देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यकः महामन्त्री सिटौला

देशान्तर

पोखरा। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनका लागि नेपालका प्रमुख राजनीतिक शक्तिबीचको एकता आवश्यक भएको बताएका छन् । 

नेपाल प्रेस युनियन, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा संविधानसभाबाट संविधान जारी गर्दाको अवस्थासम्म नेपालका राजनीतिक दल एकजुट बने पनि संविधान जारीपछि एक हुन नसकेको बताए । 

संविधान जारीसँगै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको बताउँदै उनले नयाँ संविधानले निर्दिष्ट गरेका केन्द्रदेखि स्थानीय तहसम्मका निर्वाचन सम्पन्न गरेर निर्वाचनपश्चात् नयाँ नेतृत्व स्थापित भएसँगै संविधानको कार्यान्वयनको पहिलो चरण सम्पन्न हुने बताए । यी धेरै काम सम्पन्न गर्नका लागि पनि दलबीच एकता कायम गरी संविधानको कार्यान्वयनमा जुट्नुपर्ने वर्तमानको आवश्यकता भएको उनको भनाइ छ । 

उनले भने,“राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गरी दलबीचको एकताका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्छ ।” पार्टीको १३औँ महाधिवेशनले मुलुकको नयाँ परिवर्तनसँगै आएका चुनौतीलाई सामाना गर्न सक्ने नेतृत्व चयन गर्ने बताउँदै उनले आगामी दिनमा पार्टीलाई वैचारिक, रणनीतिक सबै दृष्टिबाट उचाइमा पुर्याउनुपर्ने बताए । 

पार्टीको आगामी महाधिवेशनलाई खेलकुदका नियमका आधारमा एकताको महाधिवेशनका रुपमा विकास गनुपर्ने उनको भनाइ छ । नेपालको जारी सङ्कटलाई राजनीतिकरुपमा समाधान गर्न निरन्तर प्रयास जारी रहेको र समस्याको निकास चाँडै हुने विश्वास उनले व्यक्त गरे ।

]]>