देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका संस्थापक नेता एवम् पूर्वसभापति सुवर्ण शमशेरको आज ४० औं स्मृति दिवस

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वसभापति सुवर्ण शमशेर राणाको आज ४० औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैछ ।

२३ वर्षको उमेरमा स्नातकोत्तर गर्नुभएका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर समेत रहेका थिए । केही समय राजा महेन्द्रलाई राजदरबारभित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो ।

२००४ चैत ३१ गते श्री ३ मोहन शमशेरले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपालजस्तो मुलुकमा राणाशासन फाल्ने सशस्त्र संघर्षमात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म वीपी पनि सहमत रहेका थिए ।

२००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले ’राष्ट्रिय’ र ’प्रजातन्त्र’ शब्द झिक्ने सहमतिपश्चात पार्टी एकीकरण भयो । र एकीकृत पार्टीको नाम नेपाली कांग्रेस बनेपछि सुवर्ण कोषाध्यक्ष बनेका थिए ।

२००७ फागुन ७ गते प्रजातन्त्रको घोषणासँगै गठन भएको संयुक्त सरकारमा क्रान्तिनायक सुवर्ण शमशेर अर्थमन्त्री बनेका थिए । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलोपटक बजेट प्रस्तुत गरेका थिए ।

२०१२ माघमा वीरगन्जमा सम्पन्न् महाधिवेशनले गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेरलाई सभापतिमा निर्वाचित ग¥यो । महाधिवेशनले कांग्रेसको इतिहासमै अति महत्त्व राख्ने समाजवादी सिद्धान्तलाई अनुमोदन गरेको हो । त्यसपछि कांग्रेस समाजवादी पार्टी बन्यो । समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरेका थिए ।

२०१५ भदौ ३ गते मन्त्रिपरिषद अध्यक्ष एवं अर्थमन्त्री हुनुभएको थियो । उहाँकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आमचुनाव भएको थियो । १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गरेको थियो ।

२०१६ जेठ १३ गते वीपी कोइरालाको प्रधानमन्त्रीत्वमा पहिलो जननिर्वाचित सरकार गठन भयो । वीपीको विशेष आग्रहमा मन्त्रिपरिषदका अध्यक्ष भइसकेका सुवर्णले उक्त मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीका साथै अर्थ, आयकर र योजना विकासमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

२००७ को सशस्त्र क्रान्तिले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासनपश्चात २०२५ मा उनी स्वदेश फर्केर जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल समेत गरे ।

वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापनानिम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो । नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुनसकेनन् । २०३४ कात्तिक २४ गते सुवर्ण शमशेरको कलकत्तामा निधन भयो ।

खानदानी सुखसयललाई तिलाञ्जली दिँदै देश, जनता र प्रजातन्त्रका लागि संघर्षको मैदानमा ओर्लेनुभएका सुवर्ण शमशेरले जीवनको अन्तिम दिनसम्म पनि सिद्धान्त र निष्ठाको राजनीति गरिरहे ।