देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेताबाट राजेन्द्र महतो ‘अभिनेता’ बनेपछि…

देशान्तर

काठमाडौं । मधेस आन्दोलनका तीन इन्द्र– राजेन्द्र, उपेन्द्र र महेन्द्रबीच झगडा सुरु भएको छ । खासगरी मधेस आन्दोलनको जस कसले लिने भन्ने विषयमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवबीच होडबाजी सुरु हुँदा उनीहरूको समेत अभिभावकत्व ग्रहण गरेर त्यसको फाइदा तमलोपा अध्यक्ष महन्थ ठाकुरले उठाइरहेका छन् ।

विवादकै बीच जोगबनी नाकामा धर्ना बसेर प्रहरीको लाठी खाएका राजेन्द्र महतो आफू घाइते भएको विषयलाई प्रचार गरेर मधेसी जनताको सेन्टिमेन्ट आफ्नो पक्षमा पार्न नेताबाट अभिनेताको भूमिकामा देखा परेका छन् । आन्दोलनका क्रममा लाठीको सामान्य चोट व्यहोरेका उनी सिकिस्त घाइते भएको अभिनय गरिरहेका छन् । घटना भएकै दिन चिकित्सकले उनलाई सामान्य चोट लागेको भन्दै डिस्चार्ज गरेको थियो । जोगबनीस्थित अस्पतालमा उनको टाउकोको सिटीस्क्यान गरिएको थियो । सिटीस्क्यानको रिपोर्ट नर्मल रहेको सार्वजनिक भइसक्दा पनि उनी जबर्जस्ती अस्पतालको आईसीयू बसेर केही दिन दालभात खाइरहे । त्यसपछि उनी सीधै धरानस्थित बीपी मेमोरियल अस्पताल भर्ना भए । त्यहाँ उनले एकजना मधेसी मूलको डाक्टरको सहायताले आफू सिकिस्त रहेको रिपोर्ट हात पारे । र केही दिन त्यहाँ बसेर धरानस्थित भारतीय गोरखा पेन्सन क्याम्पमा रहेका भारतीय अधिकारीहरूसँग सम्पर्क बढाए ।  महतोको यस्तो नाटकबारे राम्रै जानकारी पाएका उपन्द्रले उनको त्यस प्रकारको हर्कतको सार्वजनिक रूपमा आलोचना गरे । तर त्यसलगत्तै उनी शुक्रबार भारतीय पेन्सन क्याम्पमा रहेका भारतीय गुप्तचर संस्था रअका सम्पर्क व्यक्तिहरूसँग सल्लाह गर्दै दिल्ली पुगेका छन् । उपचारको बहानामा दिल्ली पुगेका महतो हिजो शनिवार उतैबाट आन्दोलनका छुट्टै कार्यक्रम घोषणा गरेपछि उनको यो हर्कतले मोर्चाका अन्य नेताहरू सशंकित बनेका छन् ।  

अर्का नेता महन्थ ठाकुर अधिकांश समय काठमाडांैमा बस्ने गरेका छन् । काठमाडौमा बसेर उनी कहिले बालुवाटार, कहिले लैनचौर त कहिले महाराजगन्जमा वार्तामा सहभागी हुने गरेका छन् । उपेन्द्र र महेन्द्र भने केहीले मधेस–काठमाडौं आउने जाने गरिरहेका छन् । उता मधेस आन्दोलन सुरु भएपछि राजेन्द्र महतो भने दुई पटकमात्र काठमाडौं आएका छन् । उनी अस्ति शुक्रबार अघि गत असोज महिनामा एक भारतीय नेतालाई भेट्न एक दिनका लागि काठमाडांै आएका थिए । असोज १४ गते उनी काठमाडौं आए र त्यसको भोलिपल्ट १५ गते उनी तराई फर्किए । राजेन्द्रले काठमाडांैमा रहेको पार्टीको मुख्य कार्यालयलाई वीरगन्जमा सारेका छन् । काठमाडौंमा रहेको कार्यालयलाई उनले सम्पर्क कार्यालयमा रूपान्तरण गरेका छन् ।

राजेन्द्रले आफूलाई मधेसको एकमात्र सच्चा नेताको रूपमा उभ्याउन खोजेका छन् । सद्भावना पार्टीका कार्यकता तथा नेताहरूले राजेन्द्रलाई बढी नै क्रान्तिकारी देखाउन खोजेका छन् । आन्दोलनको नेतृत्व राजेन्द्रले गरिरहेको प्रचारप्रसार उनीहरूले विभिन्न माध्यमबाट गरिरहेका छन् । तमलोपाका नेताहरूले भने अन्य दलका नेताहरूसँग महन्थले नै डिल गरिरहेको र आन्दोलनमा समर्थन जुटाउने प्रयास गरिरहेको भन्दै महन्थको पक्षमा प्रचार गरिरहेका छन् । अन्य दलका नेताहरूसँग संवाद र छलफलमा महन्थले नै सक्रियता देखाएका छन् । उता, संघीय समाजवादी फोरम नेपालका नेताहरू यसपटक पनि उपेन्द्रकै नेतृत्वमा मधेस आन्दोलन चर्किएको भन्दै आन्दोलनको नेतृत्व उपेन्द्रले गरिरहेको दाबी गर्छन् । अघिल्लो मधेस आन्दोलनको सम्पूर्ण जस उपेन्द्रले लिएको हुनाले यसपटक पनि जस उनीतिर नै जाने संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरूको भनाइ रहेको छ । खासगरी मधेसी दलका कार्यकर्ताहरूले खोलेका फेसबुक, ट्विटर र विभिन्न सञ्चार माध्यममा उनीहरूले दिएका अन्तरवार्ताहरूमा यस्तो झगडाको गन्ध प्रष्ट रूपमा पाइने गरेको छ ।  

 

]]>