँग पैसा सकिएर दैनिक गुजारामा समस्या दिनदिनै बढेको छ । तपाईका विदेशस्थित दुतावासहरु के गरिरहेका छन्?

प्रधानमन्त्रीज्यू,
कोरोना भाइरसको महाव्याधीको अहिलेको अवस्थामा नेपाली कांग्रेसको कार्यकर्ता र नेपाली नागरिक हुनुको नाताले तपाईलाई यो पत्र लेख्दैछु । म नेपाल सरकारसँग जतिसक्दो चाडो निम्न बमोजिमको काम गर्न यो पत्रमार्फत ७ बुँदे विषेश आग्रह गर्न चाहन्छु ।

१. विश्वभरी कोरोनाभाइरस संक्रमणको संख्या बढ्दो क्रममाछ । जसका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या पैदा भएको छ । विभिन्न देशमा रहेका नेपालीहरु, जो नेपालआउन चाहन्छन, उनीहरुलाई तत्काल नेपाल ल्याउने व्यवस्था गरियोस् । खाडीका कतार, युएई, ओमन, बहराईन तथा मलेसियालगायतका अन्य मुलुकहरुबाट पनि कामदारहरु नेपाल आउनका लागि पहल गरिरहेका छन् । त्यसका साथै अमेरिका, बेलायत, अष्टेलिया, साईप्रस, माल्टा लगायतका अन्य मुलुकमा रहेका विद्यार्थीहरु खर्च सकिएर बसिरहेका छन् । उनीहरुलाई तत्काल कुटनीतिक पहल गरेर विमान चार्टड गरेर भएपनि नेपाल ल्याउने व्यवस्था गरियोस् ।

२. गल्फमा नेपालीहरु ठूलो संख्यामा रोजगारीमा छन् । अहिले कुवेत सरकारले फर्कन चाहने कामदारहरुलाई निःशुल्क टिकट दिने व्यवस्था गरेको छ । त्यहाँ रहेका विदेशी कामदारहरुलाई आआफ्ना देशहरुले फिर्ता गर्न थालिसकेका छन् । तसर्थ नेपाल सरकारले तत्काल त्यस्ता मुलुकमा कुटनीतिक पहल गरेर आफ्ना नागरिक जो नेपाल आउन चाहन्छन्, उनीहरुलाई फिर्ता ल्याउने प्रवन्ध गरियोस् ।

३. विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याएपछि उनीहरुलाई कम्तीमा पनि २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने प्रवन्ध तत्काल गर्न आवस्यक छ । होटल व्यवशायीहरु, स्कुल र कलेज संचालकहरुले आफ्नो भवन सरकारले चाहेमा क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने भनेका छन् । सरकारले तत्काल काठमाडौं लगायतका अन्य क्षेत्रका होटल र स्कुल वा कलेजलाई आवस्यकता अनुसार क्वारेन्टाइन बनाओस् । जसले विदेशबाट आएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निश्चित समयसम्म क्वारेन्टाइनमा सुरक्षित रुपमा राख्न सकियोस् ।

४. विदेशमा बस्ने नेपालीहरुले अहिले भोगेको अर्को समस्या भिषा पनि हो । भिषा सकिएका नेपालीहरु धेरै मुलुकमा छन् । उनीहरुलाई नेपाल ल्याउने वा निश्चित समयकालागि भिषा थप्ने कुटनीतिक पहल सरकारले तत्काल गरोस् ।

५.अहिले सरकारी ढुकुटीमा पैसा हुदाहुदै पनि लकडाउन बाहेक अन्य उपायहरु सरकारले अपनाउन सकेको देखिएको छैन् । कोरोनाको संक्रमणको संख्याको आकलन गरी तत्काल प्रताडित समुदायको पहिचान गरी प्याकेज कार्यक्रम घोषणा गरेर काम अघि बढाइयोस् । स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टचार भएको भन्ने समाचार आईरहेका छन् । महामारीको समयमा मुद्रातर्फ ध्यानजानु निकै ठूलो अपराध हो । आवस्यक स्वास्थ्य सामाग्री, भेन्टिलेटर, गुणस्तरीय कोरोना परिक्षण किट तत्काल खरिद गरेर तयारी चुस्त बनोस् । स्वास्थ्य सामाग्रीको गुणस्तरमा सम्झौता गर्ने अधिकार सरकारलाई छैन । किटका बारेमा अन्तर्राष्टिय मापदण्ड पुरा गरेको मात्रै खरिद गर्नेगरी मापदण्ड बनाइयोस् ।

६.महाव्याधी लम्विदै गयो भने बैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको रोजगारी गुम्ने खतरा छ । त्यसको पूर्वतयारी स्वरुप सरकारले अहिले नै उनीहरुको लागि रोजगारीको विषेश कार्यक्रमको तयारी सुरु गर्न आवस्यक छ । म सरकारलाई बैदेशिक रोजगारीबाट जागिर गुमेर फर्केका नेपालीहरुलाई स्वरोजगार वा अन्य रोजगारीको कार्यक्रम तर्जुमा गर्न आग्रह गर्दछु ।

७. विश्वभरी नै स्वास्थ्यकर्मी र मेडिकल सामाग्रीको अभाव छ । यस्तो अवस्थामा खाडीलगायतका अन्य मुलुकहरुमा रोजगारीमा रहेका नेपालीहरु विरामी परेमा उपचार हुन नसक्ने अवस्था आउन सक्छ । सिमित स्रोत साधन हुदा पक्कै पनि उनीहरुले आफ्ना मुलुकका नागरिकलाई प्राथमिकतामा राखेर उपचार गर्न सक्छ । त्यसैले यस विषयमा पनि सम्वन्धित मुलुकमा कुटनीतिक पहल गरेर उपचारमा भेदभाव नगर्ने नीति लिन सम्बन्धित देशलाई आग्रह गर्न आवस्यक छ ।

जय नेपाल ।

गोविन्द भट्टराई
केन्द्रिय सदस्य एवं प्रमुख, जनसम्पर्क समन्वय विभाग, नेपाली कांग्रेस