देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा व्यक्तिभन्दा प्रवृत्ति बदल्न आवश्यक छ

देशान्तर

नेपाली कांग्रेस यतिबेला विधान संशोधनको तयारीमा छ । विधान संशोधनबाट कस्तो कांग्रेस बनाउन खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस समकालीन राजनीतिमा नेपालको सबैभन्दा पुरानो र बलियो राजनीतिक शक्ति हो । हामी सत्तामा नरहे पनि नेपालको हरेक राजनीतिक आन्दोलनको नेतृत्व गरेको राजनीतिक शक्तिका रूपमा नेपाली समाजमा स्थापित छौं ।

त्यसैले आधुनिक नेपाली समाजको आवाज नै हाम्रो आवाज हो । आधुनिक नेपाली समाजको आवश्यकता नै हाम्रो आवश्यकता हो । नेपाली समाजको आवश्यकता अनुसारको राष्ट्रनिर्माणको अभिभारा नेपाली कांग्रेसले मात्रै पूरा गर्न सक्छ । यही कारण हामी नेपाली कांग्रेसलाई समयानुकूल परिमार्जन गर्दै लैजाने तयारीमा छौं ।

शान्तिप्रक्रिया र संविधान निर्माणको सफलताका साथ नेतृत्व गरिसकेपछि नेपाली कांग्रेसको दायित्व अब परिवर्तनलाई संस्थागत गर्दै समृद्ध नेपाल बनाउने रहेको छ । यो दायित्व पूरा गर्न हामीलाई संगठित र सशक्त कांग्रेस चाहिन्छ ।

हामी महासमितिको बैठकको तयारीमा छौं । त्यसैले महासमितिमार्फत पार्टीको विधानलाई समयानुकूल परिवर्तन गर्न लागेका छौं । यो पार्टीको नियमित काम पनि हो । अहिले संघीय संरचनामा मुलुक गए पनि कांग्रेसको संरचना पुरानै अवस्थामा छ । संविधानअनुसारको संरचना निर्माण गर्न र पार्टीभित्र सबैले अपनत्व महसुस गर्ने संरचना बनाउन हामी विधान संशोधन गर्दैछौं ।

तपाईंले पार्टीभित्र सबैको अपनत्व स्थापित गर्न विधान संशोधन गर्ने भने पनि विधान मस्यौंदा समितिको काम, सुझाव संकलन र अन्य तयारी त गुटहरूको स्वार्थलाई ध्यानमा राखेर भइरहेको छ नि ?

यो पार्टीभित्र बहसको विषय हो । अझै पनि हामी पार्टीभित्रको परम्परागत गुटको घेराबाट मुक्त हुन सकेका छैनौं । निर्वाचनमा हारेका कारण मात्रै नभएर पार्टीलाई साँच्चै नै आधुनिक नेपालको नेतृत्व गर्न सक्ने बनाउन हाम्रो कार्यशैली बदल्न आवश्यक छ । तर तपाईंले भनेजस्तो विधान संशोधनको बहस कताकता गुट केन्द्रित देखिन्छ ।

हुन त पार्टीभित्र विधान संशोधनका लागि अलगअलग प्रस्ताव र सुझाव आउनु गलत कुरा भएन । फरक विचार आएकै कारण गुटगत भयो भन्नु र गुट नै गलत हो भन्ने स्थिति पनि छैन । यद्यपि पार्टीको स्वार्थमा आधारित छ कि व्यक्तिको स्वार्थमा आधारित छ भन्ने कुरा महत्वपूर्ण हो ।

अहिले केही नेताहरूले आफ्नो स्वार्थ, भविष्यमा आफ्नो भूमिकालाई केन्द्रमा राखेर विधान संशोधनको बहसलाई अगाडि बढाउन खोज्नुभएको देखिन्छ । यद्यपि यो सधैं एकनास हुने छैन । प्रारम्भमा जस–जसले स्वार्थसिद्ध गर्न खोजे पनि केन्द्रीय समिति र महासमितिको बैठकले कांग्रेसको विधानलाई व्यक्ति केन्द्रित हुन दिने छैन भन्नेमा म विश्वस्त छु ।

गुटभन्दा पार्टी हित केन्द्रमा राख्नुपर्ने अवस्था छ । बदलिँदो परिवेशमा नेपाल कम्युनिस्ट पार्टीसँगको प्रतिस्पर्धा हाम्रा लागि चुनौतीपूर्ण छ । हिजो एमाले र माओवादीसँग प्रतिस्पर्धा गरे जति सजिलो नेकपासँगको प्रतिस्पर्धा छैन । त्यसैले व्यक्ति वा गुटभन्दा पार्टी बलियो हुने विधान बनाउन जरुरी छ ।

नेकपासँग प्रतिस्पर्धा गर्ने कांग्रेस बनाउनुपर्छ भन्नुभयो, त्यो भनेको कस्तो हो ?

नेकपा अहिले हाम्रो मुख्य राजनीतिक प्रतिस्पर्धी हो । गएको चुनावमा सबैखालको औजार प्रयोग गरेर नेकपा विजयी भयो । वाम गठबन्धन होस् वा राष्ट्रवादको नारा वा नेपाली कांग्रेसका कमजोरीको प्रचार सबैकुरा हामी निर्वाचन हार्न कारक रहे ।

मूल कुरा पार्टी नेतृत्वका अदूरदर्शी र अपारदर्शी कामहरू कांग्रेस हार्नुका कारण थिए । यो हारको जिम्मा पार्टी नेतृत्वले लिनुपर्छ भनेर देशभरका कांग्रेसले भने तर पार्टी नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छियो । निर्वाचनपछि पार्टीको कार्यशैली फेरिएला भन्ने धेरै कार्यकर्ताको आस थियो । अहिलेसम्म त्यसको छनक देखिएको छैन ।

प्रतिस्पर्धी शक्ति बलियो हुँदै जाने हो र कांग्रेसको कार्यशैली यस्तै रहने हो भने हामी संकटमा पर्ने निश्चित छ । त्यो संकट टार्नका लागि हामीले औपचारिक लक्ष्य तय गरेर जानुपर्छ । अहिलेलाई त्यस्तो लक्ष्य भनेको आगामी निर्वाचनमा नेकपालाई हराउने र बहुमत हासिल गर्ने भन्ने हो । यो उद्देश्य सुन्दा प्रिय लाग्ने तर प्राप्त गर्न उत्तिकै कठिन छ ।

यदि निर्वाचन जित्ने कुरा राजनीतिक दलको सफलताको मापक हो भने विगतमा हामीले निर्वाचन जितेकै हो । अब फेरि जित्ने लक्ष्य राखेर त्यहीअनुसारको संगठन बनाउनुपर्छ ।

तपार्इंले भनेजस्तो संगठित कांग्रेस बनाउन सभापतिको अधिकार थपेर मात्रै हुन्छ कि सामूहिक नेतृत्वमा पार्टी चल्नुपर्छ ?

पार्टीभित्र अहिले मुख्य बहसको विषय यही हो । एकथरी साथीहरू सभापतिलाई अधिकार कम भयो भन्नुहुन्छ । अर्कोथरी साथीहरू सभापतिको अधिकार बढी भयो भन्नुहुन्छ । प्रस्तावित विधानमा पदाधिकार, विभाग, संसदीय समिति र अनुशासन समिति सभापतिले सोझै मनोनीत गर्न पाउने प्रस्ताव गरिएको छ ।

ती सबै निर्वाचित हुनुपर्छ भन्ने वैकल्पिक प्रस्ताव पनि छ । कतिपयले अहिलेकै व्यवस्थाको निरन्तरताको पनि कुरा उठाउनु भएको छ । मुख्य कुरा कसको अधिकार बढाउने भन्ने होइन, अधिकार पाएको निकायले ठीकसँग त्यो काम गर्छ कि गर्दैन भन्ने हो । कांग्रेसको केन्द्रीय सभापति शक्तिशाली हुने कुनैबेला थियो ।

प्रतिबन्धित कालमा सभापतिको निर्णयका आधारमा पार्टी चलेकै हो । अहिले राजनीतिक वातावरण स्थिर छ । हाम्रै नेतृत्वमा सम्भव भएका राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न जरुरी छ । यस्तो बेला हामी सबै मिलेर अघि बढ्न सकेनौं भने राम्रो हुँदैन । सभापतिका रूपमा सुशील कोइरालासँग जति अधिकार थियो शेरबहादुर देउवासँग नि त्यति नै अधिकार छ ।

चुनावको हारजित नै मूल्यांकनको विषय हो भने त सुशीलदाको पालामा निर्वाचन जितेका थियौं, अहिले हा¥यौं । त्यसैले अधिकारले मात्रै सबै कुरा हुँदैन । नेतृत्वले सबैलाई मिलाउन सकेन भने विधानको अधिकारले मात्रै पार्टी बलियो हुँदैन । त्यसैले आत्मकेन्द्रित हुने वा आफ्नै अधिकार बढाउनेभन्दा पनि कांग्रेसका सबै तहका संरचनाहरूको नेतृत्वले सामूहिकतामा जोड दिने बानी बसाल्नु राम्रो हुन्छ । अधिकार बाँडफाँडभन्दा पनि कर्तव्यपालना बारे सोच्ने हो भने अहिलेको बहस समाधान हुन्छ ।

महासमितिको तयारी भइरहे पनि कतिपय नेताहरू महाधिवेशनकै तयारीमा हुनुहुन्छ । कतिपयले नेतृत्व परिवर्तनको आवाज उठाउनुभएको छ भने कतिपय निरन्तरताकै पक्षमा बोल्नु भएको छ । तपाईंको धारणा के छ ?

मेरो धारणाभन्दा पनि यसबारेमा समय आए पनि महाधिवेशनले नै उचित धारणा बनाउनेछ । अहिले हामीलाई कस्तो कांग्रेस चाहिएको छ भन्ने कुरा केन्द्रबाट भन्दा पनि तलका साथीहरूबाट आउन जरुरी छ । नेतृत्वका लागि प्रतिस्पर्धा गर्न योग्य उम्मेदवारहरूबाट कसलाई छान्ने भन्ने अवसरको सदुपयोग कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले निश्चय नै गर्नेछन् ।

मेरो बुझाइमा नेतृत्वमा को उपयुक्त होला भनेर बहस गर्ने बेला भइसकेको छैन । तर सैद्धान्तिक रूपमा कांग्रेसको नेतृत्व समयको चापलाई बुझ्न सक्ने, प्रतिस्पर्धीसँग भिड्न सक्ने र समग्रमा कांग्रेस नेता कार्यकर्ताहरूको भावना बुझ्न सक्ने हुनुपर्छ । नेतृत्व परिवर्तन बहसको मात्रै विषय होइन यो त आवश्यकताको सिद्धान्त पनि हो ।

नयाँ नेतृत्व आउनुपर्छ भन्नेहरूले पनि महाधिवेशनबाटै यसलाई स्थापित गर्नुपर्छ । जो साथीहरू निरन्तरको पक्षमा हुनुहुन्छ उहाँहरू पनि महाधिवेशनबाटै अनुमोदित हुनुपर्छ । व्यक्तिगत रूपमा म नेतृत्व परिवर्तनको पक्षमा छु तर व्यक्तिभन्दा प्रवृत्ति बदल्नुपर्ने आवश्यकता कांग्रेसमा छ ।

अन्त्यमा, प्रतिपक्षी दलको केन्द्रीय सदस्यका रूपमा सरकारको कामलाई कसरी नियाल्नुभएको छ ?

नेपाली कांग्रेसले संसद्मा जिम्मेवार प्रतिपक्षको रूपमा सरकारलाई गलत काम नगर्न खबरदारी गरिरहेको छ । सरकार आफैंमा शक्तिशाली र दुई तिहाइ बहुमतसहितको भएकोले राम्रो काम गर्ला भन्ने धेरैको आशा पनि थियो । तर सरकारले धैर्य गुमाएको छ ।

आफ्नो तागत र जिम्मेवारी बिर्सेर सरकार अघि बढेको छ । नेपालको राजनीतिमा सबैभन्दा दुर्भाग्यपूर्ण परिस्थिति नेपाली जनताले अहिले नै भोगेका छन् । सरकार छ कि छैन भनेर सत्तारूढ दलका नेताले नै प्रश्न गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीलाई म सबैको प्रधानमन्त्री हुँ भन्ने विश्वास नै छैन ।

उहाँलाई सके नेकपाको, नसके ओली गुटको त्यो पनि नसके भाइभारदारको मात्रै प्रधानमन्त्री बन्ने रहर भएजस्तो छ । शान्तिसुरक्षा कायम गराउन सरकार असफल भएको मात्रै होइन सरकारकै डिजाइनमा अपराधी उम्काउने काम भएको छ । मूल्यवृद्धि र कालोबजारीले जनताको दैनिकी कष्टकर बनेको छ ।

अदालतमा राजनीतिक प्रभाव बढाउन खोजिएको छ भने कर्मचारीतन्त्रलाई त्राहीमाम बनाइएको छ । संसद् र संसदीय समितिलाई पंगु बनाउने काम भएको । प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायालय कुण्ठित पार्न खोजिएको छ । ७ महिनामै सरकार असफल भइसक्यो । यद्यपि पाँच वर्षका लागि बनेको सरकार पूरा अवधि चलोस् भन्ने कांगे्रेसको शुभकामना छ ।

उहाँहरू आफंैमा झगडा गर्न थाल्नुभएको छ । यति सुन्दर अवसर खेर फालेर यो सरकारले समृद्धिलाई अझ ५० वर्ष पर धकेल्ने खतरा बढेको छ । नीतिगत भ्रष्टाचार यति बढेको छ कि बिना प्रतिस्पर्धा टेण्डर बाड्ँन सरकार उद्यत् छ । समग्रमा सरकार असफल सावित भइसकेको छ । सरकारको असफलताले मुलुकलाई असफल बनाउनु हुँदैन । त्यसैले यो मुलुक असफल हुन नदिन सरकारविरुद्ध बलियो खबरदारी गर्नुपर्ने देखिन्छ ।