देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशी जेलमा ३१८ नेपाली : १७ जनालाई मृत्युदण्ड, ४३ लाई जन्मकैद

देशान्तर

काठमाडौं – विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो । आजको गोरखापत्रमा खबर छ ।

सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको अवस्था सार्वजनिक गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको परराष्ट्र शाखाका अनुसार विभिन्न देशमा कारावास सजाय भोगिरहेका ३१८ जना नेपाली नागरिकमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाइएको छ ।

यसैगरी विदेशका कारागारमा रहेका २३९ जनालाई न्यूनतम एक महिनादेखि ५० वर्षको कारावास सजाय तोकिएको पाइएको सो शाखाका वैदेशिक रोजगारविज्ञका रूपमा कार्यरत सुशील ढुङ्गानाले जानकारी गराउनुभयो । भारतबाट भने विवरण आउन बाँकी रहेको छ ।

उहाँका अनुसार विदेशी कारागारमा रहेका नेपाली नागरिकमध्ये सबैभन्दा बढी साउदी अरब,कतार, मलेसिया, कुुबेतमा रहेको पाइएको छ ।

त्यसपछि दक्षिण कोरियामा नेपाली नागरिकको चाप रहे पनि ती मुलुकमा भन्दा बैङ्कक र चीनको बेइजिङ तथा स्वशासित क्षेत्र तिब्बतमा समेत नेपाली नागरिकले कारावास सजाय भोगिरहेको पाइएको ढुङ्गानाले जानकारी गराउनुभयो ।
कार्यालयका अनुसार पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुुरजस्ता देशमा समेत नेपाली नागरिकले कारावास सजाय भोगिरहेको पाइएको छ ।

कारावास सजाय भोगिरहेका नेपाली नागरिकमाथि हत्या, लागूऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्री, चोरी, ठगी, बलात्कार जस्ता आरोप लगाएको पाइएको बताउनुभयो ।