देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढी टिम चौराहा डिपिएलको फाइनलमा

देशान्तर

काठमाडौं । धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो।

हारका बावजुद काठमाडौंले दोस्रो क्वालिफायरमा मौका पाउनेछ। एलिमिनेटरमा मंगलबार दिउँसो सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदैछ। जित हात पार्ने टिमले काठमाडौं गोल्डेन्ससँग भिड्नेछ।

दोस्रो क्वालिफायरको विजेता र धनगढीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा पार गरेको हो।

धनगढीलाई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको स्थितिमा तेस्रो बलमा शंकर राना २८ रनमा रनआउट भएका थिए। चौथो बलमा योगेन्द्रसिंह कार्की ६ रनमा क्याच आउट भए। तर पाँचौ बलमा सांसद शेखले छक्का प्रहार गरेपछि धनगढीले रोमान्चक जित हात पार्यो।

खराब सुरुवात गरेको धनगढीले ओपनिङ ब्याट्सम्यान अस्फाक अहमेदलाई १ रनमै गुमायो। उनलाई काठमाडौंका सुवोध भाटीले आउट गरे। त्यसपछि ओपनर सुनील धमाला १४ बलमा १३ रन बनाएर आउट भए। रोहान मुस्ताफाले २० बलमा ३३ रन जोडेपछि धनगढीको इनिङले गति लियो।

ललित राजवंशीबाट बोल्ड हुनुअघि उनले २ चौका र १ छक्का हिर्काए। लगत्तै राजु रिजाल ६ रनमा आउट भए भने राजेशपुलामी मगरले ८ रन भन्दा बढी रन जोड्न सकेनन्। धनगढीका लागि आसा बनेका सोनु तामाङ १४ रनमा काठमाडौंका सनी पटेलको एलबिडब्लुको धरापमा परेका थिए। कप्तान सोमपाल कामी पनि ६ रनमै आउट भए।

बलिङतर्फ काठमाडौंका रसिद खान, साहब अलाम र सनी पटेलले २–२ विकेट लिए। ललित राजवंशी र सुवोध भाटीले १–१ विकेट हात पारे। त्यसअघि धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय २७ रन जोड्यो।

उसका लागि कस्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए। उनको पारीमा ३ चौका र २ छक्का सामेल थिए। त्यस्तै प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले सांसद शेखको हातबाट रनआउट हुनुअघि ३६ रन बनाए। पुष्प थापाले १६ तथा भुपेन्द्र थापाले १० रन जोड्नु बाहेक काठमाडौँका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ३ जना ब्याट्सम्यान खाता नै नखोली आउट भएका थिए।

सुरुवाती अवस्थामै विकेट गुमाएपनि ज्ञानेन्द्र र अमितले काठमाडौँको इनिङ समालेका थिए। तर यी दुबै ब्याट्सम्यान पेभेलियन फर्किएपछि काठमाडौँको इनिङ्ग ध्वस्त भएको थियो। ९६ रन हुँदा आफ्नो चौथो विकेट गुमाएको काठमाडौँले बाँकि २६ रन जोड्दा ५ खेलाडीलाई गुमाएको थियो।

घरेलु टोली धनगढीका लागि सोमपाल कामी र ललित भण्डारीले २–२ विकेट लिए। सुनिल धमला, सांसद शेख र रोहन मुस्तफाले समान १–१ विकेट हात पारे।