देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी राष्ट्रपतिमा ७० वर्षीय डोनाल्ड ट्रम्प विजयी

देशान्तर

काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएका छन्। रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्राटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पछि पार्दै विजय भएका हुन्। ट्रम्पले कुल ५ करोड, ७० लाख, ४० हजार, ३० भोट ल्याएका छन् भने, क्लिन्टनले कूल ५ करोड, ६० लाख, ६० हजार, ३ सय ३४ भोट ल्याएकी छिन्।

विजयका लागि कुल २७० मत आवश्यक पर्नेमा ट्रम्पले २७६ मत ल्याएका छन्। त्यस्तै प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले २१८ मात्रै मत ल्याएकी छिन्।

धेरैले हिलारी क्लिन्टननै अमेरिकाको ४५ औं राष्ट्रपति बन्ने अनुमान गरेका थिए। अनुमान विपरित
व्यवसायिक पृष्ठभूमिका ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन्।

ट्रम्पले टेक्सास, फ्लोरिडा, ओहायो, जर्जियालगायतका मुख्य स्थानबाट मत प्राप्त गरेका थिए भने, क्लिन्टनले क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, वासिङटनलगायतका स्थानबाट विजय प्राप्त गरेकी थिइन्।

को हुन् ट्रम्प ?

अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प मूलत व्यापारिक परिवारका सदस्य हुन्। उनको जन्म सन् १९४६ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा भएको हो। १३ वर्षको उमेरमा सेनाको स्कुलमा भर्ना भएका ट्रम्प अमेरिकी सेनाको हरेक गतिविधीसँग जानकार मानिन्छन्।

विद्यार्थी जीवनमा उनलाई धेरैले एथलेटको रुपमा चिन्थे। युनिभर्सिटी अफ पेन्सलभेनियाबाट सन् १९६८ मा स्नातक पूरा गरेका ट्रम्पको कूल सम्पत्ति अनुमानित ९ अर्ब डलर छ।

राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी, टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो। कलेज पढ्दैदेखि उनी आफ्ना पिताको रियल स्टेट व्यवसायमा संलग्न थिए। सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा उनले लिए।

व्यापारिक घरना आफ्नो जिम्मामा आएपछि उनले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गर्न थाले। जस्तोः होटल, क्यासिनो, गल्फ कोर्सजस्ता व्यवसायलाई अहिले पनि उनले सोही अर्गनाइजेसनको छातामुनि राखेका छन्। 

व्यवसायिक जीवनमा ट्रम्प नाफा–घाटाका अनेक घुम्तीहरुमा उभिएका छन्। अनेकौं पटक उनका कम्पनीहरु टाट पनि पल्टिएका छन्।

सन् १९७३ मा ट्रम्प र उनका पिताको व्यापार व्यवसायमा भेदभावपूर्ण रहेको भन्दै व्यापक आलोचना भएपछि व्यवसाय नै विवादस्पद बन्दै मुद्दा समेत परेको थियो। जुन मुद्दामा उनीहरुले सन् १९७५ मा सफाई पाएका थिए। देशको सन् १९७१ देखि धनाढ्यका रुपमा परिचित भएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चा कमाएका थिए।

त्यसपछि ट्रम्प सन् २००४ मा देशको उच्च विकास निर्माताका रुपमा स्थापित हुन सफल भए। सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका ट्रम्प सन् २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट चुनिएका थिए। राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा ट्रम्पले बारम्बार विवादास्पद अभिव्यक्तिहरु दिइरहेका छन्।

राष्ट्रपति बाराक ओबामाको जन्म अमेरिकामा नभएको टिप्पणी गरेपछि विवादमा तानिन सुरु भएका ट्रम्प एकपछि अर्को गर्दै आफूले दिएको अभिव्यक्तिका कारण विवादको घेरामा रहिरहे। कहिले मुस्लिम समुदायलाई अमेरिका प्रवेशमा रोक त कहिले आप्रावासीहरुलाई युरोप प्रवेशमा रोक लगाउनुपर्ने जस्ता अभिव्यक्तिका कारण बारम्बारमा विवादमा तानिए। यद्यपी अमेरिकी गोराहरुलाई प्रिय नेता बनेका ट्रम्पको विजयलाई भने संस्थापनप्रतिको असन्तुष्टिको उपजका रुपमा लिइएको छ।

]]>