देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आतंकवादको आतंक

देशान्तर

भारतको कश्मिरको पुलावामा भएको आतंकवादी हमलामा परेर सीमा सुरक्षा प्रहरीका ४० जना र भोलिपल्टको सर्च अपरेसनमा थप चार सैनिकको मृत्युका लागि पाकिस्तान जिम्मेदार भएकाले उसलाई पाठ सिकाउने चेतावनी दिनु अस्वभाविक होइन र छैन पनि ।

यद्यपि भारतले पाकिस्तानमाथि आतंकवादीलाई आश्रय र संरक्षण दिइरहेको आरोप लगाएको यो पहिलो अवसर होइन, तथापि भारत, लोकसभाको निर्वाचनको तयारीमा जुटिरहेका बेला भएको त्यो घटनाले बदलाको कारवाही अपरिहार्य तुल्याएको अनुमान सबैतिरबाट लगाउन थालिएको छ । अर्को कुरा, पाकिस्तानमाथि त्यस्तै आरोप अफगानिस्तानले पनि लगाउँदै आएको छ ।

त्यत्ति मात्र होइन, चीनका उइगुर विद्रोहीहरुले पनि पाकिस्तानी मुस्लिम आतंकवादीबाट समर्थन र विस्फोटक पदार्थको सहयोग प्राप्त गरिरहेको आक्षेप चीनको पनि छ । उता भारतले चीनमाथि जैशे महमद नामको आतंककारी संगठनका कुख्यात प्रमुख मसुद अजहरलाई राष्ट्रसंघको विश्वकै खतरनाक आतंककारीको सुचिमा सुचिकृत गर्नबाट रोकेको आरोप पनि लाग्दैआएको छ ।

पाकिस्तानका मुस्लिम आतंककारीहरु भारतभित्र घुसपैठ गरेर आतंक मच्चाउने भएकाले चीनले तिनको बचाउ र सहयोग गर्ने गरेको हो । त्यो अहिले मात्र होइन, पहिलेदेखि नै निरन्तर जारी रहेको छ । चीनमाथि त्यस्तो आरोप भारतले मात्र होइन, अमेरिका र राष्ट्रसंघ आफैंले पनि लगाउने गरेको छ । उसलेचाहिँ शत्रुको शत्रु मित्र हुन्छ भन्ने उक्तिको अनुसरण गरेर तिनको समर्थन र सहयोग गर्दैआएको छ ।

मसुद अजहर त्यही आतंककारी हो, जसलाई भारतको जेलबाट छुटाउन उसको तत्कालीन संगठन– हरकतउल मुजाहिदिनले बिसं २०५६ सालमा काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डियन एयरलाइन्सको जेट विमान अपहरण गरेर अफगानिस्तानको कन्दहारमा उतारेको थियो । १५० यात्रीको ज्यान जोगाउन त्यसबेला भारत सरकारले अजहरलाई जेलबाट रिहा गरेर आफगानिस्थान पु¥याइदिएको थियो ।

त्यसपछि उसले उसले मुजाहिदिन भंग गरेर त्योभन्दा ठूलो र व्यापक संजाल भएको नयाँ संगठन खडा गरेको थियो, जसलाई पाकिस्तानी सेना, आइएसआई, अलकायदा र अफगान तालेवानको सहयोग प्राप्त थियो । त्यसैको नाम जैशे महमद हो । विगत १९ वर्षमा भारतमा जति ठूला आतंकवादी गतिविधि भएका छन्, ती सबै त्यसैले गरेको र त्यसको मुख्य तालिम केन्द्र पाकिस्तानमा भएकाले भारतले पाकिस्तानमाथि आतंककारीलाई संरक्षण प्रदान गरेको आरोप लगाउँदै आएको हो ।

हुन त आतंकवादलाई संरक्षण दिने देशमा पाकिस्तान मात्र पर्दैन, अमेरिकाले इराक, लिविया र सिरियामा जे गरिरहेको छ, त्यसलाई पनि अन्तर्राष्ट्रिय आतंकवाद नै मानेको छ, रुसले । रुसले क्रोयशियाको आन्तरिक मामिलामा हस्तक्षेप ग¥यो भन्ने नाममा अमेरिका र युरोपेली संघका सदस्याले नाटोका सैनिक पठाएर हस्तक्षेप गरेको घटना धेरै पुरानो भएको छैन । क्रिमिया टापुमाथि रुसले सेना पठाएर कब्जा जमाएको विरोधमा पनि ठूलो हंगामा भयो । अत्यमा त्यही भयो, जे हुँदै आएको छ ।

त्यो भनेको जिसका लाठी, उसिका भैंस हो । अफगानिस्थानमाथि सोभियत संघको सेनालाई निकाल्न अमेरिका र युरोपेलीहरुले पाकिस्तानमा आतंकवादी तालेवानको विशाल नेटवर्क स्थापना गर्न लगाए । ओसामाविन लादेनको अल कायदा त्यसैको उपज थियो । अफगानिस्तानबाट सोभियत सैनिक हटेपछि अमेरिका पनि त्यहाँ टिक्न सकेन, तालेवानले कब्जा ग¥यो । उसलाई हटाउन फेरि अमेरिकाले नाटोको सहयोग लिएर आक्रमण नै गर्नुप¥यो । अनि, अफगानिस्थानीहरुले पनि अमेरिकनलाई आतंककारी किन नठानुन् ?

कुनै समय आतंकवादी क्रियाकलापको कपी राइट प्यालेस्टाइनसंग मात्र थियो । इजरायलका विरुद्ध उनीहरुले नै विश्वव्यापी आतंकवादी गतिविधि संचालन गरेका थिए । तर अराफातको संघर्षपूर्ण जीवनको अंतिम समयमा आएर अमेरिकाले इजरायलसंग सम्झौता गरायो र प्यालेस्टाइन नामको नयाँ देश अस्तित्वमा आएपछि त्यसले केही विश्राम पायो ।

प्यालेस्टाइनभित्र पनि हमास जन्मियो । हमास पहिले पनि थियो तर त्यो अराफातको अन्त्यपछि प्रभावशाली बन्यो र आपस्तमै संघर्ष चर्किनथाल्यो । परिणाम यो भयो कि उनीहरुले कहिलेकाहिँ इजरायललाई, निसाना बनाउँछन्, होइन भने त्यसदेखि बाहिरको शेष विश्वलाई हेर्न छाडिसकेका छन् । केही वर्ष अघि इस्लामिक स्टेटका नाममा आतंकको लहर चलेको थियो, त्यो पनि उभन्दा अझ ठूलो आतंकवादी– अमेरिका र युरोपेली संघको फेला पर्नपुग्यो र मरिच चाउरिएजस्तै चाउरिएर नाम मात्रको रहन पुगेको छ ।

अरबको खाडीका मुलुकहरुमा पहिले सद्दाम हुसेनको इराकले दादागिरि देखाउँथ्यो, अहिले त्यस्तो भूमिकामा सउदी अरब देखापरेको छ । उसले यमनमाथि सैनिक हस्तक्षेप गरेको छ भने कतारमाथि आर्थिक नाकाबन्दी कायम राखेको छ ।

सउदी अरबका राजपरिवारका सबैभन्दा शक्तिशाली मानिएका युवराज सलमान अहिले आफ्नो देशलाई क्षत्रीय शक्तिका रुपमा खडा गर्ने होडमा लागेका छन् । यमनबाट इरानी प्रभाव हटाउने र त्यस्तो रिक्ततालाई आफूले पूरा गर्ने अभियानमा लागेका उनले आफ्ना पुराना सल्लाहकार रहिसकेका पत्रकार जमाल खसोगीको टर्कीमा हत्या गराएको आरोप खोपिरहेका छन् ।

उनी अहिले भारत र पाकिस्तानको तनाब रोक्न र वार्ताका माध्यमबाट समस्या सपाधान गर्न पाकिस्तान र भारतको भ्रमण सकेर चीन पुगेका छन् । जसमाथि नरहत्याको आरोप लागेको छ, उसैले आतंकवादी क्रियाकलाप रोक्न भारत र पाकिस्तानलाई सम्झाउने ? त्यस्तो हैसियत उनले कसरी प्राप्त गरे ? पेट्रोलको पैसा छेलोखेलो हुनु नै हत्याको षड्यन्त्रजस्तो गम्भीर आरोपबाट उन्मुक्तिको ग्यारेन्टी हो ?

नेपालका कविशिरोमणि लेखनाथ पौड्यालले झण्डै एकसय वर्षअघि “धन महिमा” लेखेका थिए, जसमा भनेका थिए– धन भयो भने सानोठूलो जात र कुलको, कुरुप र रुपवान्को कुनै भेदभाव हुँदैन, त्यस्ताले हाँकेपछि जे पनि हाँकिन्छ । नभन्दै सउदी अरबका युवराजले त्यो कथन आज पनि उत्तिकै सान्दर्भिक भएको सावित गरिदिए । भारतले बुझेको छ, उनको स्वभाविक सहानुभूति पाकिस्तानप्रति छ । तैपनि उसले उनको स्वागत ग¥यो ।

त्यसो गरेर उसले खुद आतंककारीका आरोपी मध्यस्थकर्ता हुने विचित्रको भूमिकालाई मान्यता दियो । त्यसो त भारत आफैं पनि आतंककारीका मामलामा दोहोरो मापदण्ड अपनाउने देशमा गणना हुन्छ । त्यसको ज्वलन्त उदाहरण नेपाल नै छ । नेपालका आतंककारीलाई लोकतन्त्रवादीको गंगाजलले चोख्याएर सत्ताको साँचो सुम्पने आरोपबाट श्रापित छ, भारत ।

उसले आफ्नो देशका माओवादीलाई लोकतन्त्रवादी तुल्याउन सकेको छैन तर नेपालका १७ हजार निर्दोष नेपालीका हत्यारा माओवादी, जसलाई सबैभन्दा पहिले उसैले आतंककारी घोषित गरेको थियो, उसलाई लोकतन्त्रवादी बनाएर दिल्लीबाट काठमाडौं पठायो– १२ बुँदे दिल्ली सम्झौता गराएर । त्यो घटनाले भारतलाई आतंकवादका विषयमा दोहोरो मापदण्ड अपनाउने देशका रुपमा अन्तर्राष्ट्रियजगतमा स्थापित हुन पुगेको छ ।

मुस्लिम आतंकवादीले अफ्रिकी महादेशका– सोमालिया, केन्या, सुडान, नाइजेरिया, कंगोलगायत अनेक साना देशमा पनि आफ्ना संजाल विस्तार गरेका छन् । त्यसको दुस्प्रभावबाट कोही बचेका छैनन् । आतंकवाद, आतंकवाद नै हो, जहाँसुकै होस्, त्यसले मानिसको बाँच्न पाउने अधिकार मात्र कुण्ठित गर्दैन, सभ्यतालाई नै कुरुप र कलंकित तुल्याइरहेछ । त्यसैले त्यसमाथि प्रभावकारी नियन्त्रण मानव जातिकै चुनौति हो ।