देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा हालसम्म कोरोनाको १३ हजार नमूना परीक्षण, के फरक छ र्‍यापिड र पिसिआर विधिमा ?

देशान्तर

काठमाडौं । कोभिड­ १९ को १३ हजार जनामा परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड­ १९ को सङ्क्रमण देखिएको छ । अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा र ५६ जिल्लामा आरडिटीमाध्यमबाट परीक्षण भइरहेको छ । पिसिआरबाट छ हजार २९९ जना र आरडिटी छ हजार ६०६ जनाको परीक्षण गरिएको छ ।

आजै मात्र पिसिआरबाट ५८४ र आरडिटीबाट एक हजार ३१६ जनाको परीक्षण गरिएको छ । प्रवक्ता डा देवकोटाले धेरैभन्दा धेरै मानिसको परीक्षण गर्नका लाागि आरडिटी प्रयोग गरिएको बताउनुभयो । अहिलेसम्म आइसोलेशनमा ९९ रहेका छन् । तीमध्ये १२ जना काठमाडौँ र ८७ जना उपत्यका बाहिर रहेका छन् । मोबाइल एपमा स्व­परीक्षण गरिएकामध्ये आज नौ जना ‘रेड जोन’मा रहेका छन् । अहिलेसम्म २२८ रेडजोनमा रहेका छन् ।

यसैगरी प्रवक्ता डा देवकोटाले सोमबार कैलाली र रौतहटमा देखिएका कोभिड­ १९ सङ्क्रमितका आफन्त, नातेदार र नजिकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिनुभयो । यसैगरी आज पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा होम क्वारेन्टाइनमा बसेका दुई जनामा सङ्क्रमण देखिएको छ । उनीहरुको पनि कन्ट्याक ट्रेसिङ्ग भइरहेको उनले जानकारी दिए । अहिलेसम्म पाँच हजार ७७१ क्वारेन्टाइनमा बसेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले पिसिआरको दायरामा ल्याउन नसिकने व्यक्तिमा आरडिटी गरिएको जानकारी गराइन् । उनले पिसिआरभन्दा आरडिटीबाट नमूना परीक्षण गर्न सजिलो भएकाले यो विधि नेपाललगायत विश्वका धेरै देशले प्रयोग गरिएको बताइन् ।

आरडिटी प्रत्यक्ष फिल्डमा गएर रगत लिई नमूना परीक्षण गरिन्छ । रगत लिएको १५ मिनेटमा नै नजिता देखाउछ । आरडिटीले कोभिड­ १९ को सम्भावित सङ्क्रमण देखाउने र पिसिआरले त्यसको यकिन गर्ने गर्दछ । प्रयोगशालाका निर्देशक डा झाले पिसिआरले छ घण्टामा नमूनाको नतिजा दिने बताइन् ।