देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुलिनरीमा अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्छौ

देशान्तर

गणेश केसी, निर्देशक, प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी

नेपालमा पहिलो पटक कुलिनरी हस्पिटालिटीको अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्य राखेर कलेज स्थापना गर्नुभएको छ । यो बीचको अनुभव कस्तो रह्यो ?

हामीले नेपालमा जुन सोच राखेर कलेज स्थापना गरेका थियौं, त्यही सोचअनुसार अगाडि बढिरहेका छौं । नेपालमा प्राविधिक शिक्षाको अत्यन्तै आवश्यकता रहेको हामीले महसुस गर्‍र्यौं । हामीले सञ्चालन गरेको डिग्री अस्ट्रेलियन सरकारसँग सम्बन्धन लिएर प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी सुरु गरेका हौं । हाम्रो बितेको दुईवटा सेमेस्टरले के देखाएको छ भने पहिलो सेमेस्टरमा भन्दा दोस्रोदेखि तेस्रोसम्म आउँदा तेस्रो सेमेस्टर पढ्ने विद्यार्थीहरू अहिले वेटिङ लिस्टमा बसेका छन् । 

पहिलो सेमेस्टर सकियो भन्नुभयो । तपाईंकोमा भनेजस्तो डिग्री पाएर पनि रोजगारीको ग्यारेन्टी के छ ? 

बुझ्नुपर्ने कुरा के हो भने, हामी अहिले नेपालमा स्किलफुल मेनपावर उत्पादनमा लागेका छौं । अरू कसैले पनि यस्तोमा लगानी गरेका छैनन् । अरू सबैले अचल सम्पत्तिका लागि लगानी गरेका छन् । हामीले अस्ट्रेलियाबाट सिकेको ज्ञान र सीपलाई स्वदेशमा भित्र्याएका छौं । हाम्रो मुख्य उद्देश्य भनेको आफ्नै देशमा अस्ट्रेलियाजस्तो देशको डिग्रीसहितको सीपमूलक शिक्षा होस् भन्ने हो । हाम्रो कलेजमार्फत यहाँका विद्यार्थीले अन्तर्राष्ट्रिय डिग्री पाउँछन् अनि अन्तर्राष्ट्रिय बजारमा यहाँका डिग्री होल्डरलाई जोड्छौं । हामीले सकेसम्म हाम्रा विद्यार्थीलाई अब्बल बनाएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमताको बनाउँछौं । यो काम हामीले गरिसकेका छौं । हामीलाई अस्ट्रेलिया, दुबई न्युजिल्यान्डबाट अवसरहरू आएका छन् । त्यहाँका विभिन्न होटेल, रेस्टुराँबाट यहाँ अफर आएको छ । हाम्रो मुख्य चासो भनेको उनीहरूले हामीले दिन सकेको कुरा कत्तिको क्याप्चर गरे । अनि अन्तर्राष्ट्रिय बजारमा बिक्नका लागि, आफूलाई सेलेबल बनाउनका लागि कति क्यापेबल भए भन्ने हो । पहिलो ब्याचका ९० प्रतिशत विद्यार्थीहरू अन्तर्राष्ट्रिय बजारका लागि योग्य भएका छन् । म पूर्ण विश्वस्त छु, हामीले जे भनेका थियौं, त्यो पूरा हुन्छ । 

अस्ट्रेलिया जस्तो देशको भिसा हाम्रो हातमा हुँदैन । तर यसमा जोड्ने प्रयत्नमा हामी छांै । हामीले यो विषयमा अस्ट्रेलियाको सरकारसँग यहाँको अस्ट्रेलियन दूतावासमार्फत कुरा गरेका छांै, हाम्रो विद्यार्थीलाई अरूलाई भन्दा अलि भिन्न प्रकारको व्यवहार गर्नुपर्छ भनेर । हाम्रो यो कोर्स गरेको व्यक्ति स्टुडेन्ट भिसामै अस्ट्रलिया गयो भने पनि महिनाको पाँच हजार डलर कमाउन कुनै गाह्रो हुँदैन । जबकि १२ कक्षा पास गरेर गएका विद्यार्थीलाई दुई हजार डलर कमाउन धौ धौ हुन्छ । हाम्रा विद्यार्थी ब्याचलर पढ्नका लागि त्यहाँ जाँदा पाँच हजार डलर कमाउनका लागि कुनै गाह्रो हुँदैन । 

तपाईंको कलेजमा पढ्न आउनेहरूको आकर्षण भनेको अस्ट्रेलिया जान सहज हुन्छ भन्ने हो । तर भविष्यमा तपाईंहरूको उत्पादनलाई अस्ट्रेलिया पठाउन सक्नुभएन भने त समस्या होला नि ?

हामीले अस्ट्रेलिया नै पठाउने भनेका छैनौं । हामीले अस्ट्रेलिया होइन अन्तर्राष्ट्रिय बजार जोड्ने भनेका छौं। हामीले अस्ट्रेलियन सरकारसँग सम्बन्ध लिएर यो सञ्चालन गरेकाले अस्ट्रेलिया जान पाइन्छ भनेर सोच्नु स्वाभाविक पनि हो । हामीले काउन्सिलिङ गर्दा अन्तर्राष्ट्रिय बजार जोड्छौं भनेका छौं । त्यो अस्ट्रेलिया पनि हुन सक्छ, दुबई पनि हुन्छ, न्युजिल्यान्ड पनि हुन सक्छ । जुन किसिमका विद्यार्थी हामीले भर्ना लिएका छौं, यहाँनेर अभिभावकहरूले सोच्नुपर्ने विषय के छ भने, १२ कक्षा पूरा गरेको विद्यार्थीले स्नातक गर्दैगर्दा एउटा पूर्ण रूपमा सीपमूलक शिक्षा पाएका विद्यार्थी थिएनन् । अझ भनौ स्नातक गरेकै विद्यार्थी पनि कुनै होटेलको सेफ भएको पाएका छैनौं । तर हाम्रो उत्पादनले अहिले जुन ढंगले चलिरहेको छ, होटेल व्यवसाय, यो व्यवसायलाई नै परिवर्तन गर्न सक्छन् । यी विद्यार्थीहरूसँग सीप क्षमतामात्र नभएर कन्फिडेन्स पनि विकास हुन्छ । दुबईमा जानु भनेको पनि सधैं दुबईमा बसेर काम गर्ने भन्ने पनि होइन । दुबई भनेको पनि अन्तर्राष्ट्रिय बजारको एउटा सुरुवाती बिन्दु हो । होटेल व्यवसायका लागि अन्तर्राष्ट्रिय ख्याती कमाएको ठाउँ हो । त्यहाँ दुई वर्ष काम गरेपछि उहाँसँग सीप, क्षमता, अंग्रेजी भाषा सबै भएपछि क्यानडा, अस्ट्रलिया, न्युजिल्यान्ड जहाँ पनि जान सक्छन् । अहिले नै अभिभावकहरूले अस्ट्लिया नजाँदैमा ऊ क्षमतावान् भएन भनेर सोच्न भएन । 

तपाईंको यो डिग्री भनेको त प्रोफेसनल डिग्री हो, प्रोफेसनल डिग्री भएकाले अरू डिग्रीसँग कसरी तुलना हुन्छ ?

हामीले बुझ्नुपर्ने कुरा के हो भने, १२ कक्षा सकेर आएका विद्यार्थीहरूसँग १२ कक्षाको डिग्री हुन्छ । १२ कक्षा पास गरेर आएका विद्यार्थी जोसँग ६५ प्रतिशतभन्दा बढी स्कोर छ र अंग्रेजीमा प्लस ६ छ भने त्यो विद्यार्थी यहाँ एक वर्ष पढेपछि सिधै ब्याचलर पढ्न जान सक्छ । होटेल म्यानेजमेन्ट पढ्नका लागि विदेश जान सक्छ । होटेल म्यानेजमेन्टमा ब्याचलर गर्नका लागि उसले एसएलसीमा फस्ट डिभिजन ल्याएको हुनुपर्छ । त्यो विद्यार्थीलाई हामी एकेडेमिक कोर्स गर्नका लागि पठाउन सक्छौं । यही पढेर यही भोकेसनल कोर्स पूरा गरेर ब्याचलर पढ्न जान सक्ने व्यवस्था छ । तर एसएलसीमा राम्रो मार्क हुनुपर्छ । त्यसैले फाइदा के हुन्छ भने, उसले ब्याचलर पढ्न १२ कक्षा पढ्न गयो भने न्यूनतम पाँच हजार डलर कमाएर आफै आफ्नो खुट्टामा उभिएर पढ्न सक्छ । यो स्किल प्राप्त विद्यार्थीले आफैं आफ्नो खुट्टामा उभिएर अभिभावकलाई कुनै भार नदिई डिग्री हात पार्न सक्छ । उसले एक वर्ष कोर्स पूरा गर्दा सीपमात्र सिक्ने होइन, जीवनमा जुन कुरा १२ कक्षासम्म सिकेको हुँदैन त्यो सिक्छ । अहिलेको शिक्षा भनेको विश्व बजारमा बिक्नका लागि सीपमात्र होइन कन्फिडेन्स भएको विद्यार्थी बिक्ने हो । नेपालमा पनि त्यही हो । त्यो कन्फिडेन्स यो एक वर्षमा प्राप्त हुन्छ । हामीले यहाँ कुकिङमात्र सिकाउने होइन विद्यार्थीमा कन्फिडेन्स विल्डअप पनि गराउने हो । यहाँ अस्ट्रेलियाबाट आएका सेफ, होटेल मेनेजरहरूसँग अन्तरक्रिया गराएका छौं । नेपालका सेफहरूसँग अन्तरक्रिया गराएका छौं । त्यो विद्यार्थीले एक वर्षमा भोकेसनल कोर्समात्र गर्ने होइन, उसले अहिलेसम्म नपाएका धेरै कुरा पाउँछ । अभिभावकले बुझ्ने कुरा के हो भने हिजोको विद्यार्थी र आजको विद्यार्थीका बीचमा आकाशजमिनको फरक हुन्छ । अस्ट्रेलिया जानेमात्रै होइन उसले नेपालमा नै पनि आफ्नो व्यवसाय गर्न सक्छ । उसले राम्रो क्याफे सञ्चालन गर्न सक्छ । 

योभन्दा अरू थप कुनै नयाँ प्रोग्राम ल्याउने तथा अरू कुनै नयाँ काम गर्ने योजना छ ?

हाम्रो अबको योजना भनेको, हस्पिलाटी कोर्समात्रै होइन सयौं भोकेसनल कोर्सहरू ल्याउने भन्ने रहेको छ । किनभने यहाँ सयौं भोकेसनल कोर्सको आवश्यकता छ । दक्ष जनशक्तिको विभिन्न क्षेत्रमा आवश्यकता छ । हामीले जुन यो प्यासिफिक हस्पिटालिटी छान्यौं, अहिले हाम्रो प्राथमिकता भनेको यसैलाई अलि विस्तार गर्ने भन्ने हो । पोखरा, चितवनमा यही कोर्सलाई विस्तार गर्छौं । होटेल म्यानेजमेन्टमा ब्याचलर लेभलको कोर्स पनि यही पूरा गराउँछौं । सयौं दक्ष जनशक्तिको नेपालका विभिन्न क्षेत्रमा आवश्यक छ । त्यसैले हामीले यो क्षेत्र रोजेका हौं । 

उसो भए यतिबेलासम्मको कामबाट तपाईं यसलाई अझै अगाडि लैजान सकिन्छ भन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ, हैन ?

म त एकदमै सन्तुष्ट छु । हामीले समाजलाई सहयोग गरेपछि केही अवश्य प्राप्त हुन्छ । म एउटा गैरआवासीय नेपालीको हिसाबले के भन्न चाहन्छु भने– धेरैभन्दा धेरै साथीहरूले अचल सम्पत्ति जोड्नेभन्दा नेपाललाई अहिले धेरै क्षेत्रमा दक्ष जनशक्ति आवश्यकता छ । त्यही कारणले दक्ष जनशक्ति उत्पादनका लागि हामीले लगानी गरौं । गैरआवासीय नेपालीले अब अन्य क्षेत्रमा जस्तै सीपमूलक शिक्षाको क्षेत्रमा पनि लगानी गर्न आवश्यक छ । जस्तो भवन निर्माण, अर्गानिक फार्म, कृषिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि पहल गरांै । अहिले सुरुमा लगानीको प्रतिफल नआउन सक्छ तर भविष्यमा नेपाली समाजमा दक्ष जनशक्तिको उत्पादनमात्रै होइन, लगानीको नाफा पनि आउँछ । त्यही विश्वासका आधारमा म सन्तुष्ट छु । 

देशलाई चाहिँ के फाइदा हुन्छ ?

यो काम त सरकारले गर्नुपर्ने हो । अस्ट्रेलियामा हरेक क्षेत्रमा एउटा स्किल डिपार्टमेन्ट बनाएर कलेज खोलिदिएको हुन्छ । विकसित देशहरूले सीपमूलक जनशक्तिको उत्पादनका लागि लगानी गरेका छन् । विभिन्न डिग्री प्राप्त गर्ने कलेजमा सीपमूलक जनशक्ति उत्पादनका लागि विभिन्न सेक्टर छानिएका हुन्छन् । जस्तो कसैले हस्पिटालिटी, कसैले कृषि, कसैले फाइनान्स, कसैले रियल स्टेटजस्ता सीपमूलक जनशक्ति उत्पादनका लागि लगानी राज्यले नै गरेको हुन्छ । हाम्रो देशमा भने सरकारले लगानी नगरेको अवस्थामा हामी गैरआवासीय नेपालीले यो काम गरिरहेका छौं । यो सूपमूलक जनशक्ति उत्पादन गर्ने काम सरकारले गर्ने हो तर हामीले गरिररहेका छांै । नेपालमा सीपमूलक जनशक्तिको निकै कमी छ । अहिले नेपालबाट एक महिनामा ४० हजार जनशक्ति बाहिर गएको हुन्छ । त्यसमा ८० प्रतिशतभन्दा बढी अर्धदक्ष मान्छे बाहिर गएका छन् । अर्धदक्ष मान्छे बाहिर जाँदा देशलाई अपेक्षित फाइदा हुँदैन । अहिलेको अवस्थामा जम्माजम्मी ५० प्रतिशत दक्ष जनशक्तिमात्रै बाहिर पठाउन सक्दा अहिलेको हाम्रो रेमिट्यान्समा उल्लेखनीय वृद्धि हुन्छ । जो व्यक्ति कुनै सीप बिना नै बाहिर जान्छ, उसले केवल ३०–३५ हजारमात्रै कमाउँछ छ । तर सीप सिकेर जाने मान्छेले त ८०–९० हजार आम्दानी गर्छ । अनि रेमिट्यान्स पाँच सय प्रतिशत बढ्छ । यसरी हामीले काम गर्दा राज्यले हामीलाई पहिचान गर्नुपर्छ भन्ने लागेको छ । 

यो अवधिमा तपाईंहरूको उत्पादनको नेपालमा बजार कस्तो छ र सम्भावना कस्तो पाउनुभयो ?

अहिलेको आँकडा हेर्दा अब दुई–तीन वर्षमा एक हजारभन्दा बढी बेडका अन्तर्राष्ट्रिय स्तरका होटेलहरू खुल्दैछन् । अहिले वास्तवमा यो कलेज चलाउनका लागि तीन, चार जना सेफहरू चाहिएको छ । तर खोजेजस्तो नेपालमा मेनपावर नै छैन । अहिले नेपालको आँकडा हेर्दा दुई हजार कुलिनरी सेक्टरमा दक्ष जनशक्तिको आवश्यकता छ । काम छैन भन्छौं । तर काम नेपालमा यति धेरै छ, तर दक्षता हासिल गरेको जनशक्ति छैन नेपालमा । धेरै होटेल मेनेजमेन्ट पठाउने कलेजले किचनको टिचर पाएका छैन । होटलमा सही सेफ छैन, हाइजिन किसिमले ट्रेन गरेको कुनै पनि होटेलमा सेफ नै छैन । दुई हजार त मेरो अनुमान हो नेपालमा नै दुई हजारदेखि पाँच हजार जनशक्तिको आवश्यकता छ ।

 

]]>