देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चाको आन्दोलन सेलाउँदै, जनजीवन सामान्य बन्दै

देशान्तर

महोत्तरी। तराई मधेसमा झन्डै पाँच महिनादेखि जारी राखेको मधेसी मोर्चाको आन्दोलनको प्रभाव विस्तारै सेलाउँदै गएको छ । 

आन्दोलनका कार्यक्रम कम हुँदै गएसँगै अस्तव्यस्त बनेको यस क्षेत्रको जनजीवन पछिल्लो समयमा आएर सामान्य बन्दै गएको छ । जिल्ला सदरमुकाम जलेश्वरलगायत ग्रामीण भेगमा रहेको साप्ताहिक हाटबजार क्रमिक रुपमा खुल्दै गएका छन् । यस क्षेत्रको वातावरण शान्तिपूर्ण माहोलमा परिणत हुँदै गएको छ जसका कारण सर्वसाधारणको शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशासमेत साकार बन्दै गएको छ । 

पछिल्लो समय सदरमुकाम जलेश्वरमा आन्दोलनको खासै प्रभाव परेको छैन । यहाँका बजार पसल खुलेका छन् । त्यस्तै जिल्लाका प्रमुख व्यापारी केन्द्रका रुपमा रहेको गौशाला, सम्सी, रामगोपालपुर, औरही, भ्रमरपुरालगायतका बजार पनि निर्वाध रुपमा सञ्चालनमा रहेको छ । 

आन्दोलनको सुरुवातको समयमा तराई मधेसका हरेक पसल, हाटबजार, सवारी साधन चलाउनमा रोक लगाए तापनि पछिल्लो समयमा सार्वजनिक रुपमा चल्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनबाहेक इ–रिक्सा, टेम्पोलगायतका साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका हुन् । 

सीमा नाकामा मोर्चाले धर्ना दिँदै आएका स्थलहरु प्रायः सुनसान देखिन थालेका छन् । सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र जिल्ला अदालतबाहेकका सरकारी कार्यालय अझै पनि सञ्चालनमा आउन नसकेको महोत्तरीका प्रहरीले जनाएको छ । 

मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सरकार तथा केही अपराधी चरित्रका व्यक्तिले आन्दोलन तुहाउने षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यस्ता तत्वहरू मोर्चाको आन्दोलनलाई बदनाम गर्न विभिन्न चलखेल गरिरहेको तराई मधेस सद्भावना पार्टीकी कोषाध्यक्ष निलम अधिकारीले बताइन् । 

]]>