देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालद्धारा मलेसिया ८ विकेटले पराजित,सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशन

देशान्तर

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य भेट्टाउन नेपालले ५.३ ओभरमा ५१ रन बनाएको थियो । मलेसियाको घरेलु मैदान बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाइ ४५ रन बनाएको थियो । सुरुमा निकै आक्रमक व्याटिङ गरेको मलेसियाले ५.४ ओभरमा ३३ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ११.६ ओभरमा ४१ रन बनाउँदा ९ विकेट गुमाएको थियो भने ४५ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वा्धिक ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिकुमार शाहले १ विकेट लिएका थिए । नेपालका लागि अनलिकुमार शाहले १५ बलमा २६, दीपेन्द्र ऐरीले ३ बलमा १२, आसिफ शेखले १४ बलमा ४, भीम सार्की १ बलमा तीन रन बनाएर लक्ष्य सहजै भेट्टाए ।

वर्षाका कारण खेल अवरुद्ध भएपछि २४ ओभरमा झारिएको थियो । शनिबार बंगलादेशसँगको पहिलो खेलमा २ विकेटको हार व्यहोरेको नेपाली युवा टोलीले आइतबार बलियो प्रतिद्वन्द्वी भारतलाई १९ रनले पराजित गरी इतिहास रच्न सफल भएको थियो ।

एसीसी यू–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह एमा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।