देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिसोका कारण बिरामी पर्नथाले भूकम्पपीडित

देशान्तर

गोरखा। अत्यधिक चिसोका कारण त्रिपालमुनि दिनरात कटाइरहेका बारपाकका भूकम्पपीडित बिरामी परेका छन् । 

त्रिपालले बेरेको अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितलाई रुघाखोकी, झाडापखाला, निमोनिया जस्ता रोगले सताएको हो । सुत्केरी, स्कुले बालबालिका, दीर्घ रोगी र वृद्धवृद्धा चिसोको मारमा परेका छन् । 

अत्यधिक चिसोले गर्दा भेडा चराउन भेडीगोठमा बस्ने गोठाला र काम नगरी हातमुख जोर्न नसक्नेलाई थप समस्या भएको छ । बारपाकको करिब एक हजार ४७२ घरधुरीमध्ये वडा नं ४ देखि ९ सम्मका भूकम्पपीडित एकै गाउँमा बस्छन् । वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे तथा वडा नं ३ को कोजे गाउँका अधिकांश भूकम्पपीडित भूकम्प गएको आठ महिना बितिसक्दा पनि त्रिपालमुनि नै छन् । उनीहरुले जस्तापाताले छाएको टहरोसमेत उभ्याउन सकेका छैनन् । 

बारपाकको स्वास्थ्य चौकी प्रमुख धनमाया घले भूकम्पपछि दम, ज्वरो र निमोनियाका बिरामी बढेको बताउछिन् । चिसोबाट बिरामी परेकालाई उपचार गरी औषधि दिइरहेको उनको भनाइ छ । 

बारपाक–१ को पोखरी गाउँका भूकम्पपीडितले खासै राहत सहयोग पाएनन् । सबैको ध्यान बारपाक गाउँमा भएकाले वडा नं. १, २ र ३ गाउँका भूकम्पपीडित ओझेलमा परेका हुन् । सरकार र विभिन्न सङ्घसंस्थाले पनि वडा नं ४ देखि ९ सम्मका भूकम्पपीडितलाई सहयोग गर्दै आएको अन्य वडाबासीको भनाइ छ । 

वडा नं ५ का ४० घरधुरी दलित समुदायका भूकम्पपीडित वडा नं ४ को गैरीगाउँमा अर्काको जग्गामा बस्दै आएका छन् । स्थानीयवासीहरुले घर,घडेरी पुग्ने जग्गाको खोजी गरी सरकारले पुनःनिर्माण थाल्नुअघि विस्थापितलाई सुरक्षित ठाउँमा स्थापित गर्न माग गरेका छन् । 

कमजोर आर्थिक अवस्थाले गर्दा उनीहरु पनि त्रिपालले छाएको अस्थायी टहरामा बस्दै आएका छन् । सरकारले दिएको रु १५ हजार पाए पनि काठपात र टहरो बनाउने जग्गा नभएपछि उनीहरु समस्यामा छन् । 

उता वडा नं २ को स्नान गाउँका ४० घरधुरीका स्थानीय चौरमा आएर बसेका छन् । त्रिपाल र पालले छाएको टहरामा बसेका उनीहरुले पनि जस्ताले छाएको टहरो बनाउन सकेनन् । स्नानबाट विस्थापित उनीहरु पुनः स्नान गाउँ नै फर्कन चाहन्छन् । 

भूकम्पपीडित मात्रै होइन, बारपाकको प्रहरी चौकी पनि त्रिपाल, पालभित्रै छ । भूकम्पपीडितलाई सहयोग गर्न बारपाक पुगेका सङ्घसंस्थाका कार्यालय पनि पालभित्र सञ्चालनमा रहेका छन् । 

आकाशबाट पानी नपर्दासम्म हिउँ नपर्ने बताउँदै भूकम्पपीडितले एक झर पानी परेपछि चिसोले गर्दा गाउँमा बस्न नसकिने अनुमान गरेका छन् । बारपाक, घ्याच्चोकको उपल्लो भेग, सौरपानी, स्वाँरा, लाप्राकको गुप्सीपाखा, गुम्दा, लापु, उहिया, केरौँजा, कासीगाउँ र सिर्दिवास क्षेत्रमा चिसोका कारण भूकम्पपीडितले कष्टकर जीवन निर्वाह गर्नुपरेको छ । न्यानो कपडा नहुँदा भूकम्पपीडित आगो तापेर रात कटाउन बाध्य छन् । 

पानी परेपछि तिब्बतसँग सीमाना जोडिएका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पारलगायत गाविसमा बाक्लो हिउँ पर्छ । ती गाविसका अधिकांश भूकम्पपीडित चिसो बढेपछि बेँसी झरेका छन् । 

जिल्ला दैवीप्रकोप उद्धार समितिले सरकारले न्यानो कपडा किन्न दिएको रु १० हजार वितरण प्रक्रिया सुरु गरेको छ । साथै विभिन्न सङ्घसंस्थाले ३० गाविसका भूकम्पपीडितलाई रु १० हजारका दरले रकम तथा न्यानो कपडा बाँड्ने तयारी गरेका छन् ।

]]>