देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मारवाडी चेली निकिता बनिन मिस नेपाल

देशान्तर

काठमाडौं । मोरङ उर्लाबारीकी २० वर्षीया निकिता चन्दक यो वर्षकी मिस नेपाल बनेकी छिन् । १८ प्रतिष्पर्धीलाई पछि पार्दै उनले मिसनेपालको ताज पहिरिएकी हुन् । उनले आगामी वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । जितसँगै चन्दकले एक लाख रुपैयाँ पुरस्कार पाएकी छन् । ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले मिस नेपालको उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।

चन्दकले भारतको ‘जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्युनिकेशन विषय अध्ययन गरेकी छिन् । मुख्य निर्णायक बनेका नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालको महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान पुर्‍याउन सक्छन् भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनले ‘मिस अर्थ नेपाल’को टाइटल पनि हात पारेकी थिइन् ।

त्यस्तै मिस अर्थको ताज पहिरिदैं रोजिना श्रेष्ठले ७५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भइन् भने नीति शाहले ‘मिस नेपाल इन्टरनेशनल’को ताज पहिरिएर ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भइन् भने मिस एसिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत भएकी छन् । चन्दक मारवाडी परिवारकी चेली हुन् । मारवाडी परिवारका महिला प्राय: घरभित्रै रमाउँछन् तर घरको त्यो घेरा नाघेर निकिता नेपाल सु्न्दरी बनिन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी निकिता आफूमा भएको ट्यालेन्ट प्रस्तुत गरेर ताज हात पारेको बताउँछिन् । तर उनी आफूभन्दा अरु कमजोर भएको मान्न भने तयार छैनन् । उनी भन्छिन्– ‘अरुमा कम थियो मसँग बढी थियो भन्नेचाहिँ मलाई लाग्दैन । सबैजना पोटेन्सियल थिए । तर मैले मेरा ती प्रतिष्पर्धीबाट धेरै कुरा सिकेकी थिएँ, त्यो मैले मिस नेपालमा प्रयोग तथा प्रर्दशन गरें र ताज पहिरिएँ ।’
मिस नेपालको ताज पहिरिनुलाई सामाजिक जिम्मेवारीको रूपमा उनले लिएकी छिन् ।

यो सामाजिक जिम्मेवारी निर्वाह गर्न निकै कठिन रहेको उनको बुझाइ छ । त्यसैले आफू यो बाटोमा नयाँ भएकाले पहिलेका मिस नेपालले गरेका काम बुझेर सोहीअनुसार अघि बढ्ने उनले योजना बनाएकी छिन् । आफूलाई मारवाडी परिवारको भएकोले भारतीय फिचर आफूमा रहेको उनी स्वीकार्छिन् । तर आफूले नेपालको प्रतिनिधित्व गर्ने भएकोले आफूलाई नेपालभरको प्रतिनिधिको रूपमा उनले उभ्याएकी छिन् । ‘म मारवाडी परिवारबाट आएकी हुँ । मारवाडी भन्ने बितिक्कै इन्डियन फिचर त भइहाल्छ । मारवाडी भएकै कारण मेरो धेरै आलोचना भएको थियो । यस्तै आलोचना अरुका विषयमा पनि भयो होला । अब म विश्व सुन्दरी प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्नेछु । यही कारणले पनि म नेपालभरको प्रतिनिधि हुँ’, उनले भनिन् ।

मिस नेपाल प्रतियोगिताले आत्मविश्वास दिएको उनको बुझाइ छ । यसबाट आफूमा सकारात्मक सोचको विकास भएको पनि उनी बताउँछिन् । मिस नेपालको ताज पहिरिएपछि अब झन धेरै जिम्मेवारी आएकोले नेपालको लागि विश्व सुन्दरी प्रतियोगिताबाट ताज ल्याउने अठोट गरेकी छिन् । ‘मैले नेपालबाट प्रतिनिधित्व गर्नु छ र नेपालका लागि ताज ल्याउनु छ । मेरो पहिलो कदम त्यही हो । दोस्रो म नेपाली समाजका लागि सामाजिक कार्यमा लाग्ने योजना बनाएकी छु’, उनले भनिन्– ‘हामी मिस नेपालको तालिम गरिरहेका बेला माइती नेपाल भन्ने संस्थामा पुगेका थियौं । त्यहाँबाट फर्केपछि मैले मेरो व्यक्तिगत डायरीमा लेखेको छु म मिस नेपाल भएँ भने त्यहाँबाट आउने रकमको ५० प्रतिशत माइती नेपाललाई डोनेट गर्नेछु । म अहिले मिस नेपाल भएँ, अब म त्यहाँ गएर ५० प्रतिशत रकम हस्तान्तरण गर्छु ।’

उनी आफूलाई संवेदनशील मनोभाव भएको ठान्छिन् । ‘सानो कुराले पनि मलाई छुन्छ । तर मिस नेपाल भएपछि मेरो कुरा सबैले सुन्छन् । जब मेरो कुरा सबैले सुन्छन् तब केही गर्न सकिन्छ’, उनले भनिन् ।  निकिताले दुई वर्षअघि भारतबाट मोडलिङ सुरु गरेकी थिइन् । मोडलिङ सुरु गरेपछि परिवारलाई भन्न डराएकी उनले पछि यो कुरा दिदीलाई भनिन् । दिदीले परिवारलाई सम्झाएपछि उनको मोडलिङ यात्रा सुरु भयो । मोडलिङ यात्रा सुरु भएपछि पनि नातेदारले आलोचना गर्न भने नछाडेको तर परिवारले सपोर्ट गरेको उनले सुनाइन् ।