देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री इटहरी आउने भएपछि दुवहीमा प्रदर्शन

देशान्तर

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आज सुनसरीको इटहरी आउने समाचार पाएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले दुहवी बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् । 

नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली एमाले सुनसरीको दोस्रो जिल्ला परिषद् बैठकमा सहभागी हुन विराटनगर हुँदै इटहरी आउने भएपछि मोर्चाका नेता तथा कार्यकर्ताले दुहवी सडकखण्डमा अवरोध सिर्जना गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन् । 

कालोझण्डा प्रदर्शन गरिरहेका मोर्चाका नेता तथा कार्यकर्तालाई तितरवितर पार्ने क्रममा प्रहरीले लाठी प्रहार गर्दा मुन्ना साह, रामेश्वर मण्डल, एसएन मेहता र रन्जित गोश्वामीलगायत घाइते भएका छन् । 

प्रहरीले सडकमा अवरोध सिर्जना गरिरहेको अवस्थामा सुनसरी औरावनीका महेश यादव, भुपेन यादव, खेलन यादव, पप्पु गोश्वामीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ । 

यता कार्यक्रम स्थल इटहरी उपमहानगरपालिका–८ स्थित जनता प्राथमिक विद्यालयका खेल मैदान तथा आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथ गरिएको छ । सहरको विभिन्न सडक तथा गल्लीमा सुरक्षा जाँचलाई कडा बनाइएको छ । 

जिल्ला सुरक्षा समितिले पनि प्रधानमन्त्रीको कार्यक्रममा कुनै पनि व्यवधान उत्पन्न नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । अर्कातर्फ एमालेको भातृ सङ्गठन युवा सङ्घ र अनेरास्ववियुका स्वयम्सेवक दस्ता पनि ठूलो सङ्ख्यामा परिचालित भएका छन् । 

]]>