देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिकका अवैधानिक समूहविरुद्ध गृह मन्त्रालय कडा हुँदै 

देशान्तर

काठमाडौं । प्रहरी लगाएर कार्यालयबाट बाहिर लखेट्दासमेत जीवनराम श्रेष्ठ समूहले आफ्नो हर्कत नछाडेपछि गृह मन्त्रालयले थप कदम अगाडि चाल्ने तयारी गरेको बुझिएको छ । जीवनराम श्रेष्ठ समूहले नेपाली खेल क्षेत्रलाई थप अस्तव्यस्त बनाउन अहिले ज्योति राणाको नेपाल लनटेनिस संघको पालेघरलाई प्रयोग गर्दै आएको छ । यो समूहले त्यही पालेघरमा बैठक राखेर ओलम्पिक कमिटीको नाममा विभिन्न निर्णयहरू गर्ने गरेका छन् ।

यसै सातामात्रै पनि जीवनराम श्रेष्ठ समूहले त्यही पालेघरमा बैठक राखेर विभिन्न वैदेशिक भ्रमण र अन्य विषयमा निर्णयहरू गरेको बुझिएको छ । जीवनराम श्रेष्ठ यतिबेला नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको मेयर बन्ने प्रयासमा जुटिरहेका छन् । तर उनले यतिबेला वडाअध्यक्षको समेत टिकट पाउने सम्भावना देखिदैन । नेपाल ओलम्पिक कमिटीकै कारण यति धेरै बदनाम भइसकेका जीवनराम श्रेष्ठविरुद्ध नेकपा एमालेकै एउटा गुट पनि सक्रिय छ ।

नेकपा एमालले यतिबेला युवा तथा खेलकुदमार्फत भएका गतिविधिहरूलाई नियाल्नका लागि राजु श्रेष्ठलाई जिम्मेवारी दिएपछि त जीवनराम श्रेष्ठ समूह थप तिल्मिलाएको छ । श्रेष्ठले केही दिन अगाडिमात्रै पनि जापानमा जीवनराम श्रेष्ठको परिवारले गरेको भ्रमणका विषयमा पनि लामा टेण्डी शेर्पासँग सोधपुछ गरेका थिए । टेण्डीले त्यो भेटमा आफूले अहिले जीवनराम श्रेष्ठको विरोध गर्न मिल्ने अवस्था नभएकाले केही नबोल्ने बताएपछि जापानको विषयमा जीवनरामले गल्ती गरेको शेर्पाको भनाइ रहेको स्रोतको दाबी छ ।

गत महिना जीवनराम श्रेष्ठ र उनकी पत्नी छोरालाई लिएर एसियन विन्टर गेम्समा सहभागी हुन पुगेका थिए । खेल र खेलाडीका लागि विदेशबाट र स्वदेशबाट प्राप्त हुने सहयोगलाई पारिवारिक बनाउने यो नौलो काम होइन । जीवनराम श्रेष्ठ समूहले अहिले पनि नेपाल ओलम्पिक कमिटी नाम गरेको संस्थालाई आफ्नो बनाउन खोजिरहेको छ । तर कुनै पनि रूपमा सफल हुने छाँटकाँट नदेखेपछि उनीहरू अन्य खाले हर्कतमा उत्रेका छन् ।

अन्तर्राष्ट्रिय जगत्को चासो
नेपालमा भएको विवादलाई लिएर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाले पनि चासो देखाएको छ । रुक्मशमशेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीले पनि विदेशीहरूलाई पत्राचार गर्न थालेपछि अहिले विदेशी समुदायले पनि चासो देखाएको छ । केही दिन अगाडि मात्रै लामाटेण्डी शेर्पा पनि विदेशीहरूलाई आश्वस्त पार्न पनि ओमन पुगेका थिए । तर ओमनमा भेट भएका अधिकारीहरूले पनि नेपालको विवाद समाधान गर्न जीवनराम श्रेष्ठ समूह असफल भएको बताएको स्रोतले जानकारी दिएको छ ।

शेर्पाले आफूहरूले प्रयास गरिरहेको बताए पनि विदेशी समुदायले चाँडै समाधान नभए आफूहरूले हस्तक्षेप गर्ने बताएपछि लामाटेण्डी शेर्पा तनावमा नेपाल फर्केका थिए । प्राप्त जानकारी अनुसार केही साताभित्रै विदेशीहरूको एउटा टोली नेपाल आउने तयारीमा छ । उनीहरूले ओलम्पिक कमिटीको नाममा भएको हिसाबकिताब र अन्य गतिविधिका बारेमा पनि छानबिन गर्ने बताइएको छ । यो जानकारीले जीवनराम श्रेष्ठ समूह थप आतंकित भएको बुझिएको छ ।